वायुप्रदूषण गराउने २७ सवारी साधन कारबाहीमा- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वायुप्रदूषण गराउने २७ सवारी साधन कारबाहीमा

रासस

काठमाडौँ — वन तथा वातावरण विभागले काठमाडौं उपत्यकामा मापदण्डभन्दा बढी धुवाँ फालेर वायुप्रदूषण गराउने २७ वटा सवारीसाधनलाई कारबाही गरेको छ । 

काठमाडौंको बबरमहलमा वातावरण विभाग तथा ट्राफिक प्रहरीद्वारा गरिएको प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा गाडीलाई जरिवानासहित कारबाही गरिएको विभागका महानिर्देशक वनराज घिमिरेले जानकारी दिए ।

उनका अनुसार कारबाहीमा परेका गाडीमा भाडाका मिनीबस १४, पिकअप भ्यान आठ, भाडाका माइक्रोबस तीन र कार दुई छन् । वातावरण विभाग बबरमहल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्तरूपमा खटिएको टोलीले बबरमहलमा ५३ वटा सवारीसाधन जाँच गर्दा २७ सवारीसाधान कारबाहीमा परेका हुन् ।

गाडी मर्मतपछि तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने जनाइएको छ । मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारी चलाउँदा वायु प्रदूषण बढ्न गई मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत हुने भएकाले सवारीसाधनको अवस्था जाँच गरी चुस्तदुरुस्त अवस्थामा राख्न चालकलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता राजेन्द्रप्रसाद भट्टले अनुरोध गरेका छन् ।

प्रकाशित : माघ ७, २०७९ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्

गुरागाईँको ‘जङ्क्सन पिपलबोट’ सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — कवि तथा पत्रकार प्रकाश गुरागाईंको ‘जङ्क्सन पिपलबोट’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंको मण्डला थिएटरमा एक कार्यक्रमबीच गुरागाईँको गैरआख्यान लोकार्पण गरिएको हो ।

मानवशास्त्री सुरेश ढकाल, कवि पुरुसोत्तम सुवेदी र लक्ष्मी मालीले उक्त कृति संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । गुरागाईँको पुस्तकमा काठमाडौंको न्युरोड र पिपलबोटमा हुने साहित्यिक जमघट र गतिविधिका रोचक प्रसंग समेटिएको छ।

पिपलबोट र आसपासमा हुने साहित्यिक जमघटबारे देखेका र सुनेका रोचक प्रसंग गुरागाईँले पुस्तकमा समेटेका छन् । पत्रकारितामा सक्रिय गुरागाईँको ‘खुट्टामा श्रीपेच’ कविता संग्रह यसअघि नै प्रकाशित छ।

कार्यक्रममा मानवशास्त्री सुरेश ढकालले पुस्तकबारे बोल्दै नयाँ सडकमा उभिएको पिपलबोट र पिपलबोटमा जोडिने काठमाडौंका गल्ली र असंख्य मानिसको भेट हुने केन्द्रको रुपमा पुस्तकको व्याख्या गरेका थिए । साथै पुस्तक पिपलबोटको झन्डै आधिकारिक वक्तव्य भएको उनको भनाइ थियो ।

यस्तै कवि सुवेदीले पुस्तकलाई नयाँ सडक र यसको इतिहासको दस्तावेजको रुपमा टिप्पणी गरे । साथै कवि लक्ष्मी मालीले आख्यानमा नेपाली इतिहाससँगै काठमाडौँका नेवार समुदायले राणाकालीन समयमा महिलाको बहादुरीबारे पनि उल्लेख भएको बताइन् ।

प्रकाशित : माघ ७, २०७९ २१:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×