१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा मेयर बालेन

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ज्ञानेश्वरस्थित सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको अवलोकन गरेका छन् । बुधबार बिहानै केन्द्रमा पुगेका मेयर शाहले केन्द्रको व्यवस्थापन, सेवासुविधा र प्रभावकारिताका विषयमा चासो राखेका थिए ।

सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा मेयर बालेन

सो स्वास्थ्य प्रवर्द्धन केन्द्र पूर्वस्वास्थ्यमन्त्री गगन थापाको अगुवाईमा सञ्चालित छ भने थापाले नेपालमा अहिलेसम्म वडास्तरमा यस्तो प्रकृतिको सेवा प्रदान गर्ने स्वास्थ्य केन्द्र कही पनि नभएको दाबी गर्दै आएका छन् । मेयर शाहले केन्द्रको अवलोकन गरेपछि अब काठमाडौं महानगरपालिकाले बाँकी सबै वडामा त्यही प्रकृतिको सेवा विस्तार गर्ने बताएका छन् ।

‘काठमाडौं महानगरपालिका पनि नागरिकलाई राम्रो स्वास्थ्य सेवा मिलोस् भन्ने चाहन्छ । यहाँ जुन ढंगको व्यवस्थापन छ, यो राम्रो छ,’ भ्रमणपछि मेयर शाहले भनेका छन्, ‘महानगरपालिकाले यसलाई रिफरेन्सको रुपमा लिएर अन्य वडाहरूमा काम गर्छ ।’ उनले वडास्तरमा सञ्चालित सरकारी स्वास्थ्य संस्थासमेत सफा र सुविधायुक्त बन्न सक्छन् भन्ने उदाहरणको रुपमा पाएको बताए ।

केन्द्रमा विज्ञ चिकित्सकबाट ल्याब परीक्षण, उपचार र परामर्श सेवा उपलब्ध छ भने टोलमै पुगेर स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्य मेला सञ्चालन गर्ने, शिविरमार्फत सेवा दिने गर्दछ । केन्द्रले वडाभरिका बासिन्दाको स्वास्थ्य प्रोफाइल तयार गरिरहेको थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए । उनका अनुसार केन्द्रले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नुभन्दा पहिल्यै रोग लाग्न नदिनु उपयुक्त हुन्छ भन्ने हिसाबले काम गरिरहेको छ ।

कोभिडको बेला समेत राम्रो सेवा दिएको केन्द्रले डेंगी महामारी फैलिएकोमा घरमै गएर निःशुल्क परीक्षण सेवा प्रदान गर्दै आएको छ । नेपाली कांग्रेसको महामन्त्री रहेका थापाले स्वास्थ्यमन्त्री हुँदा सो केन्द्रको अवधारणा अघि सारेका थिए । थापाले आफूले श्रीलंकामा त्यहाँका स्वास्थ्यमन्त्रीले नसर्ने रोगको प्रकोप नियन्त्रण गर्न अपनाएको संरचना अवलोकन गरेपछि त्यहीबाट प्रभावित भएर नेपालमा पनि एक वडा, एक स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापनाको अवधारणा अघि सारेको बताउँदै आएका छन् ।

‘आधारभूत स्वास्थ्य सेवा स्थानीय तहको अधिकार क्षेत्रको कुरा हो । त्यसले सरकारले मोटो लगानी नै गर्दै आएको छ,’ पौडेलले भने, ‘यदि सरकारले वडैपिच्छे यही सुविधासहितका स्वास्थ्य केन्द्र स्थापना गर्ने हो भने कसैले पनि रोगी जीवन बाँच्नुपर्दैन ।’

केन्द्रमा हाल १४ जना कर्मचारी छन् भने वार्षिक करिब एक करोड रुपैयाँ खर्च हुँदै आएको छ । केन्द्रका लागि सरकारले निःशुल्क वितरण गर्ने औषधि महानगरपालिकाले उपलब्ध गराउँदै आएको छ भने त्यसबाहेक सबै सेवा सुविधाका लागि पूर्वस्वास्थ्यमन्त्री एवम् निवर्तमान सांसद थापाले नै व्यवस्थापन गर्दै आएका छन् ।

प्रकाशित : कार्तिक २३, २०७९ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?