३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पशुपति धर्मशालामा बलमिचाइँको विरोध

काठमाडौँ — व्यवसायी र स्थानीयले अवरोध गरेपछि पशुपतिस्थित गौशाला र धर्मशाला भत्किनबाट जोगिएको छ । शनिबार बिहान पशुपति क्षेत्र विकास कोषले डोजर लिएर गौशाला र धर्मशाला भत्काउन गएको थियो ।

मारवाडी समुदाय ठूलो संख्यामा उपस्थित भई गौशालाको मुख्य गेट बन्द गरेका थिए । कोषले गौशाला धर्मशाला खाली गर्न गौशाला धर्मशाला मारवाडी सेवा समितिलाई शुक्रबार कार्यालय समयपछि पत्र काटेको थियो । कोषका सदस्य सचिव मिलनकुमार थापाले कार्यालय समयपछि चिठी काटेर शनिबार बिहान ९ बजे सरिसक्न निर्देशन दिएका थिए । कोषले २०६० मा भएको सम्झौताविपरीत काम गरेको दाबी गर्दै सामान हटाउन निर्देशन दिएको हो । कोषले यसअघि दिइएको सूचना र निर्देशनसमेत बेवास्ता गरेकाले भत्काउन लागिएको दाबी गरेको छ ।

मारवाडी सेवा समितिका अध्यक्ष कैलाशकुमार गोयलले भने, ‘सम्झौताविपरीत कुनै काम गरेका छैनौं । ८२ वर्षदेखि धर्मशाला चलाएका छौं । त्यतिबेला नक्सा पास गर्ने चलन नै थिएन । कुन वैध कुन अवैध भनेर छुट्याउनै मुस्किल छ ।’ वैध र अवैध छुट्याउने काम कोषको नभई महानगरको भएको उनले बताए ।

२०६० मा भएको सम्झौताअनुसार कोषलाई मारवाडी सेवा समितिले रकम बुझाउँदै आएको पनि गोयलले बताए । सम्झौताअनुसार समितिले वर्षमा ५१ हजार रुपैयाँ बुझाउँछ । यो आर्थिक वर्षको रकमसमेत बुझाइसकेको गोयलले जानकारी दिए । ‘यो रकम सहयोग रकम हो । एक संस्थाले अर्को संस्थालाई सहयोग गर्ने भनेर यो रकम तोकिएको हो,’ गोयलले थपे, ‘यो कुनै भाडा रकम भने होइन ।’ मारवाडी सेवा समिति धर्मशाला क्षेत्रको मोहीसमेत हो ।

प्रकाशित : मंसिर ११, २०७९ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?