कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

परिश्रमीलाई अपमान

मधेसी भएकै आधारमा हेपिने प्रवृत्ति गरिब र विपन्न वर्गमा मात्रै सीमित छैन, शिक्षित र समाजमा प्रतिष्ठा कमाएका व्यक्ति पनि यसबाट अछुतो छैनन्
मधु शाही

काठमाडौँ — उमेरले आफूभन्दा साना देखिन्थे । प्रहरी पोसाक लगाएका एक युवा जुत्ता सिलाउन आए । ‘यो जुत्ता सिलाइ दे त ∕,’ बुबा समानका ती वृद्धलाई उनले जुत्ता सिलाउन असभ्य तरिकाले निर्देशन दिए । चर्को घाममा चिटचिट पसिनाले भिजेका ती वृद्ध भने चुपचाप उल्टै मिठो भाषामा ‘हुन्छ हजुर ∕’ भन्दै ती युवाको जुत्ता सिलाउन थाले ।

परिश्रमीलाई अपमान

थापाथलीस्थित सडक पेटीमा जुत्ता सिलाउने सप्तरीका सनकलाल सार्कीले काठमाडौंमा २५ वर्षदेखि फाटेका जुत्ता सिलाइरहेका छन् । धुलो, हिलो पुछेर टलक्क जुत्ता टल्काइदिए पनि उनको परिश्रमलाई सबैजसोले अपमान मात्रै गर्ने गरेको भुल्नलायक अनुभव उनीसँग छ । तं, भैया, मधेसिया, ओई मधेसीलगायत शब्द काम गर्दा प्रायः उनले सुनिरहने शब्द हुन् । ‘परिश्रम त गर्छौं तर काम गरेर खाँदा पनि अपमान पाउँछौं,’ उनी भन्छन्, ‘यदाकदा दाइ भन्ने आउँछन्, तपाईं भन्ने त विरलै मात्र सुन्छु ।’

सनकलाल वर्षौंदेखि यस्तै सम्बोधन खेपिरहेका छन् । अहिले कसले के भनेर बोलाउँछ उनी ख्याल गर्दैनन् । काममा मात्रै ध्यान दिने गर्छन् । ‘अब त बानी भइसक्यो, सुन्दा सुन्दै यही ठीकलाग्छ,’ उनले भने ।

काठमाडौंको थापाथलीस्थित सडक किनारमा ग्राहकको प्रतीक्षामा रहेका सप्तरीका सनकलाल सार्की । तस्बिर : मधु शाही/कान्तिपुर

पाटनढोकानजिकै पीपलको बोट छ । खैरो रङको सर्ट, खरानी रङको पाइन्ट र काँधमा गम्छा राखेका ६० वर्षीय भागनारायण राम महरा जुत्ता सिलाउन व्यस्त छन् । जुत्ता सिलाउने सियो, धागो, कैंचीलगायत सामग्री लिएर हरेक दिन बिहानै उनी यो ठाउँमा आइपुग्छन् । उनका अनुसार पाटनमै बस्न थालेको २०४६ सालदेखि हो । त्यही ठाउँ, त्यही काम । २० रुपैयाँमा जुत्ता सिलाएको समय अहिले महँगिएर २ सय रुपैयाँ पुग्यो । समयसँगै राजनीतिक परिवर्तन आयो । मधेसले थुप्रै उन्नति पनि गर्‍यो । देशमा पहिचानका कुरा उठिरहेका छन् । नागरिक सम्मानको बहस चलेको छ । यद्यपि यी वृद्धलाई यस्ता कुनै पनि परिवर्तनले सम्मान दिन सकेको छैन । ‘काठमाडौंमा ३० वर्षअघि आउँदा पनि मधेसिया नै भनेर हेप्थे,’ उनी भन्छन्, ‘अहिलेपनि उस्तै छ ।’

ललितपुरको पाटनढोकामा जुत्ता सिलाइरहेका सर्लाहीका भागनारायण राम महरा ।

सर्लाही घर भएका भागनारायणको मन त्यतिबेला खिन्न हुन्छ, जतिबेला आफ्नो नातिको उमेरका केटाकेटीले हेपेर बोल्छन् । उनी त्यतिबेला युवामा नैतिक ज्ञान हराउँदै गएको ठान्छन् ।

शंखमूल चोकैमा जुत्ता सिलाउन बसेका ६६ वर्षीय राम कर्ण चमारले आफूलाई अंकल भनेरबोलाएकी एक युवतीलाई सम्झिए । उनका अनुसार एक दिन छाता सिलाउन ति युवती आएकी थिइन् । उनीसँगै उनकी आमा पनि थिइन् । ति युवतीले ‘अंकल छाता सिलाइदिनू न’ भन्दै अनुरोध गरिन् । छोरीको सम्बोधन सुनेर आमाले चर्को स्वरमा गाली गर्न थालिन् । ‘यी मधेसीलाई केको अंकल भन्नुपर्‍यो नि ? राम्रो बोल्यो भने हेप्छन्’ भन्दै छोरीलाई हप्काउन थालिन् । आमा–छोरीको केहीबेर बहस भयो । रामले त्यो दिन युवा पुस्ताको सोचमा केही परिवर्तन आउन थालेको महसुस गरे । ‘केही राम्रा मान्छे पनि छन्, जसले मायाले काम गराउँछन्,’ उनी भन्छन्, ‘धेरैले त सम्मानभन्दा अपमान नै गरेर जान्छन् ।’ राम कर्णले मिठो बोल्ने ग्राहक आए भने पारिश्रम लिनमा आफू लचिलो हुने बताउँछन् । ‘यही बोली मिठो, यही बोली तितो’, उनी भन्छन्, ‘पैसाले सम्मान पाइँदैन, काम गर्दा पनि अपमान गर्छ, काठमान्डु ।’

बुद्धनगरमा चटपटे व्यापार गर्ने रौतहटका धनीराम कर्ण आफूमाथि हेपाह व्यवहारसँगै उचित पारिश्रमिक नदिएको गुनासो गर्छन् । हेर्दा सभ्य देखिने हुनेखानेले नै होच्याएर बोल्ने, चटपटे झिकेर खाइदिने, पैसा दिने बेला पनि किचकिच गर्ने गरेको उनले सुनाए । ‘देख्दा पढेलेखेका र हुनेखानेले नै हेप्छन्,’ उनले भने, ‘चटपटे झिकेर खाइदिन्छन्, पैसा पनि दिँदैनन् ।’ उनले यस्तो न गर्नु भनेर प्रतिक्रिया दिँदा उल्टै ‘मधेसी ठूलो भइस्’ भन्दै हप्काउने गरेको उनले सुनाए ।

शंखमूलमा तरकारी बेच्ने भोला यादवले मधेसी भएकै कारण व्यवहारमा विभेद भोगेको बताउँछन् । ‘कुकुर समाएर तरकारी किन्न आउने साहुले कुकुरलाई मायाले बोलाउँछ तर मधेसीलाई हेप्छ,’ उनी थप्छन्, ‘काठमाडौंमा हाम्रो इज्जत कुकुर जत्ति पनि छैन ।’ ठूलो सहर । व्यापार र सन्तान पाल्न काठमाडौं नआई नहुने बाध्यता छ उनलाई । उनले तरकारी बेचेरै घरमा ५ सन्तान हुर्काएका छन् ।

मधेसको अनुहारलाई हेप्ने प्रवृत्ति गरिब र विपन्न वर्गमा मात्र होइन, शिक्षित र समाजमा छबि बनाएका व्यक्ति पनि यसबाट अछुतो छैनन् । लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा सांसद् लक्ष्मणलाल कर्ण केही साताअघि पुरानो बानेश्वरबाट घर फर्किने क्रममा थिए । ट्याक्सी चढेर घरतर्फ लागेका कर्णले गन्तव्यमा पुगेपछि चालकलाई लागेको भाडा दिए । बाँकी पैसा फिर्ता लिने क्रममा चालकले १० रुपैयाँको भारतीय नोट थमाएपछि कर्णले ‘नेपाली नोट छैन ?’ भनेर सोधे । चालकले कर्णको मुख हेर्दै ‘हजुर त पारि (भारत) जाँदा त चलिहाल्छ नि ! लिनुस् न हजुर !’ भन्दै हाँसेर त्यही भारतीय नोट थमाए । उक्त प्रसंग जोड्दै कर्णले कान्तिपुरसँग भने, ‘यस्ता अपमान हामी आफैंले त सहनुपरेको छ, मधेसका लाखौं नेपालीको हालत कुन अवस्थामा छ भन्ने कुरा यसबाटै छर्लङ्ग हुन्छ ।’ उनले नेपाल हिमाल, पहाड र मधेस मिलेर बनेको हो भन्ने भावनाअनुरूप शासन प्रशासन नचल्दा मधेसीहरू वर्षौंदेखि हेपिनुपरेको बताए ।

‘गर्मी ठाउँमा जन्मेर कालो भइयो । मधेसमा धोतीकुर्ता त्यहाँको हावापानी सुहाउँदो पोसाक हो । के अब हामी गोरो भएनौं, दौरा–सुरुवाल लगाएनौं भन्दैमा हाम्रो राष्ट्रियतामाथि प्रश्न उठाउने ?’ उनले भने, ‘मैले ट्याक्सी चालकबाट भोग्नुपरेको अपमान चालकको दोष होइन, सिंगो राज्य संयन्त्रको चरित्र हो । यसमा सुधार नआएसम्म आगामी दिनमा पनि यस्ता अपमान दोहोरी रहन्छ ।’ मधेस देशको अभिन्न अंग भए पनि, राज्यले मधेसीलाई कहिल्यै पनि आफ्नो राष्ट्रियताबारे चिनाउन नसकेको भन्दै उनले चिन्ता जनाए ।

राजनीतिक विश्लेषक तुलानारायण साहका अनुसार मुलकमा राजनीतिक परिवर्तन भए पनि मधेस र मधेसीप्रतिको दृष्टिकोण परिवर्तन भएको छैन । काठमाडौंको आँखाले मधेसलाई सधैं गरिबी र दोस्रो नागरिकको नजरमा राखेको उनको भनाइ छ । ‘मधेसका ठूलाबडा, बोल्न सक्नेलाई सम्मान गर्छ तर जो सडकमा परिश्रम गरेर जीविकोपार्जन गरिरहेका निमुखा छन्, तिनलाई काठमाडौंको व्यवहार संवेदनाहीन छ,’ उनले भने, ‘तरकारी बेच्ने पहाडी भयो भने हेपिँदैन । कालो वर्ण र मधेसी मूलका नागरिकप्रति राज्य र समाज सधैं विभेदकारी छ ।’ विभेद हटाउन राज्यले यस्तो व्यवहार गर्नेलाई कारबाही गर्नुपर्ने उनले सुझाए ।

प्रकाशित : भाद्र ३, २०७९ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?