सवारी सञ्चालनमा कडाइ

आइतबार बिहान ४ देखि बेलुका ७ बजेसम्म अत्यावश्यक र पास भएका बाहेकका सवारीसाधन सञ्चालनमा रोक

भक्तपुर — ४ हजार ८ सय ९३ मतदाता रहेको भक्तपुर बहुमुखी क्याम्पस मतदानस्थलमा मतदाताको सहजताका लागि पाँच वटा मतदाता केन्द्र स्थापना गरिएको छ । मतदान केन्द्रमा खटिएका कर्मचारीले सर्वपक्षीय बैठक राखेर मतदान प्रतिनिधि नियुक्ति तथा परिचयपत्र वितरण, मतदाताको नामावली प्रमाणित गरी मुचुल्कासमेत गराइसकेका छन् ।

सवारी सञ्चालनमा कडाइ

‘मतदाताको सहजताका लागि मतदानकेन्द्र निर्माण गरिसक्यौं, मतदानको सम्पूर्ण तयारी पूरा भयो,’ भक्तपुर बहुमुखी क्याम्पस मतदान केन्द्र ‘क’ का मतदान अधिकृत रुद्रप्रसाद पन्थीले भने, ‘अपांगता भएका मतदाताको सहजताका लागि अपांगमैत्री मतदान केन्द्र निर्माण गरेका छौं ।’ उक्त मतदान केन्द्रमा ९ सय ५२ मतदाता छन् ।

जिल्लामा कार्यरत कर्मचारीहरूका लागि सोही स्थानमा छुट्टै अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ । अस्थायी केन्द्रमा जिल्लामा कार्यरत सुरक्षाकर्मी, सरकारी कर्मचारी, संस्थान तथा अर्धसरकारी कर्मचारी गरी ८ सय ३५ मतदाताले समानुपातिक उम्मेदवारलाई मतदान गर्न पाउने अस्थायी मतदान केन्द्रका मतदान अधिकृत कृष्ण गिरीले बताए । भक्तपुर बहुमुखी क्याम्पसलगायत जिल्लाको ७६ मतदानस्थलमा २ सय २२ मतदान केन्द्र तथा एक अस्थायी मतदान केन्द्रलगायतमा १ हजार ७ सय ७६ कर्मचारी खटिएका छन् । प्रत्येक केन्द्रमा मतदान अधिकृतसहित ८ कर्मचारी र ३ जना स्वयम्सेवक गरी ११ जना खटिएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । आइतबार बिहान ४ देखि बेलुका ७ बजेसम्म अत्यावश्यक र पास भएका बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको उनले बताइन् । एक प्रयोजनका लागि अनुमति लिएको सवारी अन्य प्रयोजन, मतदाता ओसारपसारलगायत कार्यमा प्रयोग भए कानुनबमोजिम कारबाही हुनेसमेत जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ । निर्वाचन सुरक्षाका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादीसहित सुरक्षाकर्मी परिचालित छन् । निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र उत्साहपूर्वक सम्पन्न गर्न सबै सुरक्षा निकायलाई उच्च सतर्कतासहित तयारी अवस्थामा राखिएको बताइन् ।

भक्तपुरमा प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ४ निर्वाचन क्षेत्र छन् । १ लाख ९४ हजार ४ सय ३९ जना मतदातामध्ये महिला मतदाता ९९ हजार ७ सय ५१, पुरुष ९४ हजार ६ सय ८३ र अन्य पाँच जना छन् । प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार १० वटा मतदान केन्द्र अपांगतामैत्री बनाइएको छ । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि मतगणनाका लागि गणनास्थलमा सिसिक्यामेरा जडान र तारजाली लगाएको छ । भक्तपुर क्षेत्र नं. १ तर्फको मतगणनाका लागि विद्युत् प्राधिकरण तालिम केन्द्र खरिपाटी र क्षेत्र नं. २ तर्फको मतगणनाका लागि कृषि विकास बैंक तालिम केन्द्र बोडेमा मतगणनाका लागि सिसिक्यामेरा जडान गरी तारजाली लगाएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले बताए ।

क्षेत्र नं. १ तर्फको मतगणनास्थल खरिपाटीमा प्रदेशसभा १ र २ को छुट्टाछुट्टै तथा प्रतिनिधिसभाको दुई स्थानमा मतगणनास्थल निर्माण गरेको छ । उक्त क्षेत्रमा ५ वटा सिसिक्यामेरा जडान गरिएको छ । क्षेत्र नं. २ तर्फको मतगणनास्थल मध्यपुर थिमि बोडेमा प्रदेशसभा १ र २ को छुट्टाछुट्टै तथा प्रतिनिधिसभा सदस्यको दुई स्थानमा मतगणनास्थल निर्माण गरेको छ । बोडेमा पनि पाँचवटै सिसिक्यामेरा जडान गरी तारजाली लगाएको छ । मतगणनास्थल सुरक्षाका लागि सिसिक्यामेरा जडान तथा तारजालीको व्यवस्था गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।

प्रकाशित : मंसिर ४, २०७९ ०६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?