कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

'आउटसोर्सिङ'मार्फत भर्ना लिइएका काठमाडौं नगर प्रहरीमध्ये आधा 'अयोग्य'

काठमाडौँ — काठमाडौं महानगरपालिकाले आउटसोर्सिङमार्फत भर्ना लिएका नगर प्रहरी जवानमध्ये आधा जसो अयोग्य रहेको पाइएको छ ।महानगरले युनिक सेक्युरिटिजसँग एक वर्षका लागि १ सय ६२ जना नगर प्रहरी जवान उपलब्ध गराउने समझदारी गरेको थियो । 

'आउटसोर्सिङ'मार्फत भर्ना लिइएका काठमाडौं नगर प्रहरीमध्ये आधा 'अयोग्य'

४० वर्ष ननाघेका भूतपूर्व आर्मी, नेपाल प्रहरी/सशस्त्रका पूर्व कर्मचारीलाई मात्रै भर्ना गराउने सम्झौताविपरीत योग्यता नै नपुगेका मानिसहरुलाई उक्त कम्पनीले नगर प्रहरीका लागि पठाएको हो ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार युनिक सेक्युरिट्जले पठाएका १ सय ६२ जना व्यक्तिमध्ये ८१ जना मात्रै योग्य छन् । बाँकी सबैलाई फिर्ता पठाइएको उनले जानकारी दिए ।

खरिद महाशाखाका प्रमुख ध्रुव काफ्लेका अनुसार एक जना नगर प्रहरी उपलब्ध गराएबापत् उक्त कम्पनीले प्रतिमहिना २० हजार ५ सय २३ रुपैयाँ पाउने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार पुरुषको हकमा ४० वर्ष उमेर ननाघेका भूतपूर्व नेपाली सेना र नेपाल प्रहरी वा सशस्त्र प्रहरीमा कम्तीमा ५ वर्ष सेवा गरेको हुनुपर्छ । यस्तै महिलाको हकमा उमेरको हदबन्दी ४५ वर्ष राखिएको छ ।

नगर प्रहरी बलमा प्रवेश गरेकाहरुको विवरण र योग्यता जाँच गर्दा फरक पाइएको पाण्डेले बताए । ‘आउटसोर्सिङबाट आएका नगर प्रहरी जवानहरुलाई मैले योग्यता पुगेको प्रमाणपत्र ल्याउन भनेको थिएँ । तर ११ दिनपछि कम्पनीले ८१ जनाको मात्रै ल्याएको छ,’ पाण्डेले कान्तिपुरसित भने,‘ कसैको उमेर ४० वर्ष नाघेको, नेपाल प्रहरी र आर्मीमा सेवा नै नगरेको मानिसहरुलाई पठाएको रहेछ । सम्झौताविपरीत आएका सबैलाई फिर्ता पठाइदिएका छौं । ’

उक्त कम्पनीले हचुवाको भरमा कर्मचारी भर्ना गरेर नगर प्रहरी सेवामा पठाएको पाण्डेले बताए । उनले भने,‘ युनिक सेक्युरिटिजले बदमासी गर्‍यो । पूरा लटरपटर गरेर मानिसहरुलाई भर्नाका लागि पठायो । ’

सो कम्पनीका प्रतिनिधि बताउने पर्सीराम चौधरीसँग यसबारे बुझ्न खोज्दा बताउन चाहेनन् ।युनिक सेक्युरिटिजमार्फत नगर प्रहरीमा ११ दिन सेवा गरेका ४६ वर्षीय विकास भुसालका अनुसार कम्पनीले २ सय जनालाई फाराम भर्न लगाएर उमेरको हदबन्दी नहेरी नगर प्रहरीमा पठाएको कान्तिपुरलाई बताए ।

उनले भने,‘हामीलाई थाहा पनि थिएन । नगर प्रहरीको कन्ट्र्याक्ट लिएको रहेछ । हामी त गयौं । नगर प्रहरीमा ४० वर्षभन्दा कम उमेरको हुँदैन भन्ने रहेछ । ११ दिन काम गरेपछि फिर्ता भयौं । ’

प्रकाशित : मंसिर २०, २०७९ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?