कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

य:मरि बनाउँदै 'य:मरि' सार्वजनिक

काठमाडौँ — काठमाडौं उपत्यकाको नेवारी संस्कृति सम्बन्धी चित्रपुस्तक ‘य:मरि’ बुधबार सार्वजनिक भएको छ । प्रत्यक्ष रुपमा य:मरि बनाउँदै पुस्तक फरक शैलीमा विमोचन गरियो ।

य:मरि बनाउँदै 'य:मरि' सार्वजनिक

प्राय: अतिथिका साथमा पुस्तक लोकार्पण हुने प्रचलनभन्दा भिन्न शैलीमा बुधबार पुस्तक सार्वजनिक कार्यक्रमको स्टेजमै य:मरि बनाएर देखाइएको थियो । शिल्पी थिएटरमा आयोजित कार्यक्रममा लेखक/चित्रकार कृषा ताम्राकारका साथमा दि एलिट्स को–एड स्कुल स्वयम्भूका बालबालिकाले पुस्तक विमोचन गरेका थिए । यस्तै, सेफ रविन श्रेष्ठले स्टेजमै य:मरि बनाउँदै गरेका थिए ।

कार्यक्रममा य:मरिका लागि आवश्यक सामग्री र बनाउने तरिका पनि सिकाइएको थियो । सेफ श्रेष्ठले य:मरि बनाइरहँदा दर्शकहरू चासोपूर्वक हेरिरहेका थिए ।

कार्यक्रममा इलाइट्स को–एड स्कुलका ५ कक्षाकी विद्यार्थी शैना महर्जन, डेनियल कँडेल र ४ कक्षाकी रक्षा खनालले पुस्तकको पहिलो भाग वाचन गरेर सुनाए भने सोही स्कुल कक्षा ५ की विद्यार्थी सनिरा शाहीले पुस्तकमाथि समीक्षा गरिन् । उनले चाकु र चामलको झगडा परेको भाग आफूलाई खुब मन परेको बताएकी थिइन् ।

लेखक ताम्राकारले पुस्तकमा य:मरिको इतिहास र किंवदन्तीलाई नयाँ शैलीमा प्रस्तुत गरेकी छन् । उनका अनुसार किन र कसरी खाने भन्ने वैज्ञानिक कोणलाई पनि पुस्तकमा समेटिएको छ । साथै बालबालिका मात्रै नभई अभिभावकका लागि पनि यो पुस्तक उपयोगी हुने बताइएको छ ।

कथालयकी सीईओ सुनीति अमात्यले विमोचन कार्यक्रमको नयाँ शैलीलाई उत्साहका रूपमा लिएको बताइन् । कथालयले बालसाहित्यसँगै किशोर साहित्य र अन्तर्राष्ट्रिय लेखकका नेपाली संस्करण समेत प्रकाशन गरिरहेको जानकारी दिएकी थिइन् । पुस्तक सार्वजनिक कार्यक्रमपछि अतिथि एवं सहभागीहरूलाई य:मरि खुवाएर बिदाइ गरिएको थियो ।

य:मरि नेवार समुदायले मंसिर पूर्णिमाका दिन मनाउने ऐतिहासिक चाड हो । अमर, माया, मीनु तीन साथीको जिज्ञासा र हजुरबाले सुनाएका य:मरिका रोचक कथा पुस्तकमा समावेस छन् । हास्य र चित्रको मिश्रण रहेको पुस्तकले य:मरि चाड कसरी सुरु भयो भन्ने किंवदन्तीबारे पनि जानकारी दिएको छ । पुस्तकमा य:मरि बनाउने तरिका पनि सचित्र प्रस्तुत गरिएकाले पुस्तक बालबालिकासँगै अभिभावकका लागि पनि उपयोगी हुने अपेक्षा गरिएको छ । यसअघि पुस्तकहरूमा चित्र बनाएकी कृषा ताम्राकारको आफ्नै चित्रसहितको यो पहिलो प्रकाशित पुस्तक हो ।

प्रकाशित : मंसिर २१, २०७९ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?