लोकन्थलीमा पानी बोक्ने गाडीले किचेर १७ महिने बालकको मृत्यु- उपत्यका - कान्तिपुर समाचार

लोकन्थलीमा पानी बोक्ने गाडीले किचेर १७ महिने बालकको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — भक्तपुरको लोकन्थलीमा पानी बोक्ने गाडीले किच्दा १७ महिने बालकको ज्यान गएको छ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाँउपालिका-५ का केशवलाल श्रेष्ठको छोरा १७ महिनाको सलिन श्रेष्ठको मृत्यु भएको हो ।

मध्यपुर थिमि नगरपालिका-१, लोकन्थलीमा शुक्रबार बिहान बा ५ ख ७८१७ नम्बरको निशान गाडी पानी झार्नका लागि रोकिएको थियो ।

प्रहरीका अनुसार सडकमै गाडीमुनिबाट छिरेर बालक खेलिरहेका थिए । गाडीअघि बढाउँदा बालकलाई किचेको थियो । उनलाई समिट अस्पतालमा उपचारका लागि पुर्‍याइए पनि उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीले मुलपानी बस्ने चालक आकाश भुजेललाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित : आश्विन ७, २०७९ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपतिले नागरिकता विधेयक रोकेकोमा जसपाद्वारा आन्दोलनको घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको पालना नगरेको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले आन्दोलनको घोषणा गरेको छ । जसपाको मधेस प्रदेश कमिटीले राष्ट्रपति भण्डारीको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । नेता रामसहायप्रसाद यादवले पार्टीको मधेस कमिटीले शनिबारदेखि चरणबद्ध रूपमा शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको जानकारी दिए । 

‘संविधानको रक्षकबाटै संविधानको उल्लंघन भएको छ, संविधानभन्दा माथि कोही पनि छैन, कोही पनि हुँदैन । राष्ट्रपति संविधानको संरक्षक हो, र पालक पनि हो । उहाँले संविधानको उल्लंघन गर्नुभएको छ, मधेसका नागरिकहरूले त्यसको विरुद्ध आवाज उठाउँदैछन्,’ उनले भने, ‘यो संविधान र लोकतन्त्रमाथिको प्रहार हो, यो सह्य छैन ।’

जसपाले नागरिक विधेयक जारी नहुँदा मधेसका लाखौँ जनताले नागरिकताबाट वञ्चित हुनुपर्ने अवस्था रहेको भन्दै त्यसलाई मुद्दा बनाएर आन्दोलन थालेको हो । सत्ता गठबन्धनले राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेर संविधान मिचेको विषयलाई चुनावी मुद्दा बनाउने निर्णय गरिसकेको छ ।

गठबन्धनकै एक घटक जसपाले भने मधेसका जिल्लामा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । जसअनुसार असोज ८ गते मधेसका आठवटै जिल्लाका सदरमुकाममा राष्ट्रपति भण्डारीको कदमको सन्दर्भमा नागरिक समाज, बुद्धिजीवी, व्यापारी, शिक्षक, कानुनी व्यवसायी र सञ्चारकर्मीसँग छलफल गर्ने, असोज ११ गते जसपाका भातृ संगठनहरुले राष्ट्रपति भण्डारीविरुद्ध प्रदर्शन गर्दै उनको पुत्ला जलाउने, असोज १३ गते पालिका स्तरमा अन्तरक्रिया गर्ने र असोज १५, १६ र १७ गते पालिका एवं वडा स्तरमा प्रदर्शन गर्ने जसपाले जनाएको छ ।

प्रकाशित : आश्विन ७, २०७९ १२:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×