२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४६

अदालतको आदेशविपरीत महाकविको घर पुनर्निर्माण

घर नभत्काई प्राचीन स्वरुपमै संरक्षण गर्न भनिए पनि आधुनिक शैलीमा लिफ्टसहितको संरचना तयार
भदौ २९ मा उद्घाटनको तयारी, जबर्जस्ती उद्घाटन गरिए मानहानिको मुद्दा लिएर पुनः अदालत जाने चेतावनी
मान्छे मारेर अस्तुचाहिँ संरक्षण गरेजस्तो भयो ।– ज्ञानेन्द्रराज देवकोटा, वास्तुकलाविद्
दामोदर न्यौपाने

काठमाडौँ — सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवास (कविकुञ्ज) पुनर्निर्माण गरिएको छ । २०७८ भदौ १३ मा सर्वोच्चको संयुक्त इजलासले काठमाडौं मैतिदेवीस्थित देवकोटाको घर भत्काउने कार्य प्राचीन स्मारक संरक्षण ऐनविपरीत भएको ठहर गरेको थियो ।

अदालतको आदेशविपरीत महाकविको घर पुनर्निर्माण

अधिवक्ता सञ्जय अधिकारीले घर नभत्काई प्राचीन स्वरूपमै संरक्षण गर्न अन्तरिम आदेश माग गर्दै रिट दर्ता गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै अदालतले प्राचीनता नमासिने गरी संरक्षण गर्न अन्तरिम आदेश नै दिएको थियो । तर, अदालतको आदेशको अवज्ञा गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानले घर भत्काएको थियो भने पुनर्निर्माण पनि आधुनिक तवरले गरेको हो ।

पुनर्निर्माण गर्दा यसअघिको स्वरूप नै बिगारी आधुनिक तरिकाले निर्माण गरिएको अधिवक्ता अधिकारीले बताए । ‘आधुनिक निर्माण सामग्री प्रयोग गरेर बनाइएको छ,’ उनले प्रश्न गरे, ‘पुनर्निर्मित घरमा लिफ्टको व्यवस्था गरिएको छ । यसअघि देवकोटाको घरमा कहीं लिफ्ट थियो ? यस्तो पनि संरक्षण हुन्छ ?’

घर भत्काउँदा पनि प्रज्ञा प्रतिष्ठानले पुरातत्त्व विभागको अनुमति लिएको थिएन । पछि चौतर्फी विरोध भएपछि मात्रै अनुमति लिइएको थियो । पहिला चारतले बनाउने तयारी गरिएकामा पुरातत्त्वकै सिफारिसमा तीन तलामा झारिएको थियो । देवकोटाको घर तीनतले थियो । सर्वोच्चले मुख्य २ बुँदामा ध्यान दिएर संरक्षण गर्न भनेको थियो । पहिलो, आदेश भएको मितिले ३ दिनभित्र पुरातत्त्व विभागबाट निर्णय गराएर निश्चित निर्देशन नभएसम्म कविकुञ्ज निर्माण अघि नबढाई हालकै अवस्थामा राख्नू । दोस्रो, कविकुञ्ज भत्काउँदा फेला पारिएका पुरातात्त्विक वस्तु के–कस्तो अवस्थामा थिए, ती वस्तुको के–कसरी संरक्षण गरिएको छ भन्नेबारेमा तत्काल पुरातत्त्व विभागलाई यसमा संरक्षण प्रयोजनार्थ थप के गर्न आवश्यक छ भनेर सुझाव लिनू । ‘तर यसरी काम गरिएको छैन,’ अधिवक्ता अधिकारीले भने ।

प्राचीन स्मारक संरक्षण ऐनको दफा २ ‘ख’ मा ऐतिहासिक विशिष्ट व्यक्ति बसेको घरलाई समेत पुरातात्त्विक वस्तु मानी सरकारले संरक्षण गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार कविकुञ्जको संरक्षणको जिम्मा पनि सरकारले लिएर प्रतिष्ठानलाई दिएको थियो । प्रतिष्ठानले घर संरक्षण गर्नुको सट्टा संग्रहालय बनाउने भन्दै कविकुञ्ज नै भत्काएको थियो । उक्त कार्यको सर्वत्र विरोध भएको थियो ।

सर्वोच्चले पनि आवश्यक निर्णयसहित सहजीकरण गर्न पुरातत्त्व विभागलाई भनेपछि विभागले ५ सदस्यीय अध्ययन समिति गठन गरेको थियो । समितिले अदालतले सोधेका प्रश्नको जवाफसहित प्रतिवेदन पेस गरेको थियो । घर भत्काइसकेपछि आदेश आएकाले समितिले कविकुञ्जको फोटोका आधारमा प्रतिवेदन तयार गरेको थियो । प्रतिवेदनकै आधारमा भुइँतलासहित तीनतले पाखे छानो भएको घर मौलिक वास्तु शैलीमा परम्परागत निर्माण सामग्री प्रयोग गरी पुनर्निर्माण गराउन २०७८ असोज १४ मा प्रतिष्ठानलाई विभागले पत्र पठाएको थियो ।

विभागको पत्र पाएपछि मंसिर १० मा प्रतिष्ठानका सचिव जगतप्रसाद उपाध्यायले विभागलाई पत्र लेखे । उक्त पत्रमा पुरातत्त्वले चिठी काटेको भोलिपल्टै (असोज १५) बसेको प्रतिष्ठान प्रज्ञा परिषद्को बैठकले पुरातत्त्वले भनेकै शैलीमा निर्माण गर्ने र त्यसका लागि नक्सासमेत संशोधन गर्ने उल्लेख थियो । ‘तर, पत्रमा भनिए पनि कार्यान्वयन भने गरिएन,’ अधिवक्ता अधिकारीले भने, ‘कागजमा नक्सा सच्याइयो तर बनाउँदा न अदालतलाई टेरिएको देखिन्छ, न विभागलाई ।’

प्रतिष्ठानले भने विभागककै पत्रअनुसार नै काम गरेको दाबी गरेको छ । ‘चार तला बनाउने कुरा थियो,’ प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले भने, ‘पुरातत्त्वले भनेपछि तीन तलाको बनायौं । निर्माण अन्तिम चरणमा पुगेको छ ।’ पुनर्निर्मित कविकुञ्जको आगामी भदौ २९ मा उद्घाटन नै गरिँदै छ । ‘उता अदालतमा मुद्दा पनि चल्दै छ, यता उद्घाटनको पनि तयारी हुँदै छ,’ गुरुङले भने, ‘पुरातत्त्वले भनेअनुसारै बनाएको हो । पुरातत्त्वसँग सहमति नै छ ।’

अदालतको आदेशविपरीत निर्मित संरचनाको जबर्जस्ती उद्घाटन गरिए मानहानिको मुद्दा लिएर पुनः अदालत जाने अधिवक्ता अधिकारीले चेतावनी दिए । सम्पदा संरक्षणविद्, वास्तुकलाविद्ले पनि कविकुञ्ज निर्माणप्रति आपत्ति जनाएका छन् । वास्तुकलाविद् ज्ञानेन्द्रराज देवकोटाले कविकुञ्ज पुनर्निर्माणलाई ‘मान्छे मारेर अस्तुको चाहिँ संरक्षण गरेको’ संज्ञा दिए ।

‘महाकविले जीवनको पछिल्लो कालखण्ड बिताएको, धेरै महत्त्वपूर्ण सिर्जना गरेको स्थानको नामोनिसान मेटाउने गरी ठाउँ कब्जा गरेर बनाएकामा साह्रै चित्त दुखेको छ,’ उनले भने, ‘महत्त्वपूर्ण धरोहरको यथास्थितिमै संरक्षण गर्नुपर्छ भन्ने जान्दाजान्दै प्राज्ञहरूबाटै यस्तो नजरअन्दाज हुनु दुःखद हो ।’

उनका अनुसार महाकवि देवकोटा बिरामी पर्दा कठिनताका साथ चढेको लिस्नो भाँचेर फालिएको छ । माटोले लिपेर राखिएको सुत्ने ओछ्यान हराएको छ । छ त केवल बाहिरी र देखावटी सामान । यस्तो सम्पदा सरकारले नै मास्नु दुःखलाग्दो भएको उनको भनाइ छ । ‘यसले स्रष्टा र तिनका सिर्जनालाई लिएर प्रज्ञा प्रतिष्ठान र सरकारको सम्पदाचेत कहाँनेर छ भन्ने प्रस्ट हुन्छ,’ उनले भने, ‘हाल बनेको संरचनाको महाकविको घरसँग कुनै साइनो लगाउने ठाउँ नै छैन । केही बाहिरी रूपलाई हेरेर देवकोटाको घर भने पनि यो नक्कली घर हो । यसले देवकोटाको इतिहास मेटाएको छ ।’

प्रकाशित : भाद्र ८, २०७९ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारी ठग्नेलाई कारबाहीको दबाब दिन प्रमुख विपक्षी दल कांग्रेसले गरेको सडक आन्दोलन घोषणालाई कसरी लिनुभएको छ ?