योगमा रम्दै महानगरवासी



काठमाडौँ — ललितपुर महानगरपालिका–१६ का ४४ वर्षीय रवीन्द्र महर्जन तीन महिनादेखि पाटनमा सञ्चालित योग केन्द्रमा धाइरहेका छन् । यसअघि उनीले योग सिकेका थिएनन् । हातखुट्टा झम्झमाउने, ग्यास्ट्राइटिस बढ्ने, छाती दुख्ने समस्या भएपछि उनी योग सिक्न चाहन्थे । तर, समय अभावका कारण टाढा जान नसक्ने भएकाले के गर्ने भन्ने विषयमा अन्योलमा थिए उनी ।


ललितपुर महानगरपालिका–१६ ले योग केन्द्र सञ्चालनमा ल्याएपछि उनी त्यहाँ निरन्तर सहभागी छन् । भन्छन्, ‘योगले तन र मन फूर्तिलो भएको छ; विचार स्वच्छ भएको छ । योगका कारण आज नयाँ जीवन पाएको महसुस भएको छ ।’
मंगलबजारका ५८ वर्षीय हरिप्रसाद श्रेष्ठले पनि योग केन्द्र सञ्चालनमा आएदेखि योग गर्नका लागि नियमित गइरहेका छन् । वडाको सूचनामार्फत थाहा पाएर सहभागी भएको बताउने उनले पनि योग सिकेको यो पहिलो पटक हो । उनले भने, ‘उमेर ढल्किँदै गयो । योगले बुढेसकालमा पनि जवान झैं स्वस्थ, स्फूर्त र मांशपेशीलाई बलियो बनाउँदो रैछ ।’
उनले रोगी भएर अस्पताल धाउनुभन्दा योगमार्फत निरोगी हुनु उत्तम भएको बताए । ‘तर, योग गर्न खुला ठाउँको अभावका कारण गर्न सकिरहेको थिइनँ,’ उनले भने, ‘योगले तनाव भगाएको छ; मीठो निद्रा र भोक जगाउने काम गरेको छ ।’
टापाहिटी टोलका ५२ वर्षीया शोभा जोशी योग गर्नकै लागि कहिले ललितपुर महानगरपालिका–२ स्थित मल पोखरी त कहिले पशुपति क्षेत्रसम्म पुग्ने गर्थिन् । ‘कहिले बाटो, कहिले टोल चोकतिर योगाभ्यास गर्न बाध्य थिएँ,’ उनले भनिन्, ‘वडाले योगशाला सञ्चालनमा ल्याएपछि सहज भएको छ ।’
अहिले ललितपुर महानगरपालिका–१६ द्वारा सञ्चालित योग केन्द्रमा ७० जनाले सदस्यता लिएका छन् । उनीहरू प्रत्येक दिन बिहान ५ देखि ७ बजेसम्म योग साधनामा भाग लिँदै आइरहेका छन् । वडाले योग सिकाउन दानशोभा शाक्य, उषा बज्रचार्य, रमिता बज्रचार्य, भोला डंगोल, दिनेश शर्मा, विक्रम शाक्य गरी ६ जना सह–शिक्षकको व्यवस्थापन गरेको छ । उनीहरूले पालैपालो योग प्रशिक्षण दिने गरेका छन् । सह-शिक्षक रमिता भन्छिन्, ‘योगले औषधि विज्ञानले निको पार्न नसकेका रोगहरू निको पार्न सकिन्छ । औषधि सेवनले केही हदसम्म निको होला तर खान छोडेमा रोग पुनः बल्झिन सक्छ । तर, योगबाट निको भएको रोग फेरि बल्झिँदैन ।’
ललितपुर महानगरपालिका–१६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले स्वस्थ र सकारात्मक जीवन बाच्नका लागि योग आवश्यक रहेको बताए । ‘एक हजार रुपैयाँ तिरेर आजीवन सदस्यता लिएपछि वडाबाट दिइने अन्य स्वास्थ्य सुविधा पनि पाउन सकिन्छ,’ उनले भने, ‘दसैंलगतै फिजियोथेरापी केन्द्र सञ्चालन गर्ने योजना छ ।’
प्रकाशित : आश्विन ११, २०७९ १९:४५