भक्तपुरमा ट्याङ्करले ठक्कर दिँदा ७ वर्षीय बालकको मृत्यु- उपत्यका - कान्तिपुर समाचार

भक्तपुरमा ट्याङ्करले ठक्कर दिँदा ७ वर्षीय बालकको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — भक्तपुरमा ट्याङ्करको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरकाअनुसार रामेछापको सुनापाती गाउँपालिका-४ घर भई भक्तपुरको ब्यासी बस्ने ७ वर्षीय बिवेश तामाङको मृत्यु भएको हो । 

झौखेलबाट ब्यासीतर्फ आउँदै गरेको ट्याङ्करले भक्तपुर नगरपालिका-२ ब्यासी कासन पुल नजिक आज बिहान १० बजे बा ५ ख ९१४२ नम्बरको ट्याङ्करले ठक्कर दिएको थियो ।

ट्याङ्करको ठक्करबाट सख्त घाइते भएका तामाङको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी राजु पाण्डेले जानकारी दिए ।

प्रकाशित : मंसिर ३, २०७९ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्

५० वर्षअघि, ५० वर्षपछि

कतारीको जीवन माछा र मोतीमाथि निर्भर थियो । मोती खोज्न समुद्रमुनि पस्नुपर्ने त्यो व्यवसाय बिस्तारै समाप्त भयो । र, कतारको जीवनमा भयानक संकट थपियो ।
होम कार्की

काठमाडौँ — २५ जुन २०१३ को बिहान ९ बजे कतारको भिलाजिओ मलतिर घुम्दै थिएँ । त्यस मलभित्र कतारी नागरकिको भीड थियो । त्यति ठूलो भीड मैले कहिल्यै देखेको थिइनँ । स्थानीय टेलिभिजनहरू कतारी नागरिकसँग एकपछि अर्को प्रतिक्रिया लिइरहेका थिए । कोही खुसी देखिन्थे, कोही निराश ।

उनीहरूले बोलेको अरबी भाषामा मैले दुई शब्द मात्रै बुझेँ– शेख हमाद र शेख तमिम । भीड नियालिरहेका एक नेपालीलाई सोधेँ– ‘कतारीहरूको यस्तो भीड किन हो ? यस्तो त कहिले थिएनँ !’

‘यहाँको अमीर (राजा) ले छोरो तमिमलाई राजा घोषणा गरिदिएछ’, अरबी भाषाका पोख्त ती नेपालीले भने, ‘युवालाई राजा बनाइदिएकोमा एकथरी खुसी छन्, अर्काथरी निराश ।’

खाडीमा राजाको मृत्यु नभएसम्म उत्तराधिकारीले शासन समाल्ने चलन थिएन । त्यस परम्परा तोड्दै ६१ वर्षीय अमीर शेख हमादले ३३ वर्षीय शेख तमिमलाई अमीरको जिम्मेवारी दिए । ‘परम्परागत कतार’ लाई ‘आधुनिक कतार’ बनाउने मुख्य श्रेय हमादलाई जान्छ, जसले आफ्ना पिता खलिफाबाट सन् १९९५ मा रक्तविहीन ढंगबाटै राज्यसत्ता खोसेका थिए । तमिम कतारका आठौं राजा हुन् । कतारमा अलथानी परिवारले १ सय ७२ वर्षदेखि शासनसत्ता सम्हाल्दै आएका छन् ।

कतार राज्यका संस्थापक शेख मोहम्मद विन अलथानी (१८५०–१८७८) हुन् । संविधानले नै अमीरलाई कार्यकारी र कानुन बनाउन पाउने अधिकार दिएको छ । सन् १९१३ मा बहराइनको नियन्त्रणबाट मुक्त भएपछि बेलायतले कतारलाई सार्वभौमसत्ता सम्पन्न देशको पहिचान दिएको थियो । कतारको आन्तरिक सुरक्षा र विदेश नीति बेलायतको नियन्त्रणमा थियो । कतारलाई पश्चिम राष्ट्रसँग नजिक भएर काम गर्ने मौका मिल्नुको साथै राजसंस्थाले निरन्तरता हुन पायो । कतारीको जीवन माछा र मोतीमाथि निर्भर थियो । समुद्रबाटै धानिएको थियो जीवन । मोती खोज्न उनीहरू समुद्रमुनि पस्थे । १९२० को दशकमा आइपुग्दा मोती व्यवसाय लगभग समाप्तै भयो । कतार र कतारी नागरिकको जीविकोपार्जनमै संकट थपियो ।

बेलायतको संरक्षित राज्य भएकै बेला कतारमा सन् १९३० को दशकमा तेलको भण्डार पत्ता लाग्यो । तेल उत्खनन गरी बाहिर पठाउने सामर्थ्य कतारसँग थिएन । ऊ पूर्ण रूपमा बेलायती कम्पनीमाथि भर पर्नुपर्थ्यो । बेलायतको ५१ प्रतिशत हिस्सामा एङ्लो पर्सियन ओइल कम्पनी खुल्यो । यसले सन् १९३८ मा कतारको पश्चिम भागमा पर्ने दुखानमा पहिलो पटक तेल निकाल्न खन्ने काम थाल्यो । त्यसको एक दशकपछि मात्रै सन् १९४९ बाट तेलको प्रशोधन हुन थाल्यो । त्यतिखेर कतारसँग आफ्नै शैक्षिक र दक्ष औद्योगिक श्रमशक्ति थिएन । पूर्ण रूपमा विदेशी श्रमिकमाथि भर पर्नुपर्थ्यो । भारतीय उपमहाद्वीप र अरबी देशबाट कामदार लैजान थालिएको थियो ।

५० को दशकमा मात्रै सहरी विकासको सुरुवात भयो । गाडी गुड्ने सडकहरू बन्न थाले । परम्परागत र पर्खाल लगाइएका घरको निर्माण भने ६० को दशकमा मात्रै सुरु भयो । सन् १९७१ मा बेलायत नियन्त्रणबाट स्वतन्त्र भयो– कतार । त्यो बेला कतारको जनसङ्ख्या १ लाख ११ हजार १ सय १३ थियो, जसमा कतारी नागरिक ४५ हजार ३९ र विदेशी कामदार ६६ हजार ९४ थिए । सुरुदेखि नै इरानी र भारतीयको दबदबा थियो ।

आधुनिक सहर, कामदारका लागि दोकनसहितको आवासीय घर, व्यापारिक प्रयोजनका भवनहरू बनाउने बृहत् विकास आयोजना ७० को दशकबाट सुरु भयो । त्यतिखेरसम्म कतारमा ठूला सडक थिएनन् । मुख्य राजधानी दोहामा गन्न सकिने अग्ला भवन भेटिन्थे । सरकारी कार्यालय पनि सानो भवनबाटै चलेका थिए । तेल र ग्यास उत्पादनमा बेलायतबाहेक जापानी कम्पनी आउन थाले । जब तेल र ग्यासबाट कतारको अर्थतन्त्र बलियो बन्दै गयो, तब कतारले ७० को दशकमा पहिलो पटक कतार बनाउने बृहत् गुरुयोजना ल्यायो ।

गुरुयोजना आएपछि निर्माणको कामले गति समात्यो । त्यो गुरुयोजनाअनुसारको दोहा देख्ने र वैदेशिक रोजगारीका लागि कतार पुग्ने पहिलो पुस्ताका नेपाली अझै कतारको सार्वजनिक सेवामा भेटिन्छन् । ८० को दशकबाट शिक्षित कतारी नागरिक र आप्रवासीले सार्वजनिक सेवामा रोजगारी पाउन थाले । सन् १९८६ मा कतार पुगेका तनहुँका करिमबक्स मिया भन्छन्, ‘हामी पुग्दा कतार पूरै मरुभूमि थियो । त्यो उजाड मरुभूमिमा दिउँसै स्यालहरू कराउँथे । सहरमा स–साना झुपडी थिए । नेपालीहरू गनेरै भेट्न पाइन्थ्यो । काठमाडौंको भन्दा सानो विमानस्थल थियो । नेपालबाट सिधै जहाज आएको थिएन । मलाई त कुनै अविकसित गाउँ आएजस्तो अनुभव भएको थियो । विदेश आएजस्तो लागेकै थिएन ।’

कतारसँग १५ बिलियन ब्यारल तेलको भण्डार र विश्वभरको प्राकृतिक ग्यासको १३ प्रतिशत छ । ९० को दशकमा १.५ बिलियन डलरको लगानीमा ग्यास उत्पादनको फेज–वान सम्पन्न भएपछि अर्थतन्त्र कायापलट हुन सुरु भयो । १९९६ मा कतारले जापानमा एलएनजी ग्यास पठाउन थालेपछि थप आर्थिक वृद्धिदर भयो । ९० को दशकबाट निजी र सरकारी कम्पनीले आफ्नो प्रोजेक्ट गर्न पाउने नीति सुरु भएपछि कतारको भौतिक विकासले गति लिन थालेको हो, जसकारण विदेशी कामदार आउने अवस्था डबलै हुन थाल्यो । जब कतारले नयाँ कतार बनाउन ठूला आयोजना योजना ल्याउन थाल्यो, तब अन्तर्राष्ट्रिय निर्माण कम्पनी कतार पस्न थाले । जुन तहको कम्पनी आए पनि ५१ प्रतिशत सेयरहोल्डर कतारी नागरिक नै हुनुपर्ने नियम थियो । यसले कतारी नागरिकलाई लगानीबिनाको मालिक बनाइदियो ।

सन् २००० मा मात्रै ‘लुसेल सिटी र पर्ल कतार’ भन्ने नयाँ सहरमा विदेशीले ९९ वर्षका लागि आफ्नै घर वा अपान्टमेन्ट लिन पाउने गरी ‘फरेन वनरसिप ल’ जारी भयो । लुसेल सिटीको निर्माणकार्य भर्खरै सम्पन्न भएको छ । समुद्र पुरेर बनाइएको पल कतार चरण चरणमा विस्तार भइरहेको छ । कतारले देशभित्र मात्रै लगानी गरेको छैन, उसले कतार इन्भेस्मेन्ट अथोरिटीमार्फत विश्वभरका ठूला कम्पनीमा झन्डै चार सय ५० विलियन डलर लगानी गरिसकेको छ ।

२००५ मा नेपाल र कतारबीच श्रम सम्झौता भएपछि त्यहाँ नेपालीको संख्या बढ्दै गएको हो । ९० को दशकदेखि विश्वकप आयोजना गर्ने समयसम्म आइपुग्दा झन्डै १९ लाख नेपालीले कतारमा काम गरिसकेका छन् । २००८ मा ल्याएको कतारको ३० वर्षे योजना अनुसार नै अहिले उसले विश्वकप गर्दै छ । २०१० मा विश्वकप पाएपछि भने कतार विश्व समुदायले खोज्न थालेको देश बन्यो । कतारसँग फुटबलको इतिहास धेरै पुरानो छैन । ७० को दशकमा मात्रै कतारले फिफासँग आफूलाई जोडेको थियो । विश्वकप आयोजना गर्ने जिम्मेवारी पाएपछि बल्ल त्यहाँ रेल बन्यो । सुविधासम्पन्न हमाद अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आयो । अहिले यो विमानस्थलबाट विश्वको एक सय ६० देशमा कतार एयरवेज उड्छ । वार्षिक ७.८ मिलियन टन सामान भण्डारण गर्न सक्ने हमाद बन्दरगाह २०२० बाट सुरु भयो ।

समृद्ध अर्थतन्त्रले कतार अरब क्षेत्रको शक्तिशाली देशको रूपमा उदाएको छ । कतारी नागरिकको जीवनयापन उच्चस्तरको छ । तर, कतार बनाउने आप्रवासी कामदारलाई आधारभूत मानवअधिकार नदिइएको भन्दै पछिल्लो एक दशक कतारमाथि अन्तर्राष्ट्रिय मानवअधिकार र पश्चिमा मिडियाबाट आलोचना भइरहेको छ । विश्वकै धनी देशमा न्यूनतम तलबदर निकै कम हुँदा आप्रवासी कामदार खुसी छैनन् । ‘कतारले विश्वकप आयोजना गर्ने जिम्मेवारी प्राप्त गरेदेखि नै हामीमाथि अभूतपूर्व प्रहार हुने गरी अभियानको सामना गर्नुपर्‍यो । जुन कुनै पनि आयोजक देशले सामना गरेको छैन । हामीले सुरुमा यस विषयलाई असल नियतले छलफल गर्‍यौं र केही आलोचनालाई सकारात्मक र उपयोगी पनि ठानेका थियौं’, अमीर तमिमले हालै सुरा काउन्सिलसमक्ष भनेका थिए ।

प्रकाशित : मंसिर ३, २०७९ १२:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×