१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

व्यापारिक कम्प्लेक्समा मनपरी पार्किङ शुल्क

महानगर भन्छ- 'यो हाम्रो नियन्त्रणमा हुन्न, नियमन पनि गरेका छैनौं'
कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगर क्षेत्रभित्र सञ्चालित विभिन्न मल तथा व्यापारिक कम्प्लेक्समा जथाभावी रुपमा पार्किङ शुल्क लिने गरेको पाइएको छ । कम्प्लेक्स नै पिच्छे सवारी पार्किङको शुल्क फरक फरक हुने गरेको पाइएको हो । व्यापारिक कम्प्लेक्समा सेवा लिन जाने सेवाग्राहीले पार्किङको नाममा शुल्क तिर्न बाध्य छन् ।

व्यापारिक कम्प्लेक्समा मनपरी पार्किङ शुल्क

व्यापारिक कम्प्लेक्सले मोटरसाइकल पार्किङ गरेबापत घण्टाको १५ रुपैयाँदेखि ३० रुपैयाँ लिने गरेका छन् । कम्प्लेक्समा रहने पसल, रेस्टुरेन्ट, हल जाँदा सर्वसाधारणले पार्किङ गरेबापत फरक-फरक पैसा तिर्नुपर्ने बाध्यता छ ।

बानेश्वरको आइप्लेक्स मलको र एनबी कम्पलेक्सकै पार्किङ शुल्क फरक फरक छ । एनबी कम्प्लेक्सले घण्टाको २० रुपैयाँ मोटरसाइकल पार्किङ शुल्क लिने गर्छ भने आइप्लेक्स मलले घण्टाको ३० रुपैयाँ लिने गर्छ । कार पार्किङको शुल्कमा पनि एकरुपता छैन । आइप्लेक्स मलले घण्टाको ५० रुपैयाँ लिने गर्छ भने एनबी कम्पलेक्सले ८० रुपैयाँ प्रतिघण्टा लिने गरेको हो ।

न्युरोडको काठमाडौं मलले एक घण्टाको मोटरसाइकल पार्किङबापत २५ रुपैयाँ लिने गर्छ । यो कम्प्लेक्समा दैनिक ३ सयभन्दा बढी मोटरसाइकल पार्किङ हुने त्यहाँ कार्यरत कर्मचारी रोहिन्द्र कुँवरले बताए । यो मलमा एक घण्टाको कार पार्किङ शुल्क ८० रुपैयाँ रहेको कुँवरले जानकारी दिए ।

सुन्धराको सिभिल मलले मोटरसाइकल पार्किङबापत घण्टाको २५ रुपैयाँ लिने गर्छ । यस्तै, कार पार्किङबापत घण्टाको ५० रुपैयाँ लिने गरेको त्यहाँ कार्यरत एक जना सुरक्षागार्डले बताए ।

सपिङ कम्लेक्सहरूको तुलनामा सुन्धराको सीटीसी मलको पार्किङ शुल्क केही सस्तो छ । उसले घण्टाको मोटरसाइकल पार्किङबापत घण्टाको १५ रुपैयाँ लिने गर्छ । सीटीसी मलले कार पार्किङबापत घण्टाको ३० रुपैयाँ लिने गर्छ ।

पार्किङ शुल्कबापत प्राप्त हुने आम्दानी सपिङ कम्प्लेक्सले महानगरपालिकालाई कर बुझाउने गरेका छैनन् । दैनिक एउटा कम्प्लेक्समा ५ सयभन्दा बढी बाइक पार्किङ हुने गरेको छ ।

आइप्लेक्स मलको पार्किङमा कार्यरत कर्मचारी सुवास गौड्यालका अनुसार दैनिक ५ सयको हाराहारीमा मोटरसाइकल पार्किङका लागि आउने गर्छन् । ती मोटरसाइकल पार्किङ गरेर लगेमात्रै पनि मलले आधा घण्टाको शुल्क उठाउने गर्छ । आइप्लेक्समा एकै पटकमा ३ सयभन्दा बढी मोटरसाइकल र ५० वटा कार पार्किङ हुन उनले जानकारी दिए ।

बानेश्वरको एनबी कम्प्लेक्समा कार्यरत सुशन तामाङले एक दिनमा पार्किङका लागि ३ सयवटा मोटरसाइकल आउने गरेको बताए । यो कम्प्लेक्सले कार पार्किङको मासिक शुल्क पनि लिने गरेको छ । कार पार्किङ गरेबापत मासिक ३ हजार रुपैयाँ लिने गरेको तामाङले बताए ।

अधिकांश सपिङ सेन्टर र मलमा जाने सेवाग्राहीले पार्किङबापतको पैसा तिरिरहेको विषयमा काठमाडौं महानगरपालिका भने व्यापारिक कम्प्लेक्स निर्माण गर्दा त्यहाँ आउने सेवाग्राहीका लागि पार्किङको व्यवस्था गरिनुपर्ने बताउँछ । महानगरले बेसमेन्टमा सञ्चालन गरिएका पसल/व्यवसाय हटाउँदै पार्किङका लागि खुला गरिनुपर्ने जनाएको छ ।

महानगरपालिकाका अनुसार त्यसरी पार्किङ शुल्क लिनेहरूले निजी कम्पनी दर्ता गरेर वार्षिक कर तिर्ने गरेका छन् । उनीहरुले प्राप्त आम्दानीको करलगायत अन्य विवरणबारे जानकारी कम छ ।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले पार्किङको नाममा लिइने शुल्कमा कुनै एकरुपता नभएको बताए । उनले छुट्टै नीति र नियम नहुँदा व्यवसायी तथा सपिङ कम्लेक्सले पार्किङको नाममा मनपरी शुल्क लिने गरेको बताए । कानुन र नीति नहुँदा नगर प्रहरीले पनि यस विषयमा केही गर्न नसक्ने उनले जनाए ।

महानगरको भवन निर्माण विभागका निर्देशक सुरज शाक्यले बेसमेन्ट पार्किङ सम्बन्धित भवनमा आउने सेवाग्राही र बहालका लागि भएको बताए । उनले ईकान्तिपुरसित भने, ‘बेसमेन्ट पार्किङ भनेकै जुन भवनमा बस्ने मानिस र त्यहाँ आउने सेवाग्राही छन्‚ तिनैका लागि हो ।’

काठमाडौं महानगरपालिकाका राजस्व विभागका निर्देशक शिव अधिकारीले पार्किङ शुल्कसम्बन्धी महानगरको नीति नभएको बताए । उनले पार्किङको नाममा जथाभावी शुल्क लिने गरेकाले महानगरले छुट्टै नियम बनाएर पार्किङ शुल्कको रेट तोक्ने बताए ।

पार्किङ शुल्क लिने सपिङ मलमा नजान उनले सुझाव दिए । ‘प्राइभेट संस्थाको भवन हो । उसले सेवा/सुविधा देला र पैसा लिन सक्ला । यो हाम्रो नियन्त्रणमा पनि हुन्न । हामीले नियमन पनि गरेका छैनौं,’ अधिकारीले भने ।

महानगरले बेसमेन्ट पार्किङका लागि लिइने शुल्कसम्बन्धी छुट्टै नीति र नियम बनाउने तयारी गरिरहेको जनाएको छ । राजस्व विभागका प्रमुख अधिकारीले भने, 'पार्किङ शुल्कमा एकरुपता ल्याउनका लागि हामीले छुट्टै नीति र नियम बनाउने तयारी गरिरहेका छौं ।'

बैंक तथा वित्तीय संस्था रहेका कम्प्लेक्सहरूमध्ये केहीले शुल्क लिने गरेका छन् भने अधिकांशले लिने गरेका छैनन् ।

प्रकाशित : आश्विन १०, २०७९ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?