२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दरबारमार्गमा पार्किङ निषेध [भिडियो]

महानगरसँग यहाँका कति भवनमा बेसमेन्ट रहेको र कति वटासम्म सवारी अट्छन् भन्ने तथ्यांक नै छैन
गोविन्द पोखरेल

काठमाडौँ — काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा सवारीसधान पार्किङमा रोक लगाएको छ । नेपाल प्रहरी, ट्राफिक प्रहरीको सहयोगमा महानगर प्रहरीले मंगलबार उक्त क्षेत्रमा माइकिङ गर्दै पार्किङ गर्न नपाइने जानकारी दिएको हो । हालसम्म अन्नपूर्ण होटलतर्फको सडकमा सवारी पार्किङ गरिँदै आइएको थियो । ‘आज (मंगलबार) बाट हामीले दरबारमार्गका दुवै किनारामा पार्किङ सुविधा हटाएका छौं,’ महानगर प्रहरी निरीक्षक राजेन्द्र देवकोटाले कान्तिपुरसँग भने, ‘ट्राफिक जामको समस्या धेरै भएपछि नेपाल प्रहरी र ट्राफिक प्रहरीसँग समन्वय गरेर यस्तो व्यवस्था गरेका हौं ।’

दरबारमार्गमा पार्किङ निषेध [भिडियो]

महानगरको टोलीले दरबारमार्गमा हरेक ३०–५० मिटरको दूरीमा ‘नो पार्किङ’ को बोर्ड राखेको छ । पार्किङ सुविधा हटाइएपछि अब यस क्षेत्रका व्यवसायी र उपभोक्तालाई समेत सवारी पार्किङमा झन्झट हुने देखिएको छ । यस क्षेत्रमा कतिवटा भवनमा पार्किङको व्यवस्था रहेको र कतिवटासम्म सवारी अट्न सक्छन् भन्ने तथ्यांक महानगरसँग छैन । अन्नपूर्ण होटल, याक एन्ड यती, शेर्पा मल र स्टार मलमा मात्रै पार्किङको व्यवस्था रहेको हुन सक्ने महानगर प्रहरी निरीक्षक देवकोटाले अनुमान गरे । यसअघि बेसमेन्ट क्षेत्रमा सञ्चालनमा रहेको भन्दै हटाइएका लन्डन पब, आई क्लब र फेसन पसल रहेका स्थानमा पार्किङस्थल अझै सञ्चालनमा आउन सकेको छैन । ती क्षेत्रमा पार्किङको व्यवस्था मिलाउन सकिने उनको भनाइ छ ।

 ।

‘यसअघि लन्डन पब रहेको बेसमेन्टमा करिब २० वटा कार र डेढ सय वटासम्म मोटरसाइकल‍ पार्किङ गर्न सकिन्छ, तर त्यहाँ अहिलेसम्म पनि पार्किङ खुला गरिएको छैन,’ उनले भने, ‘बिछ्याइएको मार्बल हटाएर ढलान गर्न केही समय लागेको घरधनीले बताएका छन् । अहिलेसम्म करिब ९० प्रतिशत काम सकिएको भन्ने छ । केही दिनमा यो ठाउँमा पार्किङ गर्न मिल्छ ।’

यस्तै, महानगरले लन्डन पबनजिकैको भवनको बेसमेन्टमा सञ्चालित २ वटा फेसन पसल र आई क्लब पनि बन्द गराएको थियो । तर, यी तीनवटै स्थान अहिले खाली छन् । क्लब हटाउने महानगरको निर्णयविरुद्ध अदालतमा मुद्दा परेका कारण उक्त स्थान तत्काल पार्किङस्थलका रूपमा प्रयोगमा आउने सम्भावना देखिएको छैन । क्लब रहेको स्थान फराकिलो रहेको र त्यहाँ सयौंको संख्यामा सवारीसाधन पार्किङ गर्न सकिने महानगर प्रहरीको भनाइ छ । यसअघि महानगरले बानेश्वर, बागबजार क्षेत्रमा पनि सडकमा पार्किङ गर्न रोक लगाइसकेको छ ।

प्रकाशित : पुस १९, २०७९ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?