‘धेरैलाई जिताइसक्यौं, कसैले हेरेन’- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘धेरैलाई जिताइसक्यौं, कसैले हेरेन’

हरेक पटक परिवर्तनको आस गर्दै भोट दिने गरे पनि जितेर गएकाहरुले न्यून आय भएकाहरुबारे नसोचेको सर्वसाधारणको गुनासो
लिला श्रेष्ठ

काठमाडौँ — उमेर र शरीरमा शक्ति छउन्जेल भारीको वजन धेरै–थोरै भनेनन् । ढुंगा, इँटा, गिट्टी, बालुवा बोक्न काठमाडौं उपत्यकाका धेरै ठाउँ पुगे । यही बीचमा २ सन्तान पनि हुर्काए । मजदुरी गरेर जसोतसो हुर्काए पनि उनीहरूलाई पढाउन भने सकेनन् । नुवाकोट लिखुकी सावित्री थापा मगरले मजदुरी छाडेको ३ वर्ष मात्रै भयो । तर, अहिले पनि गुजाराका लागि उनीहरूका दुवै सन्तान ज्यामी काम गर्छन् ।

‘कोरोना महामारी फैलियो । लकडाउन गरियो । हाम्रो रोजीरोटी गुम्यो । उमेरले काम गर्न पनि नसक्ने भइयो,’ ६४ वर्षीया सावित्रीले भनिन्, ‘अहिले भक्तपुरको गठ्ठाघर चोकमा साग र तरकारी बेचेर गुजारा चलिरहेको छ ।’ उनी तरकारी र साग लिन हरेक बिहान किसानको खेतबारीमै पुग्छिन् । डोकोभरि तरकारी बेचेर दिनमा ३/४ सय रुपैयाँ मात्रै कमाइ हुन्छ । तर, यही काम पनि निर्धक्कसँग गर्न नपाएको उनले गुनासो गरिन् । ‘आयस्रोत केही छैन । साग बेच्न बस्दा घरीघरी नगर प्रहरी आएर लखेट्छ । लुकीलुकी व्यापार गर्नु परिरहेको छ,’ उनले भनिन्, ‘साँझ–बिहानको कमाइले हातमुख जोड्नेहरूका लागि पालिकाले केही उपाय गरिदिए हुन्थ्यो ।’

चुनाव नजिकिँदै गर्दा अनेक आश्वासन दिने जनप्रतिनिधिले सधैं सास्ती मात्र दिएको बताउने उनी आसन्न निर्वाचनलाई लिएर पनि उत्साहित छैनन् । ‘अहिलेसम्म गरिबलाई बुझ्ने कोही आएनन्, अब आउने पनि उस्तै त होलान्,’ उनी भन्छिन्, ‘भोट हाल्ने इच्छै छैन ।’

सावित्रीका श्रीमान् अर्जुन ६६ वर्षका भए । उनी अझै पनि गठ्ठाघर चोक वरपर भारी कुरिरहेका भेटिन्छन् । महँगीले सर्वसाधारणको ढाड सेक्दासमेत नेताहरूले बजार अनुगमन तथा नियमनको प्रयाससमेत नगरेको उनको गुनासो छ । ‘निम्न आय भएकाहरूको पक्षमा कुनै पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधिले आवाज उठाएको छैन,’ उनले भने, ‘आफ्नो पार्टी, नातागोता र आफूलाई फाइदा हुने निर्णय गरेर गरिबलाई झन् गरिबीतिर धकेल्ने काम नेताले गर्दै आएका छन् ।’

गरिबको पक्षमा आवाजसमेत उठाउन नचाहने नेतालाई अब मत नदिने उनले अठोट लिएका छन् । ‘पटक–पटक मत दियौं, धेरैलाई जितायौं तर उनीहरू कसैले मन जित्ने काम गरेनन्,’ उनले भने, ‘हामीलाई गरी खान त दिएनन्, बरु लखेटेको लखेटै भने छन् ।’

मुलुकभर निर्वाचनको चहलपहल बढ्दा सर्वसाधारणमा भने खासै उत्साह देखिँदैन । हरेक पटक आशावादी हुँदै भोट दिए पनि जितेर गएकाहरूले जनताको भलो नसोचेको आम सर्वसाधरणको बुझाइ छ । त्यसैमध्येमा पर्छिन् सिन्धुपाल्चोक चौताराकी जानुका गिरी । उनले गठ्ठाघरमै ठेलामा तरकारी बेच्न थालेको डेढ दशक भयो । श्रीमान् बस चलाउँछन् । दुवैको कमाइले छोरा–छोरीको लालनपालन, पढाइदेखि घर खर्च धानेका छन् ।

अहिले मध्यपुर थिमि नगरपालिकाले अभियानकै रुपमा सडकपेटी खाली गर्ने, अनधिकृत संरचना हटाउनेलगायत काम गरिरहेको छ । पालिकाले विकल्पबिनै साना व्यवसायीलाई हटाएर सर्वसाधारणको रोजिरोटी खोसेको उनको भनाइ छ । बिहान–साँझ साग बेचेरै भए पनि जीविकोपार्जन गर्ने बाटो दिनुपर्ने उनको माग छ । ‘यसअघि पटक–पटक भोट हालेकै हो । गरिबलाई जहिल्यै उस्तै त हो, गरी खान पाए हुन्थ्यो,’ उनले भनिन्, ‘चुनाव, राजनीति, दलप्रति चासो छैन र आशा पनि छैन ।’

सावित्री, जानुका मात्र होइन्, साना व्यापारी, व्यवसायीमा दल र तिनका उम्मेदवारप्रति वितृष्णा बढ्दै गएको छ । निर्वाचित जनप्रतिनिधिले मतदाताको भावना अनुरुप काम गर्न नसक्नु, आफ्ना नातागोता र पार्टीप्रति आस्थाको आधारमा व्यवहार गर्नु, परिवर्तनको अनुभूति गराउन नसक्नुले निर्वाचनप्रति नै उत्साह घटेको समाजशास्त्रीहरू बताउँछन् । ‘निर्वाचनपछि भिजन भएको नेतृत्व पाउँछौं भन्ने आशा र भरोसा नभएकाले पनि अहिले निर्वाचनलाई जनताले खुशी र महत्वका साथ लिएको पाइँदैन,’ समाजशास्त्री सुरेन्द्र कोइरालाले भने, ‘घट्दो आर्थिकस्तर, लगातारको मूल्य वृद्धि र बेरोजगारीका कारण पछिल्लो समय दल र सरकारप्रति जनतामा वितृष्णा छाएको छ ।

प्रकाशित : कार्तिक ५, २०७९ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्

भक्तपुरमा विरासत जोगाउन कसरत

२०२१/२२ सालदेखि भर्पाइ आन्दोलन, बाली काट्ने आन्दोलन, मोहीयानी हक सुरक्षा आन्दोलनको नेतृत्व गर्दै शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षणलगायतमा मुख्य भूमिका खेल्दै आएका बिजुक्छेंले नेतृत्व गरेको नेमकिपाबाट प्रभावित स्थानीयले अझै पनि नेमकिपालाई रुचाउँदै आएका छन् ।
लिला श्रेष्ठ

भक्तपुर — तीन दशकयता प्रमुख दलले हस्तक्षेप गर्न नसकेको भक्तपुरको निर्वाचन क्षेत्र नं. १ नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को ‘आधार क्षेत्र’ का रूपमा चिन्निछ । आसन्न निर्वाचनमा नेककिपाले फेरि पार्टी सचिव प्रेम सुवाललाई नै उम्मेदवार बनाएको छ ।उनी २०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

यसबाहेक सत्ता गठबन्धनबाट सुनिल गोठे र एमालेबाट पूर्वजिल्ला समन्वय समिति संयोजक नवराज गेलाल उम्मेदवार छन् । तर, नेमकिपालाई सिधा टक्कर दिन सत्ता र एमाले गठबन्धनसामु चुनौती देखिएको छ । तीन दशकयताका निर्वाचन परिणामले पनि त्यही पुष्टि गर्छ ।

प्रजातन्त्र पुनःस्थापनापछि २०४८, २०५१, २०५६, २०६४ र २०७० सालमा भएका निर्वाचनमा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले एकलौटी जिते । २०७४ सालमा नेमकिपाले सुवाललाई अघि सारेको हो । उक्त निर्वाचनमा सुवालले झण्डै दोब्बर मतले कांग्रेसका बाबुबाजा जोशीलाई पराजित गरेका थिए । सुवालले ३३ हजार ७६ मत प्राप्त गर्दा जोशीले १७ हजार ८ सय १८ मात्रै मत ल्याएका थिए । वाम गठबन्धनका मिलन सुवालले १५ हजार ३ सय ७४ मत पाएका थिए ।

२०२१/२२ सालदेखि भर्पाइ आन्दोलन, बाली काट्ने आन्दोलन, मोहीयानी हक सुरक्षा आन्दोलनको नेतृत्व गर्दै शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षणलगायतमा मुख्य भूमिका खेल्दै आएका बिजुक्छेंले नेतृत्व गरेको नेमकिपाबाट प्रभावित स्थानीयले अझै पनि नेमकिपालाई रुचाउँदै आएका छन् । नेमकिपाले सरकारको प्रतिपक्षको रूपमा रहँदै भ्रष्टाचार, अनियमितता, महँगीलगायतमा आवाज उठाउँदै आएको छ । यसकारण प्रदेशसभातर्फ पनि क्षेत्र–१ (२) मा पनि नेमकिपाकै प्रभाव देखिन्छ ।

नेमकिपाले भक्तपुर–१ (२) मा पुनः सुरेन्द्रराज गोसाईंलाई उम्मेदवार बनाएको छ । २०७४ सालमा गोसाईं २३ हजार ८ सय ८५ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार रोमन शिलाकारले ८ हजार ६३ र कांग्रेसका अनिल भुजुले ५ हजार २ सय ४३ मत मात्र प्राप्त गरेका थिए । यसपल्ट यो क्षेत्रमा कांग्रेसले पवन भुजुलाई अघि सारेको छ भने एमालेको तर्फबाट नारायणसुन्दर सिन्ताकलको उम्मेदवारी परेको छ ।

क्षेत्र–१ (१) मा भने नेमकिपाको अवस्था कमजोर देखिन्छ । यहाँ उसले नेपाल क्रान्तिकारी युवा संघका केन्द्रीय अध्यक्ष मीनबहादुर बाटालाई उम्मेदवार बनाएको छ । यसबाहेक सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका सुरेश श्रेष्ठ, एमालेबाट मोहनवीर श्रेष्ठलगायत १८ जनाको उम्मेदवारी परेको छ । यो क्षेत्रबाट २०७४ सालमा एमालेका हरिशरण लामिछाने १२ हजार ७ सय ८९ मतसहित विजयी भएका थिए । त्यसबेला कांग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७७ मत ल्याउँदा नेमकिपा तेस्रो स्थानमा रहेको थियो । नेमकिपाका निरज लवजुले ७ हजार १९ मत प्राप्त गरेका थिए । तर, लमिछानेको मृत्युपछि भएको उपनिर्वाचनमा भने कांग्रेसका कृष्णलाल भँडेलले जितेका थिए ।

‘२०४८ सालयता भक्तपुर–१ मा कहिल्यै हार्नु परेको छैन, अन्य दलले जित्ने कल्पनासमेत गर्दैनन्,’ नेमकिपा भक्तपुर अध्यक्षसमेत रहेका गोसाईंले भने, ‘हारजितभन्दा पनि जनताको अझ बढी सेवामा निःस्वार्थपूर्वक सेवा गर्ने अवसरका लागि नेमकिपाको उम्मेदवारी हो । भक्तपुर जनताको किल्ला हो ।’ अन्य दलहरूले नेमकिपालाई कमजोर सोचे पनि अझ बलियो र जनताको पार्टीको रुपमा परिचित रहेको दाबी गर्छन् पार्टीका केन्द्रीय सचिव सुवाल । ‘नेमकिपा अपवित्र गठबन्धनको विरोधीसमेत हो,’ उनले भने, ‘जतनालाई शिक्षित र सचेत बनाउन प्रभावकारी भूमिका खेल्दै आएका छौं ।’

क्षेत्र–२ मा गठबन्धन–एमाले प्रतिस्पर्धा

भक्तपुर–२ मा एमालेका महेश बस्नेत र सत्ता गठबन्धनका तर्फबाट कांग्रेस जिल्ला सभापति दुर्लभ थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । तत्कालीन एमालेको युवा संगठन युवा संघ नेपालबाट केन्द्रीय राजनीतिमा चर्चा कमाएका बस्नेतले २०७४ सालमा वाम गठबन्धनको समर्थन र कांग्रेसबाट भएको कमजोर उम्मेदवारीको लाभ उठाएर दोब्बर मतले विजयी भएका थिए ।

उक्त निर्वाचनमा बस्नेतले ३६ हजार ४ सय १२ मत, कांग्रेसका दमननाथ ढुंगानाले १८ हजार ६ सय ८७ मत र नेमकिपाकी अनुराधा थापा मगरले ५ हजार ४ सय ७१ मत प्राप्त गरेका थिए । ‘टुरिस्ट’ उम्मेदवारको रूपमा कांग्रेसले ढुंगानालाई उभ्याएपछि रुष्ट स्थानीय कार्यकर्ताले बस्नेतलाई जिताएको यस क्षेत्रका मतदाता नै बताउँछन् । यसअघि, एमाले अध्यक्ष केपी शर्मा ओलीको पहलमा सुशील कोइराला सरकारका पालामा उद्योगमन्त्री बनाइएपछि यस क्षेत्रमा बस्नेतको छवि विस्तार हुन थालेको मानिन्छ ।

यो क्षेत्रमा २०४८ सालमा कांग्रेसका जगन्नाथ आचार्य, २०५१ मा नेमकिपाका आशाकाजी बासुकला, २०५६ मा कांग्रेसककै लेखनाथ न्यौपाने विजयी भएका थिए । संविधानसभाका २०६४ र २०७० मा भएका दुई निर्वाचनमा क्रमशः नेमकिपाका सुनील प्रजापति र कांग्रेसका रामेश्वर ढुंगेल विजयी भएका थिए ।

भक्तपुरमा विकास निर्माणमा सक्रिय राजनीतिज्ञका रूपमा परिचय बने पनि बस्नेतलाई यसपल्ट गठबन्धन उम्मेदवार थापाले चुनौती दिने देखिन्छ । कांग्रेस उम्मेदवार थापालाई माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को साथ छ । थापा संविधानको रक्षा र यस क्षेत्रको समृद्धिका लागि आफू जितको बाटोमा अग्रसर भएको दाबी गर्छन् । बस्नेत भने थप विकास निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको बताउँछन् ।

यस क्षेत्रमा सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिका पर्छन् । गत स्थानीय निर्वाचनमा सूर्यविनायकमा एमालेले प्रमुख, उपप्रमुखसहित वडा–१, ५, ७, ८ र १० मा जितेको थियो भने कांग्रेसले २, ३, ४, ६ र ९ नम्बर वडामा जित हात पारेको थियो । मध्यपुर थिमिमा सत्ता गठबन्धनबाट कांग्रेसले प्रमुख र माओवादीले उपप्रमुख आफ्नो पोल्टामा पारेको थियो । वडा–१, २, ३, ५, ६ र ९ कांग्रेसले जित्दा ४ र ७ मा मात्रै एमाले विजयी भएको थियो । वडा–८ मा नेमकिपाले जितेको थियो । उक्त निर्वाचनको मत परिणाम हेर्दा यो क्षेत्रमा एमाले कमजोर देखिएको छ । तर, मुख्य प्रतिस्पर्धा भने सत्ता गठबन्धन र एमालेकै बीचमा हुनेछ ।

प्रजातन्त्र पुनःस्थापनापछि यो क्षेत्रमा दुईपल्ट जित हासिल गरेको नेमकिपाले यसपालि जितकै लागि सिद्धान्तहीन एकता नगर्ने भन्दै २०७४ को निर्वाचनमा पराजित अनुराधा थापा मगरलाई नै पुनः उम्मेदवार बनाएको छ । तर, नेमकिपाकोप्रभाव कमजोर देखिन्छ । गत स्थानीय निर्वाचनकै मत परिणामले पनि यसलाई बल दिन्छ । यसबाहेक राप्रपाबाट मोहन केसी पनि चुनावी मैदानमा छन् । यो क्षेत्रमा कुल २६ जनाकोउम्मेदवारी परेको छ ।

प्रदेशसभातर्फ क्षेत्र–२ (१) मा एमालेले किरण थापा मगरलाई उम्मेदवार बनाएको छ भने गठबन्धनबाट कांग्रेसका विष्णुराज कार्कीको उम्मेदवारी परेको छ । मगर सूर्यविनायक–८ का पूर्ववडाध्यक्ष हुन् । कार्की २०७४ को स्थानीय निर्वाचनमा सूर्यविनायक प्रमुखमा पराजित भएका थिए । नेमकिपाले २०७४ को निर्वाचनमा पराजित सरोजराज गोसाईंलाई नै पुनः उम्मेदवार बनाएको छ । यसअघि यो क्षेत्रमा एमालेका शशीजंग थापाविजयी भएका थिए । आसन्न निर्वाचनमा यस क्षेत्रमा १३ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी, भक्तपुर–२ (२) मा एमालेले सूर्यविनायकका पूर्वउपप्रमुख चन्दनकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । गठबन्धनको भागबन्डामा यो क्षेत्र एकीकृत समाजवादीको पोल्टामा परेको छ । उसले राजेन्द्रमान श्रेष्ठलाई अघि सारेको छ । श्रेष्ठ २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट विजयी प्रदेशसभा सदस्य हुन् । नेमकिपाले रमेश वैद्यलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित : आश्विन ३१, २०७९ १२:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×