२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बाटो बढाउने नाममा घर भत्काउनु हुँदैन : मन्त्री श्रेष्ठ

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंजस्तो सांस्कृतिक सहरमा विकासको नाममा संरचना भत्काउने काम गर्न नहुने बताएका छन् । आइतबार विश्वेश्वर महादेव मन्दिर पुनर्निर्माण कार्यको थालनी एवं हनुमान ढोका नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले विकासका नाममा संरचना भत्काउन नहुने बताएका हुन् ।

बाटो बढाउने नाममा घर भत्काउनु हुँदैन : मन्त्री श्रेष्ठ

उनले काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्यधिक महत्त्वपूर्ण रहेको भन्दै बाटो फराकिलो पार्ने भन्दै घर भत्काउन नहुने बताए ।

पहिलाका भौतिक संरचनाहरूको संरक्षण गर्न सके मात्रै सम्पदाको महत्त्व रहने भन्दै उनले काठमाडौंलाई पर्यटकीय नगरी बनाउनुपर्ने बताए । मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई दिगो बनाउन मन्त्रालयले पर्यटन दशक घोषणा गरेको र अब क्रमश: देशको पर्यटनको काममा मन्त्रालय लागिपर्ने प्रतिबद्धता जनाए । उनले पर्यटनबाट नै देशमा रोजगारी र आर्थिकोपार्जन हुने भन्दै पर्यटन क्षेत्रलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘काठमाडौं उपत्यकाका तीन जिल्लामा धेरै पर्यटकीय गन्तव्य छन्, त्यसैले काठमाडौंको मोडालिटीलाई हामीले परिवर्तन गरेर जानुपर्छ । सहरका पहिलाका घरहरू जस्ता छन्‚ त्यस्तै राख्नुपर्छ । साँघुरो बाटो छ भनेर फराकिलो गर्ने नाममा घर भत्काउने, यसलाई मास्ने कामहरू गर्नु हुँदैन । हिजो जुन खालको यो शहरको बनावट छ; त्यसको अवस्था छ, त्यसको अवस्थालाई संरक्षण र कायम गर्नुपर्छ ।’

आफूहरूले यसलाई विश्वमा चिनाउन सक्छौं । पर्यटन क्षेत्रलाई दिगो बनाउने सन्दर्भमा पर्यटन भ्रमण दशक भनेर घोषणा गरेको भन्दै उनले अब क्रमश: देशको पर्यटनको काम बढ्ने र पर्यटनबाट आर्थिकोपार्जन हुने विश्वाससमेत व्यक्त गरे ।

मन्त्री श्रेष्ठले अहिलेको समाज आधुनिकताको नाम पुराना संस्कृतिलाई भुल्दै जान थालेको बताए । उनले मन्त्रालयले पुरानै शैलीमा संरचनाहरूको स्थापना गर्ने योजना बनाएको समेत बताएका छन् । उनले पर्यटकीय संरचना निर्माणसँगै काठमाडौं उपत्यकालाई नै कसरी पर्यटकीय क्षेत्र बनाउने भन्नेबारे पनि मन्त्रालयले योजनाबद्ध रुपमा काम गरिरहेको बताए । उनले पर्यटकीय क्षेत्रमा पर्यटकीय वातावरण बनाउने योजना बनाएर अघि बढ्न नसक्दा पर्यटकहरुलाई भित्र्याउन नसकेको बताए ।

हनुमान ढोकादेखि स्वयम्भूसम्म २.२ किलोमिटरको सम्पदामार्ग निर्माण गरिने र पर्यटकहरूलाई शान्तिपूर्ण रुपमा अवलोकन गराउने उद्देश्यले यो सम्पदामार्ग निर्माण गर्न लागिएको पनि मन्त्री श्रेष्ठले बताए । यो सम्पदा मार्गमा ट्रेल सञ्चालन हुने र सांस्कृतिक सम्पदा झल्काउने, जन्मदेखि मृत्युसम्मका संस्कार हेर्न सकिने उल्लेख गरे ।

प्रकाशित : आश्विन ९, २०७९ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?