कपन आगलागी : मृतकको पहिचान खुल्यो- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कपन आगलागी : मृतकको पहिचान खुल्यो

रासस

काठमाडौँ — काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ लसुनटारमा बुधबार राति भएको आगलागीमा परी मृत्यु हुनेको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, संखुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौंको रानीबारी बस्ने २५ वर्षीय छेवाङ शेर्पा रहेका छन् । कपनको लसुनटारस्थित इलाइट हिमालयन एडभेञ्चरमा पोर्टेबल अक्सिजन सिलिन्डर र चुलो बाल्नका लागि प्रयोग हुने पोर्टेबल ग्यास सिलिन्डर विष्फोट हुँदा आगलागी भएको थियो । उक्त घटनामा काठमाडौंको कपनका २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन् । दायाँ हात, दुवै खुट्टा र अनुहारको दायाँ भाग जलेका उनको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले प्रहरी प्रभाग कपन, जिल्ला प्रहरी परिसर काठमाडौं, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले स्थानीयबासीको सहयोगमा आगो निभाएको जानकारी दिए । आगो निभाउन दुई सय प्रहरी, ७० नेपाली सेना र ३० सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

आगो निभाउन बौद्ध रामहिटी, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकाबाट, भक्तपुर नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र त्रिभुवन विमानस्थलको गरी नौवटा दमकल तथा १० पानी ट्यांकरको प्रयोग गरिएको थियो । आगलागीबारे आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।

प्रकाशित : आश्विन ६, २०७९ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्

तन्नेरी गोठाला

पालन र गोठ बसाइ कष्टकर भए पनि आम्दानी राम्रो हुने भएकाले युवापुस्ता भेडापालनतर्फ आकर्षित
घनश्याम खड्का

म्याग्दी — अन्नपूर्ण गाउँपालिका–५ को शिख माध्यमिक विद्यालयबाट दुई वर्षअघि कक्षा १२ उत्तीर्ण गरेपछि पाउद्वारका प्रकाश पुनलाई परिवार, आफन्तले विदेश जान दबाब दिए । तर उनले मानेनन् । बरु भेडा गोठालो बने ।

‘भेडापालनमा राम्रो आम्दानी छ । पैसा यहींका डाँडापाखामा छ, टिप्न सकिन्छ भन्ने विश्वास छ,’ स्थानीय नौलोवनमा भेटिएका २१ वर्षीय भेडा गोठाला प्रकाशले थपे, ‘६० वटा भेडा किनेर साथीको गोठमा मिसिएको छु । दुई वर्ष गोठमा खटिएँ भने त्यसपछि १५–२० लाख रुपैयाँ वर्षको सजिलै कमाउँछु ।’ प्रकाशसँगै भेडापालनमा संलग्न अर्का तन्नेरी हुन्, पाउद्वारकै २५ वर्षीय कमल पाइजा । पाइजाका मात्रै २ सय ५० बढी भेडा छन् । कमल र प्रकाशले एउटै गोठ बनाएका छन् ।

रघुगंगा गाउँपालिका–८ पात्लेका ३२ वर्षीय दुर्गा छन्त्याल र धवलागिरि गाउँपालिका–५ मल्कवाङका ३६ वर्षे देवान छन्त्याल पनि भेडा पालनमा जोडिएका छन् । मलेसिया, कतार र सिंगापुरमा एक दशक बिताएर फर्केका देवानले पछिल्लो ५ वर्षदेखि पुर्ख्यौली भेडा पालनको कामलाई निरन्तरता दिएका छन् । उनीसँग ६ सयभन्दा बढी भेडाबाख्रा छन् । जलवायु परिवर्तनको असरले हिमाली खर्कमा उत्पादकत्व घट्दै गएको, सामुदायिक वन विकासले हिउँदे चरन क्षेत्र साँघुरिएको, वैदेशिक रोजगारीप्रतिको आकर्षण तथा स्वदेशमा श्रमको सम्मान नहुँदा बर्सेनि त्याज्य बन्दै गए पनि पछिल्लो समय तन्नेरी पुस्ता भेडा गोठालाका रूपमा रमाउन थालेका छन् । परम्परागत रूपमा भेडा पाल्न सजिलो नहुने बुझेका यी तन्नेरी यसलाई व्यवसाय बनाउन भने खोजिरहेका छन् ।

पाल्ने शैलीका आधारमा भेडालाई खोरपाला र वनपालाका रूपमा छुट्याइन्छ । खोरपाला भेडा दिनभर वनजंगलमा लगेर चराइन्छ । साँझ घरकै खोरमा ल्याएर थुनिन्छ । म्याग्दीका माथिल्लो भेगका गाउँमा खोरपाला भेडा पाल्ने चलन छ । उन्नत जातका खोरपाला भेडालाई बँधुवा शैलीमा खोरमै दानापानी र घाँस दिएर पनि पाल्न सकिन्छ । वनपाला भेडा भने फिरन्ते शैलीमा पालिन्छ । घाम, झरीबादल, हुरीबतास, असिनापानी र हिउँपात तथा हिउँद–बर्खा सबै बेला, सबै सिजन खुला आकाशमुनि चरन खर्क डुलाउँदै पालिन्छ ।

‘धेरै पढिनँ । ८ पासपछि विवाह गरें अनि पढाइ छोडें । धेरै वर्ष वैदेशिक रोजगारको गोलचक्कर मारेपछि ४ वर्षअघि घर फर्केर भेडा पाल्न थालें । घरका ७० वटामा २ सय वनपाला भेडा थपेर भेडीगोठ थालेको छु,’ दुर्गा छन्त्यालले भने, ‘भेडा पाल्न र गोठको बसाइ कष्टकर भए पनि आम्दानी राम्रो छ ।’ छन्त्यालले दुई गोठाला राखेका छन् । उनीहरूलाई खान, लाउन दिएर वार्षिक १/१ लाख रुपैयाँ र प्रतिव्यक्ति २० वटा बस्यौली (माउ र पाठा) भेडा दिन्छन् । छन्त्यालले भने, ‘पढलेखा नभएपछि संसारमा जहाँ गए पनि पैसाका लागि गर्ने दुःख नै हो । भेडा भए ग्राहक गोठमै आउँछन् । यसैमा सन्तुष्ट छु ।’

वनपाखा र हिमाली क्षेत्रमा चर्ने भए पनि भेडा आफ्नै विवेकले बाटो हिँड्दैनन् । भेडालाई बाटो देखाउन गोठमा ८–१० वटा ‘सिनाल’ जातका बाख्रा पनि पालिन्छ । सिनाल उच्च हिमाली क्षेत्रमा बाँच्न सक्ने जातका बाख्रा हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार म्याग्दीमा म्याङलुङ र बरुवाल गरी २ जातका भेडा पालिन्छ । हिउँदमा बेंसी झार्ने र गर्मी मौसममा हिमालमुनिका फराकिला चरन क्षेत्रमा पुर्‍याइन्छ ।

केन्द्रका अनुसार जिल्लाका १ सय ९३ जनाले परम्परागत तरिकाले खोरपाला र वनपाला गरी १९ हजार ३ सय रैथाने भेडा पालेका छन् । अन्नपूर्ण गाउँपालिकाको शिख, नारच्याङ, दाना, दोवा, रघुगंगा गाउँपालिकाको बेगखोला, भगवती, चिमखोला, कुइने–मंगले र धवलागिरि गाउँपालिकाका मल्कवाङ, मुदी, मुना, लुलाङ र गुर्जा बस्ती भेडापालन पकेट क्षेत्र हुन् । केन्द्रले २० वटाभन्दा बढी भेडा पाल्नेलाई व्यावसायिक मानेको छ । भेडासँगै मिलाएर खुला तरिकाले पालिएका ८ हजार बाख्रा पनि छन् ।

‘परम्परागत फिरन्ते भेडापालन व्यवसायलाई व्यवस्थापन गर्न पशु सेवा विभागअन्तर्गत केन्द्रीय भेडाबाख्रा प्रवर्द्धन कार्यक्रम र चरनखर्क नीति २०६८ व्यवहारमा लागू भएको छैन । तर गोठ सुधार, रोगव्याधि नियन्त्रण र पेसा प्रवर्द्धनमा काम गरिरहेका छौं,’ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका नायब पशु सेवा प्राविधिक गणेश रिजालले भने, ‘अझै स्थानीय सरकारसँग सहकार्य गरी स्वजातीय गर्भाधान रोक्ने, चरन क्षेत्र व्यवस्थापन गर्ने र युवालाई प्रेरित गर्ने कार्यक्रम आवश्यक छ । केन्द्रले अनुदानका कार्यक्रम पनि गर्दै छ ।’

गाउँघरमा हुने भूमे पूजा, बराह पूजा, कुल पूजामा बलि दिन भेडाको गोठबाटै खोसाखोस हुन्छ । यस्ता पूजामा भेडाको ‘थुमा’ बलि दिने चलनले भेडापालन पेसालाई टिकाएको हो । भूमे पूजामा भेडा र बाख्रा दुवैको बोकाको बली दिइन्छ । छन्त्याल जातिले आफ्नो कुल पूजामा बाख्राको बोका बलि दिन्छन् भने मगर र क्षत्रीहरूले आ–आफ्नो कुल पूजामा भेडा र बाख्राको बोका बलि दिने प्रचलन छ । एक वर्षमा एउटा गोठले ५–६ लाखदेखि २५ लाख रुपैयाँसम्म भेडा–बोकाको बिक्री गर्छन् । ‘गाउँघर र डाँडापाखाका देवीदेउता पुज्ने चलन हुन्थेन भने सायद यस्ता भेडीगोठ पहिल्यै मासिन्थे होला । यहाँका देवीदेवता आस्था र विश्वास मात्र होइनन्, हाम्रा परिवार पाल्ने माध्यम पनि भएका छन्,’ पाउद्वारका लालवीर तिलिजाले भने ।

खर्क तथा चरन व्यवस्थापन नीति नहुँदा भेडालाई चरन समस्या हुन थालेको छ । जलवायु परिवर्तनसँगै बढेको तापक्रमको प्रभावले बेंसीमा मात्र देखिने खोरेत, निमोनिया, पीपीआरजस्ता रोग हिमाली क्षेत्रमा पनि देखिन थालेको छ ।

‘खोप्रा, नौलोवन र खयरखोला चरन क्षेत्रका पाँच वटा भेडी गोठबाट मात्र यो वर्ष ७०–८० वटा भेडा चितुवा र स्यालले खायो । ८ वटा त चौंरीका बाच्छाबाच्छी खायो,’ नौलोवनका भेडा गोठाला कमल पाइजाले भने, ‘मैले मात्र यो वर्ष चितुवाले भेडाबाख्रा खाएकाले चार लाख रुपैयाँभन्दा बढी घाटा पर्‍यो । एक्यापको नियमले गर्दा फिरन्ते भेडा गोठ असुरक्षित भए ।’ ५० वर्षदेखि निरन्तर भेडा गोठ पाल्दै आएका ७२ वर्षीय लालवीर तिलिजाले भने, ‘सामुदायिक वनमा चराउन पाइन्न भन्छन् । कहाँ चराउने त ?’

प्रकाशित : आश्विन ६, २०७९ ०८:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×