बजार अनुगमनमा महानगरको टोली

काठमाडौँ — काठमाडौं महानगरपालिकाको बजार अनुगमनका क्रममा संगम स्वीट्सको भान्सामा अखाद्य तेल भेटिएको छ । महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं उपप्रमुख सुनिता डंगोल नेतृत्वको अनुगमन टोलीले कालीमाटी क्षेत्रका खाद्य पसलहरू अनुगमन गर्ने क्रममा संगम स्वीट्सको भान्सामा अखाद्य तेल भेटिएको महानगरले जनाएको छ ।

मिठाइ बनाउँदै गरिएको तेल अखाद्य भेटिएकोले त्यसलाई नष्ट गरिएको थियो । यस्तै, डीएण्डडी खाद्य सप्लायर्सबाट पनि अखाद्य सामग्रीहरू अनुगमन टोलीले बरामद गरेको छ ।
सप्लायर्सबाट ७७ बोरा/प्याकेट र अमन खाद्य किराना पसलबाट ४ बोरा / प्याकेट अखाद्य वस्तु बरामद गरेको थियो । सप्लायर्सलाई एप्पल ब्राण्डका १० बोरा चामल बिक्री गर्न रोक लगाइएको उपमेयर डंगोलको सचिवालयले जनाएको छ ।
सप्लायर्सबाट बरामद गरिएका खाद्य सामग्रीहरूमा १० केजीका ६ बोरा र ५ केजीको १ बोरा मस्यौरा, २५ किलो तौलका ४९ बोरा र ६ बोरा लङ्ग्रेन चामल छन् । त्यस्तै १२ लिटरको एक कार्टुनमा प्याक गरिएका ९ कार्टुन तेल, २५ किलो तौल भएका २ बोरा चना, ५ कार्टुन साबुन बरामद गरिएको हो ।
अनुगमनमा खाद्य र मिठाइ गरेर सातवटा पसल हेरिएको थियो । उपप्रमुख डंगोलले भनिन्, ‘कतै थाहा नभएर त कतै लापर्वाही गरेर व्यापार गरेको देखियो । व्यापारी र उपभोक्ता दुवैलाई स्वच्छ बजार सम्बन्धी आधारभूत कानुनी ज्ञानको आवश्यकता देखियो ।’
स्वच्छ बजार निर्माणका लागि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र गर्नुपर्ने दायित्व र निकायगत समन्वयलाई प्राथमिकता दिएर काम गर्ने उनले बताइन् ।
स्थानीय वस्तु तथा सेवा र स्वच्छ बजारका लागि काठमाडौं महानगरपालिकाले ‘काठमाडौ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७’ राजपत्रमा जारी गरिसकेको छ । ऐनबमोजिम महानगर आफैंले निरीक्षण अधिकृत तोकेर अनुगमनका माध्यमबाट अनुचित व्यापारिक क्रियाकलाप रोक्न सक्छ ।
अनुगमनमा महानगरको अनुगमन तथा मूल्याङ्कन एकाइ, स्वास्थ्य विभाग, पशु स्वास्थ्य महाशाखा, नगर प्रहरी बलका अधिकारीहरूको सहभागिता थियो ।
आफू ठगिएको शंका लागे महानगरलाई नि:शुल्क टोल फ्रि नम्बरमा पनि सम्पर्क गर्न आग्रह गरेको छ । महानगरले १६६००१ ०५५११ र ११८० गरेर टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ ।
प्रकाशित : आश्विन १२, २०७९ २१:५५