काठमाडौँ — दिनेश प्रजापतिले फाइनलमा रमेश अधिकारीको चुनौती पन्छाउँदै रोयल नेपाल गल्फ क्लबमा बिहीबार सम्पन्न सूर्य नेपाल म्याच प्लेको उपाधि जितेका छन् ।
सूर्य नेपाल गल्फ टुर २०२२–२३ को तेस्रो प्रतियोगिताको उपाधि होडमा दिनेशले ३६ होलको प्रतिस्पर्धा सकिन ६ होल बाँकी छँदै फरािकलो अग्रतासहित ७–६ को जित निकाल्दै ट्रफी चुमेका हुन् । कुल दुई लाख ५० हजार रुपैयाँ पुरस्कारको प्रतियोगितामा सातौं वरीयतामा दिनेशले उपाधि जितेसँगै ६० हजार हात पारे ।
नकआउट शैलीको प्रतियोगितामा उनले पहिलो चरणमा सूर्यप्रसाद शर्मा, क्वाटरफाइनलमा जयराम श्रेष्ठ र सेमिफाइनलमा धनबहादुर थापालाई पराजित गरेका थिए । १३ औं वरीयताका रमेश भने पहिलो चरणमा सञ्जय लामा, क्वाटरफाइनलमा रवि खड्का र सेमिफाइनलमा भुवनकुमार रोकालाई हराएर उपाधि होडमा उभिएका थिए । उनले ४२ हजार प्राप्त गरे ।
तेस्रो स्थानका लागि भएको खेलमा धनले भुवनलाई पराजित गर्दै ३२ हजार रुपैयाँ हात पारे । निर्धारित १८ होलको खेल बराबरीमै टुंगिएपछि अतिरिक्त एक होलको प्रतिस्पर्धामै धनले जित दर्ता गरेका हुन् । भुवनको भागमा २४ हजार रह्यो ।
गत सिजनको उत्कृष्ट १६ प्रोले प्रतिस्पर्धा गर्ने सूर्य नेपाल म्याच प्लेमा यसपालि केही खेलाडी देशबाहिर भएकाले आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए)ले २० औं स्थानसम्म गल्फरलाई सहभागी हुने अवसर दिएको थियो । यसमा पहिलो चरणबाटै बाहिरएका खेलाडीले जनही ६ हजार र क्वाटफाइनलमा रोकिएका चार खेलाडीले ११–११ हजार रुपैयाँ प्राप्त गरे ।
प्रकाशित : माघ १२, २०७९ २१:५७