१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

‘बयलखाना’ मा बसेको विद्यालयको जग

लैनचौरको कृत्रिम फुटसलसँगै राणाकालीन बन्द समाजमा स्थापना भई ७५ वर्षदेखि चेतनाको दीप बालिरहेछ शान्ति विद्यागृह 
ध्रुव सिम्खडा

काठमाडौँ — अमृत क्याम्पसको पूर्वपट्टि र दूध डेरीको दक्षिणतिरको ठूलो चौर हो– लैनचौर । बेलायती सेनामा लडेका हाम्रा पुर्खाहरूले ‘पेन्सन’ थाप्न लाइनमा उभिने स्थान भएकाले नै त्यसलाई कालान्तरमा लैनचौर भनिएको सरदार भीमबहादुर पाँडेले ‘त्यसबखतको नेपाल’ मा उल्लेख गरेका छन् ।

‘बयलखाना’ मा बसेको विद्यालयको जग

पाँडेले लेखेअनुसार श्री ३ जुद्धशमशेरका पालामा, २००१ जेठमा पहिलो राष्ट्रिय औद्योगिक मेला आयोजना गरिएको दरबारनजिकैको ठूलो चौर हो, लैनचौर ।

त्योभन्दा पहिलेको कुरा गर्ने हो भने नारायणहिटी राजदरबार बनाउँदा इँटा बोक्न प्रयोग गरिएका बयलगाडाहरूलाई राख्ने गरिएको लैनचौरको पश्चिमतिरको केही भागलाई ‘बयलखाना’ भनिन्थ्यो । सिकारी कुकुरखाना पनि त्यहीँ थियो । २००७ सालमा प्रजातन्त्र आएपछि ती स्थान खाली भएका थिए । त्यही ‘बयलखाना’ र ‘सिकारी कुकुरखाना’ रहेको खाली जग्गामा त्यस भेगका चेतनशील र शिक्षित युवाहरूले शान्ति विद्यागृहको भवन ठड्याए । गंगाराम भण्डारी, योगनाथ प्याकुर्‍याल, इन्दुनाथ प्याकुर्‍याल, सुन्दरप्रसाद भट्टराई, लक्ष्मणप्रसाद भट्टराई, बद्रीराम भण्डारी, विहारीलाल सत्याल, गौरीप्रसाद अधिकारीहरू विद्यालय स्थापनामा निकै खटे । अहिले लैनचौरको कृत्रिम फुटसलसँगै राणाकालीन बन्द समाजमा स्थापना भई ७५ वर्षदेखि चेतनाको दीप बालिरहेछ शान्ति विद्यागृह ।

भवन नबन्दै सुरुमा गल्कोपाखाका प्रसिद्ध कविराज लम्बोदर भण्डारीले आफ्नो नयाँघरमा विद्यालय सञ्चालन गर्न अनुमति दिएकाले एक वर्ष सोही घरमा पठनपाठन गरेको र धेरै भीडभाड हुन थालेपछि घर थोत्रिने बुझेर ठमेलस्थित भगवान बहालमा सारेर करिब ३ वर्ष बहालमै पठनपाठन गरिएको थियो । त्यसपछि अहिले भवन भएको ठाउँमा आफ्नै जग्गामा पढाउन थालिएको ९५ वर्षीय संस्थापक शिक्षक शंकरलाल मानन्धरले बताए ।

स्थापनाको दिन बिहान साढे ६ बजे जनकविकेशरी धर्मराज थापाबाट सरस्वती वन्दना वाचन गर्दै प्रथम कक्षा सुरु गरिएको थियो । सुरुमा लैनचौर, ठमेल, गल्कोपाखा, पकनाजोल क्षेत्रका करिब ३ सय छात्रछात्रामध्ये छात्रहरूलाई शान्ति विद्यागृह प्राथमिक स्कुलपट्टि र छात्रालाई शान्ति विद्यागृह कन्या प्राथमिक स्कुलपट्टि राखेर पढाएको विद्यालयको २०७६ मा प्रकाशित शान्ति स्मारिकामा उल्लेख छ । २०५२ सालदेखि यो विद्यालय सहशिक्षालयमा परिणत भयो । अहिले विद्यालयमा पूर्वप्राथमिक ‘ईसीडी’ देखि १२ कक्षासम्म पढाइ हुँदै आएको छ । हाल ६ सय २ छात्र र ५ सय १८ जना छात्रा छन् । उनीहरूलाई पढाउन ७ जना शिक्षक र ३२ जना शिक्षिका छन् ।

पद्मशमशेरका पालामा २००४ सालमा स्थापित यो विद्यालय राणाकालमा खुलेका विद्यालयहरूमध्येको एक हो । २००४ वैशाख १९ मा स्थापना भएको यो विद्यालयले गत वैशाख १९ मा हीरक महोत्सव मनाउने तयारी गरेको भए पनि कोरोना महामारीका कारण स्थगन गर्नुपरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष वर्षाराम भण्डारीले बताए । ‘पाँच महिनापछि भए पनि हामी भदौ १८ गते विद्यालयको हीरक महोत्सव मनाउन गइरहेका छौं,’ उनले भने । विद्यालयले २००९ सालदेखि प्रवेशिका परीक्षामा विद्यार्थीहरू सहभागी गराउँदै आएको हो । यो विद्यालयबाट निस्केका विद्यार्थी देश/विदेश पुगे । विभिन्न क्षेत्रमा स्थापित भएका छन् ।

स्थापनादेखि २०३० सालसम्म सामुदायिक रूपमा चलेको यो विद्यालय त्यसपछिको १६ वर्ष सामुदायिक तथा सरकारी अवधारणामा सञ्चालन गरिएको थियो । २०४६ सालयता भने विद्यालय पूरै सरकारी अवधारणाअनुसार चल्दै आएको छ । प्राचार्य शिवकुमारी बराल घिमिरे भन्छिन्, ‘छात्रछात्राको संख्या अहिले पनि उल्लेख्य छ । पठनपाठनको गुणस्तर सुधारेर पुरानो साख फर्काउन हामी प्रतिबद्ध भएर लागिरहेका छौं ।’

प्रकाशित : भाद्र १५, २०७९ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?