२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अन्डरग्राउन्ड पार्किङका पसल हटाउन सुरु

नक्सापास गर्दा पार्किङ गर्ने गरी ९० प्रतिशतसम्म कर छुट लिएका कम्प्लेक्सकै अन्डरग्राउन्ड पार्किङस्थलमा पसल थापेको पाइएपछि महानगरद्वारा कडाइ
लिला श्रेष्ठ

काठमाडौँ — काठमाडौं महानगरपालिकाले व्यापारिक भवनका पार्किङस्थलमा अनधिकृत रुपमा राखिएका पसलहरू हटाउन थालेको छ । महानगरको शहरी व्यवस्थापन विभाग (भवन निर्माण इजाजत विभाग) बाट भवनको भुइँ तल्ला, बेसमेन्टमा सवारीसाधन पार्किङको प्रयोजन खुलाई नक्सापास गरेर व्यापारिक प्रयोजनका गतिविधि सञ्चालन गरेको पाइएपछि महानगरले व्यापारिक भवनहरूबाट त्यस्ता पसल, व्यवसाय हटाउने कार्य सुरु गरेको हो ।

अन्डरग्राउन्ड पार्किङका पसल हटाउन सुरु

महानगर प्रमुख बालेन्द्र शाहसहितको टोलीले सोमबार नयाँ बानेश्वरस्थित बानेश्वर कम्प्लेक्सको अन्डरग्राउन्ड पार्किङस्थलमा सञ्चालित पसलहरू हटाएको छ ।

यसअघि अन्डरग्राउन्ड, बेसमेन्ट, सेमी बेसमेन्ट, गोदाम र भुइँतलामा नक्सापास बमोजिम प्रयोग नगरी अन्य प्रयोजनमा प्रयोग गरेको देखिएकोले ३५ दिनभित्र पार्किङको व्यवस्था गर्न महानगरले गत साउन २ मा सूचना प्रकाशन गरेको थियो । बानेश्वर कम्प्लेक्सको पार्किङस्थल छिर्ने स्थानमै घरधनीले सटर बनाएर पसल सञ्चालन गर्न दिएको अनुगमनको क्रममा भेटिएको थियो । नयाँ बानेश्वर चोकआसपासका अन्य सपिङ कम्लेक्स र व्यापारिक भवनहरूको अवस्था पनि उस्तै पाइएको थियो । पार्किङका लागि तयार संरचनाभित्र भर्‍याङ बनाएर पसल सञ्चालन गरेको पाइएपछि शाहसहितको नगर प्रहरीको टोलीले नियमविपरीत बनाइएका भर्‍याङलगायतका संरचना हटाउन थालेको हो ।

क्रमशः अन्य भवनहरूको पनि अनुगमन हुने र नियमविपरीत बनाइएका संरचना हटाइने महानगरको भवन विभाग प्रमुख सुरज शाक्यले बताए । उनले सबै घरधनीलाई त्यस्ता संरचना तत्काल हटाउन पुनः निर्देशन दिए । ‘काठमाडौंमा १० हजार स्क्वायर फिट क्षेत्रफलको संरचना निर्माण गर्दा बेसमेन्ट पार्किङ अनिवार्य गरिएको छ,’ उनले भने, ‘अन्डरग्राउन्ड पार्किङको स्वीकृति लिएको ठाउँमा भर्‍याङ बनाएर पसल सञ्चालन गरेको पाएकाले भत्काउन थालेका हौं ।’

महानगरपालिकाले हरेक वर्ष १० हजार स्क्वायर फिटभन्दा बढी क्षेत्रफल भएका सयभन्दा बढी भवनको नक्सापास गर्दै आएको उनले जानकारी दिए । ‘गत आर्थिक वर्ष ०७८/७९ मा मात्र अन्डरग्राउन्ड र बेसमेन्ट पार्किङका लागि मात्रै ? वटा भवनले स्वीकृति लिएका छन्,’ उनले भने । उनका अनुसार सोमबार आधा दर्जन संरचनाहरूको अनुगमन गरिएको छ ।

महानगरले घर बहालमा लगाएपछि पार्किङको व्यवस्था घरधनीले नै गर्नुपर्ने पनि स्पष्ट पारेको छ । ‘भाडामा बस्नेहरूका लागि पनि घरधनी आफैंले पार्किङ सुरक्षाको व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘अब ३२ वटै वडामा अनुगमन गर्छौं । जुन प्रयोजनको लागि स्वीकृति लिएको हो, सोही प्रयोजनका लागि प्रयोग गर्न अनुरोध गर्दै आएका छौं । नक्सा स्वीकृत प्रयोजनविपरीत भवन प्रयोग गरेको पाइएमा महानगरबाट सेवाग्राहीलाई प्रदान गरिने सेवासुविधा उपलब्ध गराउन हामी बाध्य हुनेछैनौं ।’

महानगरको समन्ययमा काठमाडौंको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने गरी प्रयास थालिएको उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए । जसअनुसार सुरुमा व्यापारिक भवनहरूको ट्राफिक व्यवस्थापन गर्न खोजिएको उनको भनाइ छ । यसअघि ट्राफिक प्रहरी प्रभाग कोटेश्वर प्रमुख किशोर तामाङको नेतृत्वमा नयाँ बानेश्वर, सुविधानगर, मिनभवन, शंखमुल, बुद्धनगरलगायत क्षेत्रको फुटपाथमा सञ्चालित पसल हटाएर दुईपांग्रे सवारी पार्किङ गर्न खुला गरिएको थियो ।

बेसमेन्ट/अन्डरग्राउन्ड पार्किङको नक्सासहित बनाइएको भवनलाई महानगरले ९० प्रतिशत कर छुट दिँदै आएको छ । त्यस्तो सुविधा लिएका भवनहरूले सही उपयोग गरेको छ–छैन भन्नेबारे अनुगमन गरिरहेको र सुविधा लिएका भवनको विवरण तयार गरी कारबाही प्रक्रिया अघि बढाइएको शाक्यले बताए । उनका अनुसार महानगरले तारे होटेल, सिनेमा हल/सभागृह/थिएटर, व्यापारिक कम्प्लेक्स, नर्सिङहोम, पोलिक्लिनिक, सरकारी/अर्ध सरकारी कार्यालय निर्माण गर्दा २०/२० प्रतिशत क्षेत्र तथा विद्यालय, क्याम्पस निर्माण गर्दा १५ प्रतिशत क्षेत्र पार्किङका लागि छुट्याउनुपर्ने मापदण्ड तोकेको छ र त्यहीअनुसार कर छुट पनि दिँदै आएको छ ।

प्रकाशित : भाद्र ७, २०७९ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?