भत्काइएका संरचना महानगरले बिहीबारदेखि सफा गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले भत्काएर छाडेका अनधिकृत संरचना बिहीबारदेखि सफा गर्ने भएको छ । मेयर बालेन्द्र शाहले सुरु गरेको अनधिकृत संरचना हटाउने अभियान दुई साता बिते पनि भत्काएर छाडिएका संरचना कसैले नउठाएपछि महानगर आफैंले उठाउन लागेको हो ।

सम्बन्धित घरधनी र संरचना बनाउने व्यवसायीले नै भत्किएका संरचना सफा गर्नुपर्ने भए पनि कसैले फोहोर नसोहोरेपछि महानगर आफैंले हटाउन लागेको हो ।

अधिकांश स्थानमा भत्काएर छाडिएका संरचना असरल्ल हुँदा सर्वसाधरणलाई सास्ती हुने गरेको छ । भत्काइएको ठाउँमा भएका जस्तापाता, निर्माण सामग्रीलगायत अन्य वस्तुहरू छरपस्ट हुँदा पैदलयात्रुलाई सास्ती भएको छ ।

कोटेश्वर, न्युरोड, नयाँ बसपार्क क्षेत्रमा महानगरले डोजर चलाएर भत्काएका संरचना त्यसै छाडिएका हुन् ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सम्बन्धित घरधनीले नै सबै सामग्रीहरू लैजाने प्रतिबद्धता गरेपछि नउठाइएको बताए । उनले इकान्तिपुरसित भने,‘ हामीलाई सम्बन्धित घरधनीले भत्काएका संरचना र सामग्रीहरू आफैं उठाउँछौं भन्नेपछि छाडिदिएका हौं ।’

तर बिहीबारसम्म नउठाएमा नगर प्रहरी बलले ती स्थानमा अनुगमन गर्ने र महानगर आफैंले सोहोर्ने उनले बताए । ‘भोलि बिहीबार नगर प्रहरीको टोली अनुगमन गरेर सबै हटाउँछ, ’ उनले भने । यस्तै, असनमा भत्काइएको संरचना र सामग्री सम्बन्धित व्यवसायीले नै लगेको उनले जानकारी दिए ।

प्रकाशित : भाद्र २२, २०७९ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्

अस्ट्रेलियामा दुर्घटना, ५ बालबालिकाको मृत्यु

कान्तिपुर संवाददाता

अस्ट्रेलिया — अस्ट्रेलियाको सिड्नीमा भएको कार दुर्घटनामा ५ बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय विद्यालयमा कक्षा ९ र ११ मा अध्ययनरत विद्यार्थीहरू रहेको प्रहरीले जनाएको छ । 

सिड्नीबाट करिब एक सय किलोमिटरको दूरीमा रहेको बक्सन भन्ने स्थानमा मंगलबार साँझ एक कार दुर्घटना भएको हो ।

दुर्घटनामा १४ वर्षका दुई बालिका र १५ वर्षकी एक बालिकाको मृत्यु भएको छ भने १५ र १६ वर्षका दुई बालकले समेत दुर्घटनामा ज्यान गुमाएका छन् ।

६ जना सवार कार रातिको करिब ८ बजे एउटा रुखमा ठोक्किएको प्रहरीलाई उद्धृत गर्दै द गार्जिएनले जनाएको छ । दुर्घटनामा सवारी चालक १८ वर्षका एक युवक भने घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ । मृतक सबै स्थानीय पिक्टन हाइस्कुलमा अध्ययनरत रहेका थिए ।

घटनास्थलको छानबिनका लागि प्रहरीको अनुसन्धान टोली पुगिसकेको छ भने विद्यालयका शिक्षक तथा विद्यार्थीलाई आवश्यक सहयोग उपलब्ध गराइएको एबीसीले जनाएको छ ।

घटनापछि राज्यका प्रिमियर डोमिनिक पेरोटेले विद्यालयमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् भने प्रहरीले दुर्घटनाग्रस्त कार ४ जना यात्रुका लागि मात्र चलाउने मिल्ने भए पनि ६ जना सवार रहेको भन्दै अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : भाद्र २२, २०७९ १७:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×