३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

हराएकी जेरुसाको खोजी जारी

काठमाडौँ — बिहीबार साँझदेखि हराएकी गायिका जेरुसा राईको खोजी कार्य आइतबार पनि जारी छ । प्रहरीसहित राईका आफन्त र साथीहरूले पनि उनको खोजी गरिरहेका छन् ।

हराएकी जेरुसाको खोजी जारी

बिहीबार राति ७:४२ तिर चोभारको सुन्दरीघाट खोलामा अन्तिमपल्ट उनी देखिएको बताइएको छ । उनी हराएपछि उनको घरमा 'गुडबाइ नोट' पनि भेटिएको थियो जसमा उनले सबैलाई 'गुडबाइ' भनेर लेखिएको बताइएको छ ।

२ दिनदेखि प्रहरीसँगै मिलेर खोजी कार्यमा संलग्न रहेका जेरुसाका निकट साथी एवं संगीतकार रितभरत प्रहरीको कुकुरले चोभारको गणेश मन्दिरतिर जेरुसाको गन्ध भेटेको बताउँछन् ।

'प्रहरीसँग मिलेर स्वयंसेवक साथीहरू मिलेर खोजी गरिरहेका छौं । आज बिहान टौदहतिर खोजी भयो । प्रहरीको कुकुर प्रयोग गरेर पनि खोजियो । चोभारको गणेश मन्दिरसम्म जेरुसाको गन्ध भेटिएको छ । त्यहाँका स्थानीयले पनि देखेको भन्ने कुरा आयो,'उनले भने, 'चोभारदेखि दणिकालीको रूटमा पर्ने क्षेत्रमा विशेष प्राथमिकता राखेर खोजी भइरहेको छ । जेरुसाका मामाहरूले पनि उनलाई खोजिरहेका छन् ।'

उनका अनुसार पछिल्लो समय जेरुसा भजन कृतन गर्ने ठाउँमा देखिएको भन्ने कुरालाई पनि नजरमा राखेर उनीहरू खोजी गर्दै छन् । जेरुसाकी बहिनी जेसिका राईको इन्स्टाग्राम स्टोरी अनुसार सन् २०१८ देखि मानसिक समस्याले ग्रस्त जेरुसाको ध्यान असन्तुलन भए उनले आफू को हो भन्ने कुरा पनि बिर्सने र त्यस्तो अवस्थामा उनी पुजा र धार्मिक गतिविधिमा सहभागी हुन रुचाउनेसमेत खुलाएकी छन् । युकेमा रहेकी जेसिका पनि जेरुसालाई खोज्न नेपाल आउँदैछिन् । 'कृपया जेरुसालाई चोभार र पाटनमा रहेको मन्दिर र स्तुपाहरुमा खोज्न म अनुरोध गर्दछु,'जेसिकाले आफ्नो इन्स्टाग्राममा लेखेकी छन् ।

रितभरतका अनुसार सयभन्दा बढीको टिम अहिले जेरुसाको खोजीमा लागेका छन् । जेरुसाकै खोजीमा रहेकी ज्योति श्रेष्ठ भन्छिन्,'एउटा टिम टौदह क्षेत्रको सीसीटीभी फुटेज हेर्न व्यस्त छ । अर्को टिमले चोभार, बोसन डाँडा, श्रीकाली, चम्पादेवी टौदह र हात्तीवन क्षेत्रमा ड्रोनबाट उनको खोजी गर्दै हुनुहुन्छ । एउटा टिमले श्रीकालीदेखि टौदहसम्म हिँडेर जाने बाटोतिर खोजिरहनु भएको छ । तीन समूहमा छुटेर हामी खोजिरहेका छौं ।' जेरुसाको 'बारुद', 'सुनसान', 'रिमेम्बर रिटर्न' ‍दर्शकले रुचाएका गीतहरूमा पर्छन् ।

प्रकाशित : आश्विन ९, २०७९ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?