अनुदान आयोगको अध्यक्षमा अधिकारी

काठमाडौँ — विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक देवराज अधिकारी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्राध्यापक अधिकारीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रनिकट अधिकारी व्यवस्थापनविज्ञ हुन् । उनी यसअघि आयोगको एक कार्यकाल सदस्यसचिवको भूमिकामा थिए ।

अधिकारीले त्रिभुवन विश्वविद्यालयमा ३७ वर्ष सेवा गरेका थिए । २०७६ जेठमा त्रिविबाट अवकाश पाएका थिए । प्राध्यापक अधिकारी नेपाल बैंकको अध्यक्षसमेत जिम्मेवारी वहन गरेका थिए ।
यस्तै त्रिवि व्यवस्थापन संकाय डिन, केन्द्रीय विभाग प्रमुख, एमफिलको निर्देशकको भूमिका निर्वाह गरेका थिए । पूर्वअध्यक्ष भीमप्रसाद सुवेदीले चार वर्षे कार्यकाल गत मंसिरमा सकिएपछि आयोगमा नेतृत्व अभाव थियो ।
प्रकाशित : माघ ४, २०७९ २०:३२