हनुमानढोका भ्रमण अब ‘भर्चुअल’- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हनुमानढोका भ्रमण अब ‘भर्चुअल’

‘हनुमानढोका दरबार र त्यसवरपरका धेरै ठाउँ इतिहासका अन्वेषकका लागि चाखलाग्दो ठाउँ हो’
दामोदर न्यौपाने

काठमाडौँ — हनुमानढोका दरबार क्षेत्रको अब घरमै बसेर पनि ‘टुर’ गर्न सकिने भएको छ । त्यसका साथै दरबार क्षेत्रका विषयमा केही जानकारी चाहिएको खण्डमा पनि दिने व्यवस्थासमेत गर्न लागिएको हनुमानढोका दरबार संग्रहालयले जनाएको छ । ‘काम अन्तिम चरणमा पुगेको छ,’ संग्रहालयका कार्यकारी निर्देशक सन्दीप खनालले भने, ‘अब घरमा बसेरै हनुमानढोका दरबारको भर्चुअल टुर गर्न पाइनेछ ।’

कोरोना महामारीको समयमा पर्यटकलाई वसन्तपुर क्षेत्र घुम्न समस्या भएको थियो । यसबाट पाठ सिकेर अब बन्दको बेलामा पनि दरबार क्षेत्र भर्चुअल माध्यमबाटै पनि घुम्ने व्यवस्था गर्न लागिएको खनालले जनाए । ‘यसो गर्दा अनुसन्धानकर्तालाई बढी नै फाइदा पुग्छ,’ खनालले भने ।

खनालका अनुसार तत्कालका लागि ‘भर्चुअल टुर’ निःशुल्क हुनेछ । तर केही समयपछि शुल्क लाग्ने उनले बताए । ‘अहिले परीक्षण गर्दै छौं,’ खनालले भने, ‘यो अवधिमा सेवा निःशुल्क हुनेछ ।’ वसन्तपुर घुम्न ‘डब्लूडब्लूडब्लू डट हनुमानढोका डट जीओभी डट एनपी’ मा लगइन गर्नुपर्नेछ । ‘अनुसन्धान गर्नेहरूले अब हनुमानढोका आउनु नै परेन,’ खनालले भने, ‘यसले आगन्तुकको समय बचत भयो । चाहिएको सूचना घरैमा बसी–बसी पाउने भए ।’

हनुमानढोका दरबार क्षेत्रका मुख्य–मुख्य सम्पदा भिडियोमार्फत ‘टुर’ गराइने छ । अनलाइन प्रयोगकर्ताले यहाँको सांस्कृतिक महत्त्व, प्राचीनता, ऐतिहासिकता, वास्तुशैलीलगायत थाहा पाउनेछन् । हनुमानढोका दरबार क्षेत्र मल्ल राजाले बनाएको राजकीय बासस्थानको रूपमा प्रसिद्ध छ । यहाँ रहेका भवन मल्ल र शाहकालका छन् । मल्लकालभन्दा पुरानो भवन भने नपाइएको इतिहासकार गौतमबज्र बज्राचार्यले जानकारी दिए । उनका अनुसार हनुमानढोको नामकरण पनि पछि विक्रमको अठारौं शताब्दीमा मात्र राखिएको हो ।

मल्लकालभन्दा पनि विशाल राजदरबार यहाँ थिए । दरबार मल्लकालका भए पनि यहाँका मठमन्दिर भने लिच्छविकालीन पनि छन् । सातौं शताब्दीमा निर्माण भएको काष्ठमण्डप यही हनुमानढोका दरबार क्षेत्रमै पर्छ । ‘लिच्छविकालको ऐतिहासिक सामग्री केलाएर हेर्‍यो भने दरबार क्षेत्रको प्राचीनताबारे निकै प्रकाश पार्छ,’ बज्राचार्यले हनुमानढोका राजदरबारमा लेखेका छन्, ‘काठमाडौं पनि शासन व्यवस्थाको दृष्टिले केन्द्रको रूप लिइसकेको थियो ।’

‘भर्चुअल टुर’ ले हनुमानढोका दरबार क्षेत्रप्रति झन् चासो बढाउने संग्रहालय अधिकृत जयनारायण कार्कीले विश्वास व्यक्त गरे । ‘यसले वसन्तपुर क्षेत्र घुम्न इच्छासमेत जगाउने विश्वास छ,’ कार्कीले भने । हनुमानढोका दरबारभित्र र बाहिर थुप्रै सम्पदा छन् । दरबारबाहिर कुमारी घर, मरुसत्तल, त्रैलोक्यमोहन मन्दिर, कविन्द्रपुर, सिंहसत्तल, लक्ष्मीनारायण मन्दिर, माजुदेवल, शिवपार्वती मन्दिर, प्रस्तरको विष्णु मन्दिर, प्रतापध्वज, भवतीको मन्दिर, ठूलो घण्टा, कृष्ण्मन्दिर, कालभैरव, चन्द्रपुर, सुवर्णद्वार, ठूलो जलद्रोणी, सिंहढोका, जगन्नाथ मन्दिर, ठूलो नगरा देगुतलेजु, कोटिलिङ्गेश्वर महादेव जस्ता सम्पदा छन् ।

दरबारभित्र पनि दरबार, मन्दिर र चोक छन् । दरबारभित्र आगम्छे, पञ्चमुखी हनुमान, तलेजु जस्ता मन्दिर छन् । त्यसैगरी, नासलचोक, सुन्दरीचोक, वसन्तपुरचोक, मोहनचोक, दाखचोक न्हुच्छेचोक, कह्रेहोलचोक, लामचोक जस्ता चोक छन् । यहाँको ऐतिहासिक पृष्ठभूमि, प्राचीनता र निर्माणको सिलसिला अन्वेषकका लागि चासोको विषय हुने गरेको कार्कीले बताए ।

बज्राचार्यका अनुसार अहिलेको हनुमानढोका दरबार क्षेत्र एकै राजाको पालामा निर्माण भएको नभई समय–समयमा निर्माण भएको हो । मल्लकालमा लेखिएको हस्तलिखित ग्रन्थ र भाषावंशावलीका अनुसार रत्न मल्लले काठमाडौंको शासकलाई हराएर हिटिचोकमा राजदरबार बनाएको उल्लेख छ ।

रत्न मल्लपछि महेन्द्र मल्ल, प्रताप मल्ल र पृथ्वीनारायण शाहले दरबार विस्तारको काम गरे । राजदरबारको नाम हनुमानढोका दरबार राख्ने कामचाहिँ प्रताप मल्लले गरेको भाषा वंशावलीमा उल्लेख छ । प्रताप मल्लले दरबारको ढोकामा हनुमानको मूर्ति स्थापना गरेपछि दरबारको नाम हनुमानढोका रहन गएको थियो । बज्राचार्यका अनुसार वि.सं. १७२९ मा प्रताप मल्लले हनुमान मूर्ति स्थापना गरेका थिए । मल्लकालमा लेखिएका ऐतिहासिक दस्तावेजमा भने यस दरबारलाई राजकुर, लाजकुट, रायकु भनिएको छ ।

अनेक कालखण्डमा बनेको भएर यहाँका कलाकृतिमा पनि अनेक रूप देख्न पाउँछन्, यहाँको भ्रमण गर्नेले । ‘राजा रत्न मल्लदेखि पृथ्वीनारायण शाहसम्म धेरैजसो मल्ल राजा र शाह राजाका कलाकृति यहाँ पाइन्छ,’ बज्राचार्यले लेखेका छन्, ‘यहाँको कलाकृतिमा दरबारमा बसेर शासन गर्ने मल्ल र शाह राजाको राजनीतिक र आर्थिक परिस्थिति प्रतिविम्बित भएको पाइन्छ ।’

प्रकाशित : भाद्र २, २०७९ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्

मत याः मा लोपोन्मुख १५ बाजा

प्रत्येक वर्ष फरक टोलले यात्रा आयोजना गर्ने भएकाले वर्षैपिच्छे नयाँले बाजा सिक्नुपर्छ, पोहोर अर्को टोलमा सिकेकाले यो वर्ष सोही टोलमा आएर बजाउन पाउँदैनन्
दामोदर न्यौपाने

काठमाडौँ — प्राप्तिका वज्राचार्यले धा बाजा सिक्न लागेको ९ महिना भयो । बाजा सिकिसकेर गुरुसँग बिदा भइसकेको पनि चार दिन बित्यो । प्रशिक्षण सकिए पनि पाटन कोबहाको भगवती फल्चामा अभ्यास गर्न भने आइरहेकी छन् । १८ वर्षीया वज्राचार्यले आउँदो आइतबार हुने मत याः यात्रामा धा बाजा बजाएर ललितपुरको प्राचीन बस्ती परिक्रमा गर्नेछिन् । 

आयुष वज्राचार्य पनि धा बाजाकै अभ्यास गरिरहेका छन् । प्राप्तिका र आयुषजस्तै १३ वर्षदेखि ५५ वर्ष उमेरका सय जनाले नौ महिनादेखि बाजा बजाउन सिकिरहेका छन् । यीमध्ये सबैभन्दा बढीचाहिँ धा बाजा सिक्ने नै छन् । सय जनामध्ये ३६ जनाले धा बाजा सिकिरहेका छन् । योसहित १५ वटा बाजा मत याःमा घन्किन्छन् । तीमध्ये केही बाजा हराउँदै गएकासमेत छन् । ‘हराएका बाजासमेत मत याःले संरक्षण गरिरहेको छ,’ मत याः यात्रा सञ्चालक समितिका अध्यक्ष सुधालाल मुल्मीले भने, ‘ललितपुरका टोलै ब्युँझाउने यो भव्य पर्व हो ।’

मत याः मा दर्जी समुदायले बजाउने पञ्चैबाजादेखि तामाङ समुदायमा प्रचलित ढ्याङ्ग्रोसम्म बजाइन्छ । ज्यापू समाजमा प्रचलित धिमे बाजादेखि किरात समुदायमा प्रचलित मुर्चुङ्गासमेत बजाइन्छ । कुनै बाजा सिकाउन ९ महिना लाग्यो भने कुनै एकै दिनमा पनि सिकिए । एक दिनको बाजा सिक्नेमध्येमा पर्छन् सुवर्ण शाक्य । उनले ढ्याङ्ग्रो बजाउन सिकेका छन् । ‘एकै दिनमा सिकें मैले,’ फाल्चामा धा बजाइरहेका उनले भने, ‘तर धा बाजा सिक्न नौ महिना लाग्छ । यो गाह्रो छ ।’

धिमे, नायु खिंचा, काशी बाजा, खैजडी, कोचाखी, मगःखि, नगरा, दमोखिं, मृद्ग, ढोलक, दः धाँ, धोचा, दरमा, जोनगरा र कान्ताडब गरी १५ प्रकारका हुन्छन् बाजा । यीमध्ये प्रमुख बाजा धा बाजा मानिन्छ । दमोखिंलाई चाहिँ महत्त्वपूर्ण बाजा मानिन्छ । दमोखिंलाई देव बाजा मानिने मुल्मीले बताए । दमोखिंको विभिन्न भागमा विभिन्न देवदेवी विराजमान भएको मानिन्छ । दमोखिंको दायाँ भागमा महालक्ष्मी, बायाँमा महाकाली, बीचमा भैरव विराजमान भएको मानिन्छ । दायाँ चक्कामा नृत्यनाथ र बायाँमा महांकाल विराजमान भएको मानिन्छ ।

ललितपुरका १० टोलले मनाउँछ यो मत याः । हरेक वर्ष बेग्लाबेग्लै टोलले आयोजना गर्छ । यो वर्ष कोबहाको पालो परेको छ । ‘हाम्रो पालो २०६९ सालमा आएको थियो, यो पालि २०७९ मा आयो,’ मुल्मीले भने, ‘अब २०८९ सालमा हाम्रो टोलको पालो आउँछ । यो टोलमा ललितपुर महानगरका ९, ११, १२ र १६ गरी ४ वटा वडा पर्छन् । नकवहिल, चक्रवहिल, बुबहाल, ओकुबहाल, कोबहाल, मंगलबजार, इखाछें, हौगल, इखालखु र सौगाल गरी १० वटा टोलले आयोजना गर्छ मत याः । ‘यहाँ कुनै जातीय विभेद छैन,’ मुल्मीले भने, ‘सबै जाति सहभागी हुन्छन् ।’

प्रत्येक वर्ष फरक टोलकाले यात्रा आयोजना गर्ने भएकाले प्रत्येक वर्ष नयाँ मान्छेले बाजा सिक्नुपर्छ । पोहोर अर्को टोलमा सिकेको मान्छेले यो वर्ष अर्को टोलमा बजाउन पाउँदैन । ‘हाम्रो टोलमा पालो आएपछि हाम्रै टोलकाले सिक्नुपर्छ । अघिल्लो वर्ष सिकेकाले यहाँ आएर बजाउन पाउँदैन,’ मुल्मीले भने, ‘प्रत्येक वर्ष नयाँले सिक्नुपर्छ । १० वर्ष पहिला सिकेकाले पनि बिर्सिसकेको हुन्छ ।’ यो वर्षको मत याः सिकिएको दुई महिनापछि नै नयाँ टोलले सिक्न सुरु गरिसकेको हुन्छ । ‘यस अर्थमा वर्षर्भैरि कुनै न कुनै टोल मत याःमा जुटेको हुन्छ,’ उनले भने, ‘वर्षैभरि कतै न कतै उत्सव भइरहेको पर्व हो मत याः ।’

नवीनमंगल जोशीले ललितपुरको मत याः मा उल्लेख गरेअनुसार दसौं शताब्दीमा राजा गुणकामदेवको पालामा यो यात्रा पुनरुत्थान गरिएको थियो । गुणकामभन्दा अगाडि १४ सय वर्ष पहिला राजा बालार्चन देवको पालादेखि नै ललितपुर नगरमा आफ्नो परिवारको कोही सदस्यको मृत्यु भएमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै मत याः सुरु गरेको जोशीले उल्लेख गरेका छन् । मत याः गाईजात्राको भोलिपल्ट पर्छ ।

बौद्ध समुदायको पर्वका रूपमा चिनिने मत याः मा ललितपुरभित्रका चैत्य, बहा, बही र विहारको परिक्रमा गरिन्छ । निकु जात्रा, दीपजात्रा र शृंगारभेरी जात्रा भनेर चिनिने मत याः को बेलुका मात्र यी १५ किसिमको बाजा बजाएर टोल घुमिन्छ । बाजा बजाउनु अघिचाहिँ दीप लिएर घुम्ने गरिन्छ । मत याः सुरु हुनुभन्दा दुई साताअघि श्रावण शुक्लपक्ष प्रतिपदा तिथिबाट एक सातासम्म नेकु बाजा बजाएर टोल घुम्ने गरिन्छ । यसलाई व्वगी जाने कार्यक्रम भनिन्छ । व्वगी मध्यरातमा गएर बिहान घाम झुल्कनुअघिसम्म जारी रहन्छ ।

वर्षायाममा बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक प्रकोप नहोस् भनेर नेकु बाजा फुक्दै चैत्य घुम्ने परम्परा रहेको मुल्मीले बताए । ‘यसरी परिक्रमा गर्नाले सम्भावित अनिष्ट हट्ने विश्वास गरिन्छ,’ उनले भने, ‘ढ्याङ्ग्रो, डम्फु जस्ता थर्किने बाजाबाट निस्कने तिखो र चर्को आवाजले भूतप्रेत पन्छिने जनविश्वास छ ।’

मत याः को दिन ललितपुर परिक्रमा गरिन्छ भने भोलिपल्ट बुङ्मती गइन्छ । तेस्रो दिन स्वयम्भूसम्म पुगिन्छ । मत याः को चौथो दिन गणेश पूजा गरिन्छ । ललितपुरका विभिन्न गणेश मन्दिरको परिक्रमा गरिन्छ । अनि त्यही दिन अर्को वर्षको यात्राको व्यवस्थापनको जिम्मा अर्को टोललाई हस्तान्तरण गरिन्छ ।

प्रकाशित : श्रावण २५, २०७९ १०:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×