बढी भाडा असुल्ने ४२ पक्राउ

काठमाडौँ — काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चाडपर्वको समयमा यात्रुहरूबाट तोकिएकोभन्दा बढी भाडा लिने ४२ जनालाई पक्राउ गरेको छ ।
बुधबार यात्रुबाट बढी भाडा असुल्ने कोटेश्वरबाट ८, बल्खुबाट १२, नयाँ बसपार्कबाट ८, माछापोखरीबाट ६ र कलंकीबाट ८ गरी ४२ जनालाई पक्राउ गरिएको ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए ।
उनका अनुसार सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले यात्रुलाई तोकिएकोभन्दा बढी भाडा लिने, अनावश्यक हैरानी दिने, टिकटमा तोकिएको सिट नदिनेजस्ता गतिविधि गर्नेलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूलाई कारबाहीका लागि प्रहरी प्रभाग कोटेश्वर, प्रहरी वृत्त कालीमाटी र प्रहरी प्रभाग गोंगबु पठाइएको छ ।
