भैलः प्याख हेर्न चार रात जाग्राम

भक्तपुर — मध्यरात मध्यपुर थिमिको मूल देवता बालकुमारी मन्दिर परिसरमा स्थानीयहरू चार दिनदेखि कोही निदाएका छैनन् । निद्रा आओस् पनि कसरी, सुस्तरी भैलः प्याख (भैरव नाच) का देवगणमा बाजाको तालसँगै देउता भित्रिँदा सबै ब्युँझिन्छन्, ब्युँझिएका छन् । बाजाको तालले देवगणलाई मात्र ऊर्जा थपेको छैन, दर्शकलाई पनि उत्तिकै ऊर्जा दिएको छ ।

कोही बालकुमारी मन्दिर परिसरमै पुगेर भैलः प्याख अवलोकन गरिरहेका छन् भने कोही घरको कौसी, बार्दलीमा बसेर मध्यरातसम्म ऐतिहासिक संस्कृतिसँग झुमिरहेका छन् । झन्डै दुई सयजना हाराहारीका तन्नेरी एकै थरी टिसर्ट लगाएर स्वयम् सेवकको रूपमा खटिएका छन् । ‘भैलः प्याखमा अचम्मको शक्ति हुन्छ, नाच्नेहरूसँग त ऊर्जा छँदै छ, दर्शकमा पनि शक्ति सञ्चारको महसुस हुन्छ,’ भैलः प्याखका प्रशिक्षक निरञ्जन श्रेष्ठले भने, ‘चार रात कोही निदाउँदैनन् ।’
गाईजात्रा (सापारु) को अन्त्यसँगै सुरु भएको मध्यपुर थिमिको भैलः प्याखको प्रदर्शन मंगलबार मध्यरात सम्पन्न भएको छ । ‘भैलः प्याख मध्यपुरको मौलिक एवं पौराणिक महत्त्व बोकेको प्राचीन नाच हो, सापारुको भोलिपल्ट भाद्र कृष्ण द्वितीयादेखि पञ्चमीसम्म चार दिन टोलटोलमा निकालिन्छ,’ स्थानीय संस्कृतिकर्मी प्रदीप जामनः श्रेष्ठले भने । दाग, भुस्या, पोंगा र मुहालीलगायत मौलिक नेवारी बाजाको तालमा भैलः प्याखका देवगणहरू नाच्दै नाच्दै नगर परिक्रमा गर्छन् ।
यो जात्रा कहिलेदेखि चलनमा आयो भन्ने यकिन नभए पनि मल्लकाललाई थालनी बिन्दु मानिन्छ । ‘यो नृत्यसँग सम्बन्धित कथाले मल्लकालकै संकेत गर्छ,’ संस्कृतिकर्मी श्रेष्ठले भने, ‘त्यो समय मध्यपुर थिमि क्षेत्रका जनतालाई भूतप्रेतले अत्यधिक दुःख दिइरहेको रहेछ । डरले गर्दा दिउँसोसमेत खेतमा काम गर्न नसक्ने भएपछि किसानहरू डराए । हाहाकार मच्चियो । जनताहरू दरबारमा राजा गुहार्न गए । राजाले तान्त्रिक, विद्वान्, शास्त्रज्ञहरूसँग छलफल गर्दा तान्त्रिक रूपमा भैरवनाथ जगाई क्रोधित मुद्रामा टोलटोलमा नाच निकालेर भूतप्रेतलाई लखेट्ने निर्णय भएछ । यही किंवदन्ती अहिलेसम्म प्रचलित छ ।’
भैलः प्याखमा न्हापा भैलः, ल्यू भैलः, न्हापा दागीँ, ल्यू दागीं र ज्यापुङ गरी पाँच देवगण हुन्छन् । ज्यापुङलाई कुमारको प्रतीकका रूपमा लिइन्छ । भैलः प्याखका अरू देवगणसँग मखुन्डो हुन्छ तर ज्यापुङ मखुन्डोबिना नाच्छन् । नाच्ने क्रममा भैरव र कुमारी क्रोधित हुँदा ज्यापुङले देवगणलाई कपासको बियाँले हानेर शान्त बनाउने गर्छन् । यसवर्ष ज्यापुङमा रिसल श्रेष्ठ, न्हापा भैलःमा उज्वल श्रेष्ठ, ल्यू भैलःमा रोमन श्रेष्ठ, न्हापा दागीँमा सुजल श्रेष्ठ तथा ल्यू दागीँमा श्रयण श्रेष्ठले नाचेका छन् । करिब चार दशकसम्म सञ्चालन हुन नसकेको भैल प्याखः स्थानीयको पहलमा पछिल्लो पटक २०७२ मा पुनः सुरु गरिएको हो । यसअघिका दुई वर्ष कोभिड–१९ महामारीका कारण सञ्चालनमा आउन सकेन । यसवर्ष उत्साहपूर्ण रूपमा प्रदर्शन भएको मध्यपुर थिमि नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताए ।
लाय्कु भैल प्याखः सञ्चालन समितिका संयोजक अर्जुन श्रेष्ठका अनुसार, नाच सिकाउने क्रममा अन्य मानिस जानु हुँदैन, जुन घरमा सिकाएको हो, त्यो घरको घरमूली पुरुष र महिलाबाहेक । ‘घरमूलीले रातभरि नसुती भए पनि बत्ती निभ्न दिन हुन्न,’ उनले भने, ‘निभ्यो भने तन्त्र विद्यामा असर पर्ने विश्वास छ ।’ उनका अनुसार, नाच सिकिसकेपछि भैरवहरूलाई कोठामा पंक्तिबद्ध राखेर सुपारी, सात गेडा अक्षता र फूल रहेको कपडाको पोको दिइन्छ ।
त्यसपछि जिउँदो माछालाई आगोमा सेकाएर नचपाई निल्नुपर्छ । ‘नाचको सबैभन्दा गाह्रो पक्ष भनेको सिंगो माछा खानु हो,’ उनले भने, ‘माछा जति ठूलो भए पनि नचपाई निल्नुपर्छ ।’
८० वर्षपछि दिगुटोलबाट महाकाली
मध्यपुर थिमि दिगुटोलमा ८ दशकपछि महाकाली नाच निकालिएको छ । जनैपूर्णिमाको भोलिपल्टदेखि ४ रात महाकाली नाच प्रदर्शन गर्ने चलन रहेको प्रशिक्षक कृष्ण प्रजापतिले बताए । ‘गाईजात्राको समयमा साँझदेखि बिहानसम्म टोलटोलमा महाकाली नाच हुन्छ,’ उनले भने, ‘स्थानीयको सक्रियतामा ऐतिहासिक संस्कृतिको संरक्षण सम्भव भएको छ ।’ ऐतिहासिक महाकाली नाच दिगुटोल, चपाचो, वाननीलगायत स्थानमा प्रदर्शन गर्दै आएको उनले बताए ।
महाकाली नाचमा १७ देवगणलाई नचाइन्छ । जसमा महाकाली, महालक्ष्मी, देवी, सिंह र दैत्य १/१, भूतभैरव, कवां, ख्या तथा माक २/२ देवगण बनाइन्छ भने, बेत्ताल ४ जना हुन्छ । यसवर्ष गोपी प्रजापति महाकाली, आयुश प्रजापति महाकाली, कृष्ण भासिमा देवी, भूतभैरव रोहन प्रजापति र सलोन प्रजापति, नीलव प्रजापति र सिजन प्रजापति कवां, श्रवण श्रेष्ठ र इसान प्रजापति माक, विकेश प्रजापति सिंह, स्वस्थानी प्रजापति दैत्य, अनम, सुमन, रमित र कृजल प्रजापति बेत्तालको भूमिकामा छन् । महाकाली नृत्य प्रदर्शनका लागि घण्टाकर्णको दिनदेखि नै प्रशिक्षण दिएको प्रजापतिले बताए । महाकाली नृत्य क्रममा मृदंगा, धाँ बाजा, भुस्या, ताँ र बौ बाजाको प्रयोग गरिन्छ ।
बोडेमा नीलबाराही गणनाच
सापारुको भोलिपल्ट भाद्र कृष्णपक्ष द्वितीयाबाट सुरु भएको मध्यपुर थिमि बोडेको ऐतिहासिक नीलबाराही गणनाच पनि बुधबार सकिएको छ । नीलबाराही गणनाच ३ रात ४ दिन प्रदर्शन गरिन्छ । यो नाचमा एक जना भैरव, बाराही ४, कुमारी ४, सिंह (सिंद्यः) ४, द्वारपाल २ तथा गणेश ४ गरी १९ देवगण हुन्छन् । नीलबाराही गणनाच अवधिभर सुकुना तथा चिलाख बत्तीलाई निभाउनु हुँदैन र कुनै कारणवश निभेमा देवगणलगायत नाचमा संलग्न भएकालाई बिघ्न पर्न जाने जनविश्वास छ । नाच अवधिभर बोडेवासीहरूले खेतको काम गर्नु हुँदैन भनिन्छ । बोडेसँगैको बस्ती टिगनीमा खेतमा मात्र नभई धानसमेत काट्न नहुने विश्वास छ ।
नेपाल संवत् ६३३ मा भक्तपुरमा अनिकाल परेको थियो । उक्त अनिकाल हटाउन र सहकाल ल्याउन राजा सुवर्ण मल्लले भक्तपुरमा नवदुर्गा नाच प्रारम्भ गरेको र यससँगै मध्यपुर थिमिमा लाय्कु भैलः र बोडेमा नीलबाराही नाचको सुरुवात गरेको वंशावली पाइएको संस्कृतिकर्मी प्रदिप जामनः श्रेष्ठ बताउँछन् । मध्यपुर थिमिमा लोपोन्मुख लाय्कु भैल प्याखः, दिगुटोलमा महाकाली, बोडेमा नीलबाराही, इन्द्रअप्सरा, भष्मासुर र अष्टमातृका देवगण नाच प्रदर्शन भइरहेको छ । मूर्त सम्पदाले भरिपूर्ण मध्यपुर थिमिमा यसबेला अमूर्त कलाको स्वर्णकालमा रहेको निवर्तमान मेयर मदनसुन्दर श्रेष्ठ बताउँछन् ।
प्रकाशित : भाद्र १, २०७९ ०७:१७