नगर प्रहरीमाथि आक्रमण गर्नेविरुद्ध महानगरपालिकाको उजुरी- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नगर प्रहरीमाथि आक्रमण गर्नेविरुद्ध महानगरपालिकाको उजुरी

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाने क्रममा महानगर प्रहरीमाथि भएको आक्रमणमा संलग्नहरुमाथि कानुन अनुसार कारबाही गर्न प्रहरीलाई अनुरोध गरेको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले सोमबार साँझ विज्ञप्ति जारी गर्दै सो घटनाको नेतृत्वकर्ता र त्यसमा संलग्नहरुमाथि उजुरी गरेको भन्दै कारबाहीका लागि माग गरेका हुन् ।

'सो घटना घटाउन नेतृत्व गर्ने तथा आपराधिक कार्यमा संलग्न हुने व्यक्तिहरुको नाम समेत खुलाई महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा अपराध अनुसन्धानका लागि महानगरपालिकाबाट पत्र प्रेषित गरिएको छ,' मानन्धनले भनेका छन् ।

महानगरपालिकाका अनुसार अनधिकृत संरचना हटाउने कानुन बमोजिमको कार्यमा संलग्न नगर प्रहरीहरुलाई सांघातिक आक्रमण गर्ने व्यक्तिहरुलाई कानुन बमोजिम हदैसम्मको कारबाही हुन सम्बद्ध निकाय तथा पदाधिकारीहरुलाई अनुरोध गरिएको छ । महानगरपालिकाले अधिकार सम्पन्न वाग्मती सभ्याता एकीकृत विकास समितिको अनुरोधपछि महानगर प्रहरी बलका प्रमुखको नेतृत्वमा टोली थापाथली पुगेको जनाएको छ ।

'सो स्थानमा अनधिकृत संरचना निर्माण गर्ने व्यक्तिहरुले खुँडा जस्ता धारिलो हतियार, ढुंगामुढासहितका सामग्रीसहित उपस्थित भई आपराधिक मनसायले एक्कासी महानगर प्रहरी बलका प्रमुखसहित १८ जना नगर प्रहरीलाई आक्रमण गरी गम्भीर घाइते बनाएका छन्,' महानगरपालिकाले भनेको छ । महानगरपालिकाले आक्रमणमा परि घाइते भएकी नगरप्रहरी शर्मिला बोगटीसहित ३ जनाको आईसीयूमा उपचार भइरहेको जनाएको छ ।

'सार्वजनिक जग्गामा निर्माण गरिएको अनधिकृत संरचना हटाउन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिबाट पटकपटक सार्वजनिक सूचना गरिएको, सम्बन्धित स्थानीय प्रशासनसँग समेत समन्वय तथा पत्राचार भए पनि महानगर प्रहरीमाथि सांघातिक आक्रमण गर्ने दुःखद घटना घट्न पुगेको अवस्था छ' विज्ञप्तिमा भनिएको छ ।


प्रकाशित : मंसिर १२, २०७९ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश १ मा समानुपातिकमा एमाले अगाडि, कांग्रेस दोस्रो स्थानमा

पाँचथर, उदयपुरको दुई र सुनसरीको तीन गरी सात निर्वाचन क्षेत्रको मात्रै समानुपातिकको मत परिणाम आउन बाँकी
देवनारायण साह

मोरङ — प्रदेश १ स्थित प्रदेशसभाको ५६ निर्वाचन क्षेत्रमध्ये ४९ वटा क्षेत्रमा समानुपातिकतर्फको मत गणना सम्पन्न हुँदा एमाले पहिलो स्थानमा रहेको छ । कांग्रेस दोस्रो, राप्रपा तेस्रो, माओवादी केन्द्र चौथो, जनता समाजवादी पार्टी (जसपा) पाँचौ र नेकपा (एकीकृत समाजवादी) छैठौँ स्थानमा रहेको छ । 

यस प्रदेशको निर्वाचन आयोगको सूचना प्रणालीमा साँझ ७ बजेसम्ममा प्रविष्ट भएको कूल १७ लाख १० हजार ९९७ समानुपातिक मतमध्ये एमालेले ५ लाख ९८ हजार १८०, कांग्रेसले ५ लाख १ हजार ७०३ मत प्राप्त गरेको छ । यसतै, राप्रपाले १ लाख ८२ हजार ८९८, माओवादी केन्द्रले १ लाख ६७ हजार ६२६, जसपाले ५५ हजार २७६, एकीकृत समाजवादीले ५० हजार ८४९ मत प्राप्त गरेको हो ।

यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २६ हजार २८, मंगोल नेशनल अर्गनाइजेशनले २४ हजार ६८५, हाम्रो नेपाली पार्टीले २३ हजार १७८ र जनमत पार्टीले २१ हजार ३३७ मत प्राप्त गरेको छ ।

पहिलो प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फको ३७ प्रदेश सांसदमध्ये कूल १७ लाख ३६ हजार ७०९ सदर मतमध्ये ६ लाख ७३ हजार ७०९ मत ल्याएर लमालेले १५, कांग्रेसले ५ लाख ८६ हजार २४६ मत ल्याएर १३ प्रदेश सांसद पाएका थिए । यस्तै, पहिलो प्रदेशसभामा २ लाख ६ हजार ७८१ मत ल्याएर माओवादी केन्द्रले ५, तत्कालिन संघीय समाजवादी फोरम हालको जनता समाजवादी पार्टीले ७० हजार ४७६ मत ल्याएर २, राप्रपाले ५७ हजार ३४२ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले २६ हजार १२३ मत ल्याएर १/१ वटा समानुपातिक प्रदेश सांसद पाएका थिए ।

यसपटक समानुपातिक तर्फ दलहरुले प्राप्त गरिरहेको मतका आधारमा एमालेले १३/१४, कांग्रेसले ११/१२, राप्रपाले ४, माओवादी केन्द्रले ३, जनता समाजवादी पार्टीले २, एकिकृत समाजवादीले २ र संघीय लोकतान्त्रिक वा मंगोल नेशनल अर्गनाइजेशनमध्येले एउटा प्रदेश सांसद पाउने देखिएको छ । यस प्रदेशको कूल ३३ लाख ९६ हजार ८६५ मतदातामध्ये ६० दशमलव ४९ प्रतिशतले मतदान गरेका थिए ।

यस प्रदेशस्थित ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ५३ क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको हो । जसमा एमालेले २४, कांग्रेस १५, माओवादी केन्द्र ९, नेकपा (एकीकृत समाजवादी) ३ र राप्रपाले २ वटा क्षेत्र जितिसकेका छन् । बाँकी रहेको ३ वटा क्षेत्रमध्ये कांग्रेस २ वटा क्षेत्रमा जित निकट रहेको र एमाले एउटा क्षेत्रमा अगाडि छ ।

९३ सदस्यीय पहिलो प्रदेशसभामा एमालेले ५१, कांग्रेसले २१, माओवादी केन्द्रले १६, जसपाले ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एउटा प्रदेश सांसद जितेका थिए । यसपटक सरकार गठनका लागि सत्ता र एमाले दुवै गठबन्धनलाई चुनौतीपूर्ण देखिएको छ ।

प्रकाशित : मंसिर १२, २०७९ २०:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×