बजारमा स्वस्थ र निरोगी खसी-बोका बिक्री भइरहेको छ : अनुगमन टोली

काठमाडौँ — काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले स्वस्थ र निरोगी खसीबोका बिक्री भइरहेको जनाएको छ । दसैंका लागि काठमाडौंको बालाजु बाइपासमा अनुगमन गर्ने क्रममा टोलीले बजारमा रोगी खसी-बाख्रा नभेटिकएको जनाएको हो ।

महानगरको खाद्य नियमन तथा पशुपन्छी महाशाखाका पशु विकास अधिकृत डम्बर बमले भने, 'बजारमा रोगी खसी-बाख्रा भेटिएका छैनन् । निरोगी खसीबोकाका सिङमा हरियो रङ लगाएर खानयोग्य भन्ने संकेत गरिएको छ । यिनीहरूको बाह्य अवस्था परीक्षणबाट चिह्न लगाइएको हो ।'
खसी बेच्ने व्यापारीहरूले तौलको अनुमानको आधारमा बेच्ने गरेका छन् । बालाजु बाइपास क्षेत्रमा नुवाकोट, सिन्धुली, गोरखा, बारालगायत जिल्लाबाट खसीबोका ल्याउने गरेको पाइएको बमले जनाए ।
पशु स्वास्थ्य विभागका अनुसार आइतबार यस नाकाबाट २ सय ३ वटा बोका, ४ सय २३ वटा खसी, ५१ वटा राँगा, ५ सय २२ वटा कुखुरा र ४ वटा बाख्रा भित्रिएका थिए ।
कलंकी खसी बजार व्यवस्थापनका लागि महानगरले पत्राचार गरेपछि यस वर्ष त्यस क्षेत्रबाट बिक्री गरिएका खसीबोकाको महानगरले परीक्षण नगरेको अनुगमन टोलीले जनाएको छ । महानगरले दसैंको बेला पनि अनुगमनलाई निरन्तरता दिने भएको छ ।
प्रकाशित : आश्विन १७, २०७९ १३:५३