भेटाएको नागरिकता दुरुपयोग गरी ठगी धन्दा गर्ने पक्राउ

भक्तपुर — भेटाएको नागरिकताको दुरूपयोग गरी कम्पनी खोलेर ठगी धन्दा चलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमि नगरपालिका–९ का २८ वर्षीय सुरेश भनिने प्रदीप कर्मचार्य, मुगु खत्याड गाउँपालिका–११ घर भई काठमाडौं बुढानीलकण्ठ नगरपालिका–२ बस्ने २४ वर्षीय विशाल कार्की र खत्याड गाउँपालिका–८ घर भई बुढानीलकण्ठ नगरपालिका–२ बस्ने २१ वर्षीय रामकृष्ण रावत छन् ।

उनीहरुले निरज पाण्डेयको हराएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सक्कल नागरिकताको प्रमाणपत्र भेटाएर उक्त नागरिकताको दुरुपयोग गरी कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरमा ‘एभरेष्ट लिंक इन्टरनेसनल एजुकेसन प्रालि’ नामको निजी कम्पनी दर्ता गरेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार उक्त कम्पनीका सीईओ सुरेश, कम्पनीका सहजकर्ता रामकृष्ण बनेको र सेञ्चुरी बैंक तथा कुमारी बैंकमा निरज पाण्डेयको नाममा विशालले खाता खोलेको पाइएको छ ।

पीडित पाण्डेयले आफ्नो हराएको नागरिकता पेस गरी बैंकमा खाता खोलेर वैदेशिक रोजगारमा रुस पठाइदिने प्रलोभनमा पारेर आफ्नो नामबाट सर्वसाधरणलाई ठगी गरिरहेका छन् भन्दै जाहेरी दिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको एसपी कोइरालाले बताए । प्रहरीले उनीहरु तीनै जनालाई ज्ञानेश्वरस्थित कार्यालयबाटै पक्राउ गरेको जनाएको छ । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ ।

प्रकाशित : भाद्र १, २०७९ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?