२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

अवैध संरचनामा अन्य पालिकाको नजर

काठमाडौँ — काठमाडौं महानगरपालिकाले नक्सा पासको स्वीकृति नलिएको, नक्साअनुसार निर्माण भए पनि सोहीअनुरूप प्रयोग नभएका र सार्वजनिक जग्गा मिचेर निर्माण भएका सबै संरचनामाथि डोजर चलाइरहेको छ ।

अवैध संरचनामा अन्य पालिकाको नजर

महानगरले जमिन तल्ला, बेसमेन्ट, सेमी–बेसमेन्ट, गोदाम र जमिन तलामा नक्सा स्वीकृतबमोजिम प्रयोग नगरी अन्य प्रयोजनमा उपयोग गरेको देखिएकाले साउन २ मा सूचना जारी गर्दै अनधिकृत संरचना हटाउन नगरवासीलाई निर्देशन दिएको थियो । महानगरले भदौ ६ बाट अवैध संरचनामाथि डोजर चलाउन थालेको हो ।

काठमाडौंकै पथमा अन्य पालिकाले पनि अनधिकृत संरचना हटाउने अभियान थालेका छन् । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र नक्सा स्वीकृतबिना, मापदण्डविपरीत निर्माण भएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ ।

मापदण्डविपरीत निर्माण भएका, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरी बनाइएका स्लोप, टप, र्‍याम्प, सिँढीलगायत संरचना हटाउन आग्रह गर्दै बुधबार सूचना जारी गरेको हो । नक्सा स्वीकृत गर्दा पार्किङ प्रयोजन खुलाई स्वीकृति लिई अन्य प्रयोजनमा प्रयोग भएका संरचनालगायत सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेका संरचना ३५ दिनभित्र सुधार गरी वा हटाई कानुनबमोजिम कायम गर्न महानगरले निर्देशन दिएको छ ।

त्यसैगरी, भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले पनि अनधिकृत संरचना हटाउन भदौ १४ मै ३५ दिने सूचना प्रकाशित गरिसकेको छ । नगर क्षेत्रभित्रका अरनिको राजमार्ग, सहायक मार्गका मापदण्डविपरीतका संरचना, सार्वजनिक आवागमनमा बाधा अवरोध पुग्ने गरी राखिएका निर्माण सामग्री हटाउन निर्देशन दिएको हो ।

त्यस्तै, नगरका अन्य भित्री सडकहरू तथा क्षेत्रमा समेत प्रचलित भवन निर्माणसम्बन्धी मापदण्डविपरीत सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी बनाएका विभिन्न संरचनाहरू निर्माण गर्ने, सार्वजनिक आवागमनमा बाधा अवरोध पुग्ने गरी निर्माण सामग्रीलगायत राख्ने, अव्यवस्थित रूपमा सवारी पार्किङ गर्ने र फुटपाथमा व्यापार गरी आवागमन अवरुद्ध बनाउने गरेको देखिएकाले सूचना जारी गरेको नगरका उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताए ।

प्रकाशित : आश्विन ६, २०७९ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?