३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

मध्यरातमा तरकारी मेला

दिनभर तयार गरेको तरकारी लिएर किसान मध्यरातमा नगदेश पुग्छन्, व्यापारी पनि तरकारी किन्न मध्यरातमै आइपुग्छन्, आफ्नो उत्पादनको मूल्य आफैंले तोकेर किनबेच गर्छन्
लिला श्रेष्ठ

भक्तपुर — ३५ वर्षअघिसम्म खर्पनमा तरकारी बोकेर स्वयम्भू, कालीमाटी, बौद्धसम्म पुग्थे, मध्यपुर थिमि नगरपालिका–७ नगदेश बाहनानीका राजकुमार भेजु ।

मध्यरातमा तरकारी मेला

उनका बुबा, बाजेले पनि खर्पनमै तरकारी बोकेर परिवार धाने । केही वर्ष भयो, उनको दैनिकी फेरिएको । अहिले खर्पन बोकेर काठमाडौंसम्म पुग्दैनन् । उनले उत्पादन गरेको तरकारी लिन व्यापारी नगदेशमै आइपुग्छन् ।

राजकुमारको परिवार दिनभर तरकारी गोडमेल गर्न, टिप्न, केलाउन र मुठा बाँध्न व्यस्त हुन्छ । साँझ खाना खाइवरी आराम गर्छन् । बेच्न तयार पारेको तरकारी बोकेर उनी मध्यरातमा नगदेशस्थित तरकारी बजार पुग्छन् । ‘हरेक दिन राति १२ बजेदेखि ४ बजेसम्म बजार चल्छ,’ उनले भने, ‘रात छिप्पिँदै गर्दा मध्यपुर थिमिवासी तरकारी बेच्न ब्युँझिन्छन् ।’

सोमबार मध्यरातमा नगदेशस्थित तरकारी बजारमा पुग्दा राजकुमारले भनेजस्तै दृश्य देखियो । कोही तरकारी ओसार्नमा व्यस्त, कोही मूल्य तोक्नमा त कोही धमाधम बेचिरहेका थिए । मेलालाई हेर्दा त्यहाँका किसान र व्यापारीलाई कहिल्यै मध्यरात हुन्छ जस्तो लाग्दैन । व्यापारीहरू ताजा तरकारी लिन मध्यरातमै यहाँ आउँछन् । किसानले आफ्नो उत्पादनको मूल्य आफैं तोक्छन् र बिक्री गर्छन् । ‘आफ्नो उब्जनी बिचौलियालाई सुम्पिनु पर्दैन,’ उनले भने, ‘किसानले सोझै आफ्नो मूल्य पाउँछन् ।’ व्यापारीले यहाँको तरकारी बौद्ध, कालीमाटी, धादिङ, पोखरा, चितवनसम्म पुर्‍याउने उनको भनाइ छ ।

राजकुमारले ३ रोपनीमा तरकारी खेती गरेका छन् । ‘विशेष गरी हरियो लसुन, प्याज, मूला, गाँजर, हरियो धनियाँ, रायो, फर्सीको मुन्टा, चमसुर, पालुङलगायत साग अनि मौसमअनुसारका विभिन्न तरकारी उत्पादन गर्छौं,’ उनले भने, ‘वर्षभरि नै व्यापार चल्छ । काठमाडौं, पोखरा, चितवनका होटलमा मध्यपुर थिमिको तरकारी पाक्छ ।’

नगदेशकै चन्द्रबहादुर बादे पनि ३ दशकअघिसम्म बाउबाजेसँगै खर्पनमा तरकारी बोकेर कालीमाटी, असन, वसन्तपुर पुग्थे । उनी अझै पनि खर्पनमै तरकारी बेच्न निस्किन्छन् तर गन्तव्य झन्डै २ सय मिटर दूरीमा पर्ने यही तरकारी मेलासम्म मात्र हुन्छ । ‘अहिले धेरै सुख छ, पहिले–पहिले घण्टौं धाएर तरकारी बेच्थ्यौं,’ उनले भने, ‘अहिले आँगनमै तरकारी मेला लाग्छ ।’ चन्द्रबहादुर खेतमा धान रोप्दैनन्, मौसमअनुसारका तरकारी फलाउँछन् । ‘अन्नमा भन्दा तरकारीमै फाइदा छ, एक–दुई महिनामा तरकारी बेच्न मिल्छ,’ उनले भने । उनले २ रोपनीमा तरकारी खेती गरेका छन् ।

चन्द्रबहादुरको जस्तै अधिकांश नगदेशवासीको मुख्य आम्दानीको स्रोत तरकारी खेती नै हो । यहाँका एक किसानले तरकारी बेचेरै मासिक ३–५ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । लाछिटोल, बाकुननी, सिवाटोल, इनायटोल, चोडे, भुलाँखेल, निकोसेरा, चपाचो, सिद्धिकाली, बोडे सरस्वती खेल, मूलपानी क्षेत्रका किसान पनि नगदेशमै तरकारी बेच्न आइपुग्छन् । ‘होलसेलमा तरकारी बिक्री हुन्छ । नजिकको बजारमा आफ्नो उब्जनी बेच्न पाउँदा आनन्द आउँछ,’ स्थानीय वीरेन्द्रभक्त श्रेष्ठले भने, ‘यहाँ दैनिक २ सयदेखि ३ सय जनासम्म किसानले तरकारी बेच्छन् ।’

स्थानीय एवं अग्रज पत्रकार बाबुकाजी साँछे श्रेष्ठका अनुसार मल्लकालदेखि नै नगदेश हरियो तरकारीका लागि पकेट क्षेत्र हो । करिब ५ सय वर्षअघि नगदेशमा बस्ती बस्न थालेपछि नै स्थानीयले तरकारी खेतीलाई पेसा बनाउँदै आएका हुन् । २०४४–४५ सालसम्म मध्यपुर थिमिको लोकन्थली र बोडेमा पनि हाल नगदेशमा लागेजस्तै तरकारी मेला लाग्थ्यो । तर, त्यस बेला नगदेशमा भने यस्तो मेला लाग्दैन थियो ।

‘२०४५ सालपछि थिमि, नगदेश, निकोसेरालगायतका किसानले नगदेशलाई तरकारी संकलनको केन्द्र बनाए । संकलित तरकारी खर्पनमै बोकेर उपत्यकाका तरकारी बजारहरूमा पुर्‍याइए,’ उनले भने, ‘त्यही संकलन केन्द्र अहिले मेलामा स्थापित भएको हो ।’ लकडाउनयता मेला झन् फस्टाएको उनी बताउँछन् । ‘राति २ बजेपछि तरकारी बेच्नेहरू लकडाउनपछि मध्यरातमै आउन थाले,’ उनले भने । मध्यपुर थिमिका अधिकांश किसानले नगदेशमै तरकारी बेच्ने गरेको बालकुमारीका रामकृष्ण श्रेष्ठ बताउँछन् ।

प्रकाशित : भाद्र ९, २०७९ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?