अनधिकृत संरचना हटाउन अल्टिमेटम- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनधिकृत संरचना हटाउन अल्टिमेटम

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकाभित्र सरकारी, पर्ती, ऐलानी तथा खोलाको मापदण्ड मिचेर बनाइएका अनधिकृत संरचनाहरू खाली गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणले बुधबार ५ दिने सूचना जारी गरेको छ ।

‘धोबीखोला, बल्खुलगायत उपत्यकाका विभिन्न स्थानमा मापदण्ड मिचेर सानाठूला घर संरचना, व्यापारिक कम्प्लेक्स, वाललगायत निर्माण गरिएको जानकारी आएकाले हटाउन भनेका हौं,’ प्राधिकरणकी आयुक्त जानुका ढकालले बताइन् । अटेरी गरे प्राधिकरणले हटाउने र त्यसबापत लागन सम्बन्ध्ति व्यक्ति र संस्थाबाट उठाउने जनाइएको छ ।

एक महिनाअघि कान्तिपुर दैनिकले ‘खोलाकिनारमा ‘अवैध’ आवास’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । संवाददाताले ‘गुगल अर्थ प्रो’ मा पहिचान भएका ९५ वटा कोलोनी, अपार्टमेन्ट, हाउजिङ लगायत योजनामध्ये ४१ प्रतिशत अनधिकृत पाएको थियो ।

प्रकाशित : मंसिर १५, २०७९ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्

नेपालका असल मित्र च्याङ रहेनन्

पूर्वराष्ट्रपति च्याङ च मिनले सन् १९८९ को थ्यानआनमन स्क्वायर घटनापछि चीनलाई आन्तरिक र बाह्य दबाबलाई सही र सन्तुलित रुपमा सम्हालेका थिए
लक्ष्मी लम्साल, जगदीश्वर पाण्डे

बेइजिङ, काठमाडौं — चीनको पूर्वी प्रान्त जियाङ्सुमा सन् १९२६ अगस्ट १७ मा जन्मिएका पूर्वराष्ट्रपति च्याङ च मिनको सांघाई सहरमा बुधबार निधन भएको छ । रक्त क्यान्सरबाट पीडित च्याङको शरीरका विभिन्न अंगले काम गर्न छाडेपछि निधन भएको चिनियाँ सरकारी संस्था सिन्ह्वाले जनाएको छ । जन्म र मृत्यु स्थानबीचको दूरी लामो नभए पनि ९६ वर्ष बाँचेका नेपालका असल मित्र च्याङले एक दशकसम्म चीनलाई दरिलो नेतृत्व प्रदान गरे । उनी सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति थिए ।

महासचिवका रूपमा उनले सन् १९८९ देखि २००२ सम्म चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) हाँके । साथै, उनी अर्को शक्तिशाली पद चिनियाँ जनमुक्ति सेनालाई सञ्चालन गर्ने केन्द्रीय सैनिक आयोगका प्रमुख पनि रहे । सन् १९८९ को थ्यानआनमन स्क्वायर घटना र त्यसपछि चीनलाई आन्तरिक र बाह्य रूपमा परेको दबाबलाई सही र सन्तुलित रूपमा च्याङले सम्हालेका थिए ।

च्याङले आफ्नो कार्यकालमा नेपाललाई निकै हार्दिकताका साथ व्यवहार गरे । यसबाहेक दसौं पटक नेपाली राजपरिवारबाट भएको चीन भ्रमणले पनि उनको नेपालप्रतिको सम्मानभाव झल्किन्छ । सन् २००१ मार्च १ मा नेपाली राजा वीरेन्द्र वीर विक्रम शाहको चीन भ्रमणका क्रममा ‘ग्रेट हल अफ द पिपुलमा’ च्याङले प्रशंसा गर्दै भनेका थिए, ‘महाराजबाट भएको यो १० औं पटकको चीन भ्रमण हो, जसले चीन र नेपालबीचको असल मित्रता र सहयोगात्मक सम्बन्धमा दर्साइएको महत्त्व र चासोलाई पूर्ण रूपमा प्रतिविम्बित गर्दछ । यो आपसी मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्धको अर्को ठोस मूर्त रूप पनि हो । यो भ्रमणले निश्चित रूपमा नयाँ शताब्दीमा चीन–नेपाल सम्बन्धमा एउटा महत्त्वपूर्ण पृष्ठ खोल्नेछ र चीन–नेपाल असल छिमेकी र मैत्रीपूर्ण सम्बन्धमा अर्को कोसेढुंगा बन्नेछ ।’

सन् १९९६ को डिसेम्बरमा राष्ट्रपतिका रूपमा नेपाल भ्रमण गरेका च्याङले ‘चीन र नेपाल एकअर्कामा अन्योन्याश्रित रहेका र दुई देशका जनताबीचको मित्रता पुरातनकालदेखिको’ भएको बताएका थिए । सातौं शताब्दीको मध्यतिर थाङ वंशका भिक्षु सुआनचाङको नेपाल भ्रमणदेखि बेइजिङमा ७०० वर्षअघि नेपाली शिल्पकार अरनिकोले निर्माण गरेको मियाओयिङ श्वेत चैत्यलाई बेइजिङका जनताले अझै बिर्सेका छैनन् भनेर च्याङले पटक–पटक दोहोर्‍याउँथे ।

सन् २०१९ मा पार्टीको एक कार्यक्रममा राष्ट्रपति सी चिनफिङ र तत्कालीन प्रधानमन्त्री ली कछ्याङसँग पूर्वराष्ट्रपति जियाङ जेमिन । फाइल तस्बिर : रोयटर्स

च्याङले नेपालसँग असल छिमेकी, मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्धलाई सुदृढ र विकास गर्दै जानु चीन सरकारको स्थापित नीति भएको बताउने गर्थे । ‘ठूला वा साना, बलियो वा कमजोर सबै देशहरू अन्तर्राष्ट्रिय समुदायका सदस्य रहेका र एकअर्कालाई सम्मानका साथ समान व्यवहार गर्नुपर्छ,’ उनको भनाइ थियो । सन् १९९६ मा आफ्नो नेपाल भ्रमणको स्मरण गर्ने क्रममा उनले राजा वीरेन्द्रसँग संयुक्त रूपमा ‘पुस्तौंपुस्तादेखि मित्रताको असल छिमेक साझेदारी’ चीन–नेपाल सम्बन्धको विकासको आधारभूत मार्गनिर्देशन भएको निचोड निकाले । ‘नयाँ शताब्दीमा चीन र नेपालबीच मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्धको निरन्तर विकासका लागि हामी राजा र नेपाली जनतासँग मिलेर काम गर्न इच्छुक छौं,’ उनले भनेका थिए ।

भेटवार्तामा राजा वीरेन्द्रले पनि नेपाल र चीनबीच कुनै समस्या नरहेको र विभिन्न क्षेत्रमा मैत्रीपूर्ण आदानप्रदान र सहयोग सहज रूपमा विकसित भएको बताएका थिए । नेपाल–चीन असल छिमेकीपन र मित्रताले नयाँ शताब्दीमा नयाँ विकास हासिल गर्ने, विशेषगरी आर्थिक तथा व्यापारिक क्षेत्रमा आदानप्रदान र सहयोगलाई थप मजबुत बनाउन सकिने विश्वासमा वीरेन्द्र थिए । चीनको छिमेकीको हैसियतले नेपाल चीनलाई थप विकसित र बलियो भएको हेर्न चाहेको वीरेन्द्रले बताएका थिए । चीनको स्वशासित क्षेत्र तिब्बतमा स्थानीय जनताको हितका लागि पारस्परिक लाभप्रद आर्थिक तथा व्यापारिक सहयोगलाई थप विकास गर्न नेपाल इच्छुक रहेको कुरा उनले प्रस्ट पारेका थिए ।

सन् २००१ जुनमा नेपालको राजदरबारमा भएको हत्याकाण्डबाट तत्कालीन राष्ट्रपति च्याङ निकै विक्षिप्त भए । उनले राजा वीरेन्द्र तथा रानी ऐश्वर्यको निधनप्रति गहिरो समवेदना व्यक्त गर्दै अत्यन्त मर्माहत भएर असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेका थिए । च्याङको विचारमा राजा वीरेन्द्रलाई नेपाली जनताले गहिरो सम्मान र माया गरेको र नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षा, सामाजिक विकास र जनताको सुख शान्तिको प्रवर्द्धनमा आफ्नो सम्पूर्ण जीवन समर्पित गरेको लाग्थ्यो । उनले सोही वर्षको फेब्रुअरीमा हाइनान टापुमा आयोजित बोआओ फोरम फर एसियाका क्रममा र चीनको राजकीय भ्रमणका क्रममा बेइजिङमा दुई पटक भेटेको बताएर असल मित्र गुमाएकोमा खेद व्यक्त गरे ।

चीन र नेपालबीचको मैत्रीपूर्ण र असल छिमेकी सम्बन्धमा उल्लेखनीय योगदान पुर्‍याएका वीरेन्द्रलाई चिनियाँ जनताले पनि सधैं सम्झने भनेर नेपालप्रति ढाडस देखाए । १० पटक चीन पुगेका वीरेन्द्रले सन् १९६६ मा राजकुमारको हैसियतमा भ्रमण गरेका थिए । त्यति मात्रै नभएर पूर्वराजा ज्ञानेन्द्रको पालामा समेत च्याङ नेपालप्रति असल मित्रताको पक्षमा उभिए । सन् २००२ जुलाई १० मा बेइजिङमा स्वागत गर्ने क्रममा उनले नेपाललाई ठूलो सम्मान दिए ।

राजाबाहेक नेपालबाट हुने अन्य कुनै पनि भ्रमणलाई उनले सफल बनाउन कोसिस गर्थे । तङ सियाओ पिङले खुला गरेको अर्थतन्त्रलाई अघि बढाउने काम च्याङले गरे । उनले पश्चिमा मुलुकहरूसँगको सम्बन्धलाई थप बलियो बनाउनुका साथै चीनलाई सन् २००१ को डिसेम्बरमा विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्य पनि बनाए । जसले गर्दा विश्वमा चिनियाँ अर्थतन्त्र थप फैलिँदै गयो । चीनमा विदेशी लगानी भित्रिन थाल्यो । र, चीनको अर्थतन्त्र बलियो हुँदै गयो । च्याङलाई सन् २००८ को बेइजिङ ओलम्पिकको उद्घाटन समारोहमा देखिएको थियो । उक्त खेलकुदको महाकुम्भ चीनले पाउनमा उनले महत्त्वपूर्ण भूमिका लेखेका थिए । चिनियाँ राजनीतिका बारेमा बहस हुँदा सन् २०१२ सम्म केही सक्रिय थिए । सन् २०१९ मा वर्तमान राष्ट्रपति सी चिनफिङ शक्तिमा आएसँगै उनी राजनीतिक रूपमा निष्क्रिय देखिएका हुन् । सार्वजनिक रूपमा भने उनी अन्तिम पटक सन् २०१९ मा पार्टीको ७० औं वार्षिकोत्सवमा देखिएका थिए । गत अक्टोबरमा सीपीसीको २१ औं महाधिवेशनमा भने उनी कमजोर स्वास्थ्यका कारण नदेखिएका जनाइएको छ । राजनीतिक भूमिकाबाट भने उनले सन् २००४ को सेप्टेम्बरमा बिदा लिएका थिए ।

प्रकाशित : मंसिर १५, २०७९ ०७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×