कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भण्डारीको ‘नेसनल सेक्युरिटी एन्ड द स्टेट’ सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — अवकाशप्राप्त सहायक रथी केशरबहादुर भण्डारीको ‘नेसनल सेक्युरिटी एन्ड द स्टेट : अ फोकस अन नेपाल’नामक पुस्तक सार्वजनिक भएको छ । नेपालय पब्लिकेसनले प्रकाशन गरेको उक्त पुस्तकको बिहीबार गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले विमोचन गरे ।

भण्डारीको ‘नेसनल सेक्युरिटी एन्ड द स्टेट’ सार्वजनिक

पुस्तकमाथि टिप्पणी गर्दै अवकाशप्राप्त रथी बालानन्द शर्माले नेपालको राष्ट्रिय सुरक्षा परिषद्को स्थापना कालदेखि नै त्यहाँ बसेर काम गरिसकेको हुनाले भण्डारीले राष्ट्रिय सुरक्षाका विषयमा धेरै अनुभव लिएको बताए ।

शर्माले त्यसबेला (२०५९ साल) परिषद्ले राष्ट्रिय सुरक्षा नीतिको मस्यौदा तयार गर्ने बेलामा भण्डारीले प्रमुख भूमिका निर्वाह गरेको पनि बताए । उनले राष्ट्रिय स्वार्थ र हीत कसरी जोगाउने र प्रवद्र्धन गर्ने भन्नेबारे जिज्ञासा राख्ने हरेक नागरिकहरूलाई यो पुस्तक लाभकारी हुने बताए ।

पुस्तकबारे सञ्चारकर्मी भूषण दाहालसँग संवाद गर्दै लेखक भण्डारीले राष्ट्र (नेसन्स) र राज्य (स्टेट) बीचको फरक र यसबाट आउनसक्ने द्वन्द्व तथा त्यसले राष्ट्रिय सुरक्षामा पार्ने असरबारे बताए ।

‘हाम्रो राज्य राष्ट्र हो । राष्ट्र राज्यमा द्वन्द्व हुँदैन । त्यहाँ आन्तरिक द्वन्द्व हुँदैन । किनकि त्यहाँ सांस्कृतिक समस्या हुँदैन । तर राज्य राष्ट्रमा विभिन्न जातजाति तथा संस्कृति भएपछि द्वन्द्व हुन्छ,’ उनले भने,‘नेपाल राज्य राष्ट्र भएकोले यहाँ जातजाति नमिलेमा द्वन्द्व हुन्छ । त्यसले राष्ट्रिय सुरक्षामा असर पार्छ ।’

भण्डारीले नेपालको राष्ट्रिय सुरक्षा नीति जनताको लागि खुला हुनुपर्ने पनि बताए । उनले भने, ‘नेपालको राष्ट्रिय सुरक्षाको १५ देखि २० प्रतिशतसम्म मात्र सेना र प्रहरी अन्तर्गत रहने र त्यसपछि बाँकी अन्तर्राष्ट्रिय सहयोग तथा जनतालाई नै प्रयोग गर्ने हो ।’ केही भागलाई राखेर ७० देखि ८० प्रतिशत राष्ट्रिय सुरक्षा नीतिका कुराहरू जनतामा ल्याउनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित : आश्विन १३, २०७९ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?