कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर- उपत्यका - कान्तिपुर समाचार

कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत कार्यालय सहयोगी (पाँचौँ तह) होमनाथ खतिवडाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग घूस लिँदै गर्दा अवस्थामा खतिवडा पक्राउ परेका थिए ।

घूसबापतको रकम पाँच हजार रुपैयाँमात्रै भए पनि खानतलासी गर्दा उनको साथमा तीन लाख १८ हजार छ सय रुपैयाँ भेटिएको थियो ।

पक्राउका क्रममा बरामद भएको रकममध्ये दुई लाख ६१ हजार रुपैयाँ स्रोत नखुलेको पाइएपछि सोही बमोजिमको बिगो दाबी गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

यस्तै आयोगले माछापोखरी ठेक्का, शैक्षिक सामग्री हस्तान्तरण, मोटरसाइकल खरिदलगायतका विषयमा अनियमितता गरेको अभियोगमा रुपन्देही ओमसतिया गाउँपालिकाका तत्कालीन अध्यक्षसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष हिरा केवट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, तत्कालीन लेखापाल रविलाल पाण्डेय, कृषि शाखा प्रमुख सुवोधराज भट्टराई, व्यावसायिक माछा ब्लक सञ्चालक समितिका तत्कालीन अध्यक्षा उमेश केवट, सचिव नरेन्द्रप्रसाद चौधरी र सहानी सःमिल सञ्चालक दुर्गावती केवटविरुद्ध २० लाख ७५ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रकाशित : कार्तिक २४, २०७९ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्

रोल्पामा महिलाको शव फेला

काशीराम डाँगी

रोल्पा — रोल्पाको माडीखोलामा एक महिलाको शव फेला परेको छ। बिहीबार दिउँसो सवा ३ बजेतिर पूर्वी रोल्पास्थित सुनीलस्मृति गाउँपालिका-२ लामाचौर छेउको माडी खोलाको मध्यभागमा शव फेला परेको हो ।

प्रहरीका अनुसार पहिचान नखुलेको अवस्थामा करिब ३०/३२ उमेरकी देखिने महिलाको शव खोलामा तैरिएको फेला परेको हो । स्थानीयले प्रहरीमा सूचना दिएपछि सुलिचौर र खुंग्रीबाट प्रहरी परिचालित भएको हो । शवबारे प्रहरीले थप अध्ययन गरिरहेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए । उनका अनुसार घटनाको जानकारी दिन र थप सूचना दिन स्थानीयलाई प्रहरीले आह्नान गरेको छ ।

महिलाको शवलाई पोस्टमार्टम गर्न प्रहरीको सहयोगमा लिवाङ तेउघास्थित रोल्पा अस्पतालमा पठाइएको छ ।

प्रकाशित : कार्तिक २४, २०७९ १७:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×