यी हुन् काठमाडौं महानगरका ५ जना कानुनी सल्लाहकार


काठमाडौँ — काठमाडौं महानगरपालिकाको आइतबार बसेको कार्यापालिका बैठकले ५ जना कानुनी सल्लाहकार राख्ने निर्णय गरेको छ । यसअघि ४ जना मात्रै कानुनी सल्लाहकार राख्दै आएको महानगरले थप १ गरी ५ जना सल्लाहकार राख्ने निर्णय गरेको हो ।

महानगरले अधिवक्ताहरू ओमप्रकाश अर्याल, जिना श्रेष्ठ, शंकरप्रसाद पुडासैनी, महेश नेपाल र कुमारी खरेललाई कानुनी सल्लाहकारमा नियुक्त गरेको छ ।
यसअघिका नगर प्रमुख विद्यासुन्दर शाक्यको कार्यकालमा दामोदार खड्का, टीकाराम भट्टराई, ताराबहादुर सिटौला र सजिना शाक्यलाई कानुनी सल्लाहकार थिए ।
महानगरको कानुनी सल्लाहकारलाई यसअघि मासिक ४५ हजार तलबसहित अन्य सुविधाहरू दिइँदै आएको थियो । उक्त सुविधामा रहँदा सल्लाहकारहरूले कम्तिमा १० वटा मुद्दाको सेवा दिनुपर्ने प्रावधान छ । १० भन्दा बढी मुद्दाको बहस गर्ने र लिखित जवाफ मस्यौदा गर्दा प्रति मुद्दा अतिरिक्त १५ सय रूपैयाँ दिइँदै आएको छ ।
हालै नियुक्त भएका सल्लाहकारलाई पुरानै नियम अनुसार सेवा/सुविधा दिने कि वा पुनर्विभार गर्ने भन्नेबारे निर्णय भइसकेको छैन ।
प्रकाशित : भाद्र १३, २०७९ १६:४०