कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सुन्धाराको पाइप भाँचिएपछि विवाद

दामोदर न्यौपाने

काठमाडौँ — सुन्धारामा पानी झर्ने परम्परागत पाइप भाँचिएपछि धरहरा पुनर्निर्माणमा विवाद भएको छ । धरहराका नयाँ संरचना बनाउने क्रममा सुन्धाराछेउमा डोजरले खन्दा काठको पुरानो पाइप भाँचिएको थियो । स्थानीयवासीले ऐतिहासिक ठाउँमा नयाँ संरचना बनाउँदा ध्यान दिनुपर्छ भनेर खबरदारी गरेका थिए ।

तर, निर्माण कम्पनीले बेवास्ता गरेको भन्दै स्थानीयवासीले विरोध गरेका छन् । विरोधपछि खन्ने काम रोकिएको छ । ‘हामीले यहाँ संरचना बनाउन हुँदैन भनेका थियौं,’ स्थानीयवासी गौतम डंगोलले भने, ‘तर मेयरसँग कुरा भइसकेको छ भनेर जबर्जस्ती गरियो । हामीले दुई महिनादेखि भनिआएका हौं ।’

विवाद बढेको थाहा पाएपछि काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले सोमबार धरहरा क्षेत्रको निरीक्षण गर्दै सरसल्लाह नगरी काम अघि नबढाउन निर्देशन दिएका छन् । ‘खन्दाखेरि यस्तो भेटियो भनेर काम रोक्न सकिन्थ्यो । के गर्ने भनेर सल्लाह गरेर अघि बढ्न सकिन्थ्यो,’ शाहले भने । धरहरा पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ठेक्का जीआईईटीसी रमन जेभीलाई दिएको थियो । निर्माण सम्पन्न नहुँदै गत पुसमा प्राधिकरणको म्याद सकिएपछि हालको जिम्मेवारी सहरी विकास मन्त्रालयअन्तर्गतको भवन निर्माण विभागलाई छ । सुन्धारामा कृत्रिम उपायबाट पानी खसाल्न पानी जमाउने उद्देश्यले ट्यांकी बनाउन लागिएको थियो । ‘सुन्धाराकै लागि रिजर्भ ट्यांकी बनाउन खनेका हौं,’ निर्माण कम्पनीका मेनेजर सञ्जय नकर्मीले भने, ‘काम रोकिएको छ । पुरातत्त्व विभागले निरीक्षण गरेपछि के गर्ने भन्ने टुंगो लाग्छ ।’ सुन्धाराका लागि १ लाख लिटर क्षमताको रिजर्भ ट्यांकी बनाउन लागेको नकर्मीले जानकारी दिए ।

यही ठाउँमा ट्यांकी बनाउन नहुने स्थानीयवासीले माग गर्दै आएका थिए । ‘वैज्ञानिक इन्जिनियरिङ थियो यहाँ,’ सम्पदा संरक्षण अभियानकर्मी आलोकसिद्धि तुलाधरले भने, ‘तर प्राचीन इन्जिनियरिङलाई ध्यानै नदिई सम्पदा क्षेत्रमा अन्धाधुन्ध डोजर चलाइयो । यहाँ काठको डुँड भेटियो । अब यसबाट पाठ सिक्नुपर्छ । यस्ता ठाउँमा निर्माण गर्दा सबै कुरामा होस गर्नुपर्छ ।’ सुन्धाराको संरक्षण गर्नुपर्ने उनले बताए ।

‘डिजाइनलाई सच्याउनुपर्छ,’ उनले भने । प्राचीन स्मारक भएका ठाउँमा जथाभावी ढंगले खन्ने काममा रोक लगाउन माग गर्दै स्थानीयवासीले पुरातत्त्व विभागको पनि ध्यानाकर्षण गरेका छन् । अधिवक्ता सञ्जय अधिकारीले दोषीलाई अनुसन्धान गरी प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार कारबाही गर्न माग गर्दै पुरातत्त्व विभागमा निवेदनसमेत दर्ता गरेका छन् ।

सुन्धारा धरहराको उत्तरतिर छ । धारा दक्षिणतिर फर्केका छन् । धरहराको सतहभन्दा गहिरो भएकाले सुन्धारा पुग्न २५ खुड्किला ओर्लनुपर्छ । सबैभन्दा तल्लो सतहमा धारा छन् । पाँचवटा धारा छन् । साफल्य अमात्यको पुस्तक ‘पुरातत्त्व, इतिहास र संस्कृति’ अनुसार सुन्धाराको पानी आउने स्रोत भाग कर्मचारी सञ्चय कोष भवन भएको ठाउँतिर छ । यही ठाउँमा पानी आउने संरचना थियो । सञ्चय कोष भवन बनाउने क्रममा संरचना भत्किएपछि सुन्धारा सुक्यो । कृत्रिम नभई प्राकृतिक रूपमै सुन्धारामा पानी ल्याउनुपर्ने माग सम्पदाविद्ले गरेका छन् ।

प्रकाशित : मंसिर २७, २०७९ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?