काठमाडौंमा बजार अनुगमन सुरू, तरकारी पसल दर्ता गर्न महानगरको आग्रह- उपत्यका - कान्तिपुर समाचार

काठमाडौंमा बजार अनुगमन सुरू, तरकारी पसल दर्ता गर्न महानगरको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले दसैं लक्षित बजार अनुगमन सुरु गरेको छ । मंगलबार बिहानदेखि महानगरको ३ वटा टोलीले बजार अनुगमन सुरू गरेको हो ।

उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा नगर प्रहरी, खाद्य तथा गुण नियन्त्रण विभागका प्रतिनिधि, भेटेरिनरी टोलीसहित अन्य सरकारी निकायका प्रतिनिधिहरु टोलीमा छन् ।

उपमेयर डंगोलको टोलीले प्रदर्शनीमार्गको तरकारी बजार, खसी बजारसहित खाद्य संस्थानमा अनुगमन गरेको थियो । अनगुमनको क्रममा तरकारी पसलहरू दर्ता बिना नै सञ्चालन गरिएको पाइएको उपप्रमुख डंगोले जानकारी दिइन् । डंगोलले तरकारी पसलहरुलाई महानगरमा दर्ता गर्नका लागि आग्रह गरिएको बताइन् । उनले कान्तिपुरसित भनिन्,'हामीले अनुगमन गर्दा धेरै तरकारी पसलहरुलाई दर्ता गर्नुपर्छ भन्ने जानकारी नै रहनेछ । हामीले एक पटकका लागि भनेर कसैलाई कारबाही गरेनौं, उहाँहरुलाई दर्ता गर्नु भनेर भनेका छौं । '

महानगरको टोलीले दोस्रोपटक सोही ठाउँमा अनुगमनका लागि पनि जाने उनले जानकारी दिइन् । बजार अनुगमनको क्रममा टोलीले मूल्य, दर्ता, प्याकेज मितिलगायतको विवरण हेरेको थियो । खसी बजार क्षेत्रमा अनुगमनको क्रममा भेटेरिनरी प्राविधिकहरुको पनि उपस्थिति थियो ।

महानगरको अर्को टोली चाबहिल र कलंकी क्षेत्रमा पनि अनुगमान गरिरहेको डंगोलले जानकारी दिइन् । बजार अनुगमान दसैं‌तिहार भर नै चल्ने महानगरले जनाएको छ ।

प्रकाशित : आश्विन ११, २०७९ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्

‘पढाइ र रोजगारीका लागि विदेश जाने विषयलाई ग्ल्यामराइज गरिएको छ, यसमा नभुलिऔं’

श्रुति शर्मा

महिलाको हकमा हामीकहाँ कुनै पनि कार्यक्रम वा नीतिनियम बनाउँदा दोस्रो दर्जा नागरिकका रूपमा व्यवहार गरिन्छ । सबैथोक तय भइसकेपछि अन्तिममा महिलाका लागि पनि नीति बनाइदिऊँ भनेर बनाइन्छन् । यो गलत हो । सहुलियत कर्जा लगायत छन् ।

तर, यसमा पनि पूर्वाग्रह देखिन्छ । महिला भएकै कारण राम्रा व्यवसाय गर्न सकिरहेका छैनन् । ब्युटी पार्लर खोल्न, कुखुरा पालन गर्न कर्जा दिइन्छ । तर ठूलै उद्यम गर्न चाह्यौं भने महिलाले कर्जा पाउन गाह्रो हुन्छ । तिम्रो क्षेत्र होइन भनिन्छ ।

जुन वर्गको लागि कर्जा सुविधा तोकिएको हुन्छ, त्यही वर्ग कर्जा लिन बैंकमा जाँदा यो र त्यो नाममा अनेक प्रश्न तेर्स्याइन्छ । भर्खर व्यवसाय गर्ने सोच बनाएको महिलासँग पाँचवर्षे योजना नहुन सक्छ । ऊ डरले कर्जाका लागि आवेदन नै दिँदैन । सरकारको नीति र सुविधा उसलाई कामै लाग्दैन । यसलाई सहजीकरण गरौं । बैंकका आफ्नै नीति–नियम हुन्छन्, त्यो हामीले बुझेका छौं । तर, त्यसलाई सहजीकरण गर्न के हामीसँग हेल्प डेस्क छ ?

जुन वर्गलाई कर्जा सहुलियत दिन खोजिएको छ, त्यो वर्गले भारी–भारी शब्द र वाक्य भएर आवेदन फारम र सर्तहरूको दस्तावेज बुझ्नु हुन्न । उहाँहरू त्यो सहुलियत लिन जाँदै जानुहुन्न । नीति–नियम बनाउँदा महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा नहेरियोस् भन्न चाहन्छु । महिलाहरूलाई ख्याल गरेर नीति बनाउन सरकारलाई आग्रह गर्छु ।

पढाइ र रोजगारीका लागि विदेश जाने कुरालाई ग्ल्यामराइज गरिएको छ, यसमा नभुलिऔं । विदेश गए पनि त्यहाँ सिकेको कौशल आफ्नो देशमा लगाऊँ । बिटक्वाइन, अनलाइन लगानीमा अहिलेको पुस्ता फसिरहेको देखिन्छ । संगीत, नाटक जे सीप छ, त्यसलाई निखारेर आम्दानीको माध्यम बनाउन सकिन्छ ।

अर्गानिक कृषि खेतीतिर अहिले युवा व्यवसायी लागिरहेको देखिन्छ । त्यसमा अवसर पनि छन् । पूर्वी क्षेत्र यो कामका लागि सुहाउँदो छ । इलामको घ्यू, छुर्पी, गुन्द्रुक आदि हामीले काठमाडौंका सुपरमार्केटहरूमा पुर्‍याउन सक्यौं भने त्यसले धेरै परिवारको आयआर्जन बढाउँछ । तर, हाम्रा स्थानीय उत्पादनले बजार पाइरहेका छैनन् ।

हातले बुनेका पहिरन पनि यहाँका विशेषता हुन् । यद्यपि, यसका लागि दक्ष जनशक्तिको कमी देखिन्छ । नाली बनाउने मान्छे भेट्न बहुत गाह्रो हुन्छ ।

प्रदेश १ का महिलाले यहाँ उपलब्ध अवसरहरूको उपयोग गर्नुपर्छ । विदेश जाने लहर जुन हामीले देखिरहेका छौं, विदेशको पढाइ र रोजगारीको ग्लामराइज्ड (फुलबुट्टे) कथनमा हामी आकर्षित हुनुहुँदैन । विदेश जाँदै जानुहुन्न भनेकी होइन । तर, सामाजिक सञ्चालमा देखिने विदेशको ग्ल्यामर पत्याइहाल्नु पनि भएन । विदेशको दुःख त त्यहाँ पुगेपछि मात्रै थाहा हुन्छ । आफूमा भएका सीप स्वदेशमै लगाउन सकिन्छ । बिटक्वाइन, अनलाइन लगानीजस्ता असुरक्षित क्षेत्रमा पनि अहिलेको पुस्ता लागिपरेको देखिन्छ ।

–किन्डर पिलर स्कुलकी अध्यक्ष शर्माले विराटनगरमा आयोजित 'कान्तिपुर उज्यालो पूर्व' कार्यक्रमको तेस्रो सत्र 'युवा उद्यमीका अपेक्षा' मा व्यक्त गरेको विचारको सम्पादित अंश ।

प्रकाशित : आश्विन ११, २०७९ १०:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×