८२ जना बन्दकर्ता पक्राउ, ठाउँठाउँमा तोडफोड र आगजनी- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

८२ जना बन्दकर्ता पक्राउ, ठाउँठाउँमा तोडफोड र आगजनी

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै चारवटा साना वाम घटकले घोषणा गरेको नेपाल बन्दका क्रममा ८२ जना पक्राउ परेका छन् । नेपाल बन्दका क्रममा तोडफोड तथा आगजनी र हुलहुज्जत गर्ने ८२ जना विभिन्न जिल्लाबाट पक्राउ परेका हुन् ।

प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले काठमाडौं र ललितपुरसहितका जिल्लाबाट उनीहरुलाई नियन्त्रणमा लिइएको बताए । प्रवक्ता राईका अनुसार काठमाडौंबाट २४, ललितपुरबाट १, चितवन र दाङबाट ७/७, काभ्रे र बाग्लुङबाट ८/८, म्याग्दी, बर्दिया, इलाम र डोटीबाट २/२, अर्घाखाँचीबाट ३, कैलालीबाट ४, बाजुराबाट १० र कञ्चनपुरबाट ३ जना पक्राउ परेका हुन् । बन्दकर्ताले विभिन्न १७ जिल्लामा तोडफोड, आगजनी तथा हुलहुज्जतका गतिविधि गरेको प्रहरीले जनाएको छ ।

चन्द नेतृत्वको नेकपा र सरकारबीच २०७७ फागुन २० मा भएको सहमति कार्यान्वयनलगायत माग राख्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युष्टि पार्टी, विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र कर्णदीप बुढाथोकी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले सरकारविरुद्ध बन्द घोषणा गरेका थिए । बन्दकर्ताले काठमाडौंको कोटेश्वरमा बा ४ ख ९३९४ नम्बरको बसमा ढुंगा प्रहार गरी सीसा फुटाएका छन् । ज्ञानेश्वरमा इ-सफ्टवेयर कलेजमा ढुंगा प्रहार गरी झ्यालका सीसा फुटाएका छन् । बिजुलीबजारस्थित किंस कलेजमा पनि ढुंगा प्रहार गरी सीसा फुटाएको प्रहरीले जनाएको छ । बानेश्वर थापागाउँमा सडकमा गुडिरहेको नेपाल यातायातमा पनि ढुंगा प्रहार गरी बन्दकर्ताले झ्यालका सीसा फुटाएका छन् । प्रहरीका अनुसार चितवनमा एउटा सानो गाडी, ३ वटा ठूला बस र २ वटा ट्रकमा तोडफोड गरेका छन् ।

बन्दकर्ताले काभ्रेमा एउटा बस, दाङमा बीमा दाबी गर्न टिपर साहुकै निर्देशनमा कर्मचारीले तोडफोड, आगजनी गरेका छन् । बैतडीको सुनर्या गाउँपालिका २ स्थित सडकमा रातो कपडाले बेरेको अवस्थामा प्रेसर कुकर बम फेला परेको छ । त्यस्तै धुलिखेलमा शंकास्पदरुपमा सडकमै प्रेसर कुकर फेला परेको छ । यसैगरी पोखरा महानगरपालिका–२६ स्थित बुढीबजारमा बन्दकर्ताले राखेको शंकास्पद बस्तु फेला परेको छ । रुपन्देहीको सैनामैना, बर्दियाको गुलरिया र ठाकुरबाबालगायत एक दर्जन बढी स्थानमा सर्वसाधारणलाई त्रसित बनाउन राखिएका शंकास्पद बस्तु फेला परेको र सुरक्षाकर्मीले निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।

डेढ वर्षअघि सरकार र चन्दसमूहबीच भएको तीन बुदे सहमतिमा ‘दुवै पक्ष (नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टीबीच देशको राजनीतिक समस्या वार्ता तथा संवादबाट समाधान गर्ने, नेकपाले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकार नेकपामाथी लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता/कार्यकर्ताको रिहाई र सम्पूर्ण मुद्दा खारेज गर्ने’ उल्लेख थियो । तर, सहमति अझैसम्म काार्यन्वयनमा नआएको भन्दै चन्द समूहसहित चार साना वाम घटकले सरकारविरुद्ध बन्द आह्वान गरेका थिए ।

२०७५ फागुन २८ मा तत्कालीन केपी ओली नेतृत्वको सरकारले चन्द समूह हिंसात्मक र आपराधिक गतिविधिमा संलग्न हुन थालेको आरोप लगाउँदै उसका गतिविधिमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि सरकारले प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)लाई चन्द समूहका गतिविधि नियन्त्रण गर्न देशभर परिचालन गरेको थियो । त्यसक्रममा चन्द समूहका २ हजार १ सय बढी नेता/कार्यकर्ता पक्राउ परेकामा ६० जिल्लामा जिल्ला प्रशासन कार्यालयबाट ६ सय १० र विभिन्न जिल्ला अदालतमा ३ सय २२ वटा मुद्दा दर्ता भएका थिए । जिल्ला प्रशासनमा दर्ता भएका ५ सय २३ वटा मुद्दा फिर्ता भइसकेको, ८७ वटा मुद्दा किनारा लाग्न बाँकी भएको सरकारले जनाएको छ ।

त्यस्तै ३८ वटा मुद्दा फिर्ताका लागि हालै प्रक्रिया अघि बढाइएको गृह मन्त्रालयले जनाएको छ । विभिन्न जिल्ला अदालतमा दायरमध्ये १ सय १९ वटा मुद्दा टुंगिएको र बाँकीको हकमा अध्ययन भइरहेको भन्दै सहमति कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको गृहमन्त्री बालकृष्ण खाँणले सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाएका थिए ।

प्रतिबन्धको अवधिमा चन्द समूहले १ सय ९ वटा विस्फोट, २ सय ५७ आगजनीका घटना भएका थिए । आफैंले थापेको धरापमा ७ र प्रहरी कारबाहीमा ४ जना नेता–कार्यकर्ताले ज्यान गुमाएका थिए । चन्द समूहबाट तीन प्रहरीसहित ६ जना मारिएका थिए । प्रहरीसहित प्रतिबन्धको अवधिमा २ हजार १ सय बढी पक्राउ परेकोमा १ सय ४० जना पुर्पक्षमा थुनामा पठाइएकामा पछिल्लो पटक केही व्यक्तिमात्रै कारागारमा छन् ।

तर, चन्द समूहले सहमतिलाई कार्यान्वयनमा लैजानुको साटो अल्झाएर लम्ब्याउँदै लगेको भन्दै आन्दोलनमा जानेसम्मको चेतावनी दिएको छ । त्यही क्रममा मंगलबार चार दलले एकदिने नेपाल बन्द घोषणा गरेको थियो ।

प्रकाशित : भाद्र ७, २०७९ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्

बन्चरेडाँडा जाने सडक ‘फास्ट ट्रयाक’ मा बनाइने, ७ महिनामा सक्ने लक्ष्य

विमल खतिवडा

काठमाडौँ — बालाजु–रानीपौवा सडक खण्डको निर्माणलाई टुक्र्याएर ‘फास्ट ट्रयाक’मा नयाँ ठेक्का प्रक्रिया थालिने भएको छ । ७ महिनाभित्र काम सक्नेगरी ठेक्का आह्वान गर्ने तयारी भएको सडक विभागले जनाएको छ । उक्त खण्डको १७.१० किलोमिटर सडक स्तरोन्नतिका लागि आठ वर्षअघि भारतीय निर्माण कम्पनी एआईपीएलसँग शैलुङ कन्स्ट्रक्सनले संयूक्त ठेक्का लिए पनि काम हुन सकेको थिएन ।

शैलुङ कन्स्ट्रक्सन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीको हो । ७ पटक म्याद थप्दा पनि ठेकेदारले काम नगरेपछि सडक सुधार तथा विकास आयोजना निर्देशनालयले गत असार ५ मा ठेक्का तोड्दै सार्वजनिक खरिद अनुगमन कार्यालयसमक्ष निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो । फोहोर बाेक्ने ट्रक जान पनि समस्या भएपछि चाँडो निर्माण सक्नेगरी मुड्खु–तीनपिप्ले खण्डको ५.५ किलोामिटरमा नयाँ ठेक्का गर्न लागिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए ।

‘मुड्खुदेखि तीनपिप्लेसम्मको सडकमा समस्या छ, फोहोर बोकेर बन्चरेडाँडा जाने सडक पनि यहीं हो,’ महानिर्देशक थापाले भने, ‘यसलाई मुल ठेक्काबाट छुट्याएर छिटो विधिबाट काम गर्न मन्त्रिपरिषद्‌मा सहमतिका लागि पठाइएको थियो, त्यही अनुसार निर्णय भएको छ, एक/दुई दिनभित्र यसको ठेक्का आह्वान हुने छ ।’ सोमबार बसेको मन्त्रिपरिषद्‌ले निर्माण कार्य तत्काल अगाडि बढाउन विशेष परिस्थितिमा बोलपत्र आह्वान गरी खरिद प्रक्रियामा लैजान सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।

‘स्थानीयको माग सडक चाँडो बन्नु पर्‍यो भन्ने छ, काठमाडौंको फोहोर लैजान पनि सडकले गर्दा समस्या भइरहेको छ,’ उनले भने, ‘त्यसैले बढीमा ७ महिनाभित्र यो खण्डको काम सक्नेगरी ठेक्का गरिने छ ।’ त्यसका लागि ७ दिनको म्याद दिएर ठेक्का निकालिने छ । लागत रकम करिब १६ करोड रुपैयाँ अनुमान छ । जुन खण्ड नेपाल सरकारबाटै बनाइने छ । ‘अरु खण्डको काम भारतीय एक्जिम बैंकको ऋणबाटै गरिने छ,’ उनले भने, ‘तीनपिप्ले–त्रिशुली खण्डलाई एउटै ठेक्का बनाएर काम गरिने छ ।’ यसअघि सडक स्तरोन्नतिको काम सरकारले भारतीय एक्जिम बैंकबाट ऋण लिएर गरेको हो ।

प्रकाशित : भाद्र ७, २०७९ १८:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×