कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रहरी सुरक्षामा फोहोर विसर्जन

स्थानीय जनप्रतिनिधिकै अवरोधबीच २ सय ३ गाडी फोहोर बन्चरेडाँडामा लगियो
कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले नुवाकोटको बन्चरेडाँडामा प्रहरी परिचालन गरी सोमबार फोहोर विसर्जन गरेको छ । काठमाडौं, धादिङ र नुवाकोटका करिब २ सय ५० प्रहरी परिचालन गरिएको थियो । फोहोर व्यवस्थापनलाई सहज बनाउन प्रहरी परिचालन गरिएको नुवाकोटका एसपी रमेश पण्डितले जानकारी दिए । महानगरका अनुसार २ सय ३ गाडी फोहोर विसर्जन गरिएको हो । 

प्रहरी सुरक्षामा फोहोर विसर्जन

प्रहरी परिचालन गरेर लगिए पनि केही समूहले लुक्दै गुलेली हानेर अवरोध सिर्जना गरेको महानगर प्रमुख बालेन्द्र शाहले फेसबुकमा उल्लेख गरेका छन् । फोहोर व्यवस्थापनमा तत्काल देखिएका समस्या सतही मात्रै भएको भन्दै उनले लेखेका छन्, ‘यसका गहिरा र अलग्गै कारणहरू छन् । नत्र सोच्नुहोस् त, राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नुपर्छ ? २०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पूरै राज्य संरचना यस्तो निरीह किन बन्छ ?’

सत्तारूढ दलका स्थानीय नेताहरूले नै बन्चरेडाँडामा फोहोर फाल्न नदिने भन्दै आइतबार विज्ञप्ति जारी गरेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीाक कार्यकर्ताहरूले सोमबार बिहानैदेखि धुनिबेंसी–१ ढाडेमा फोहोर बोकेका गाडीलाई रोकेका थिए । सोमबार दिउँसो प्रहरी परिचालन गरी अवरोध हटाएर फोहोर विसर्जन गरिएको थियो ।

गत सोमबार राति बन्चरेडाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडीमा तोडफोड भएको थियो । धादिङ र नुवाकोटको सिमाना नजिकै पार्किङ गरेर राखिएका १४ वटा टिपरमा तोडफोड भएको महानगरले जनाएको छ ।

सत्तारूढ र विपक्षी दलबाटै अवरोध : मेयर शाह

मेयर बालेन्द्र शाहले सत्तारूढ र विपक्षी दलले नै फोहोर विसर्जनमा अवरोध गरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत मेयर शाहले सोमबार पनि फोहोर विसर्जनमा अवरोध गरिएको उल्लेख गरेका छन् । सत्तारूढ दलका स्थानीय नेताको अगुवाइमा सडक अवरुद्ध गरिएको तथा एमाले र राप्रपाका स्थानीय नेताले पनि साथ दिएको उनको भनाइ छ ।

अहिलेको मुख्य काम पनि फोहोर व्यवस्थापन भएको र विगतमा भएका गल्ती नदोहोर्‍याउने उनले उल्लेख गरेका छन् । ‘आफ्ना कुत्सित स्वार्थहरूको व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नुभएको छ भने त्यो भ्रम हो । त्यसो भन्दैमा कसैलाई हराउने खेलमा महानगर छैन । सबैले जित्ने कार्यक्रम लागू गर्ने योजनामा महानगर छ,’ उनले भनेका छन् । सिसडोलमा गरिएको लापरबाही र त्यो क्षेत्रको दूरवस्थाका कारण स्थानीयले जोसुकैलाई विश्वास गर्न नसक्नु स्वाभाविक रहेको उनको भनाइ छ । ‘हामी विश्वस्त पार्न चाहन्छौं, विगत दोहोर्‍याएर अपराध गर्ने छैनौं । यसका लागि केही समय भने पक्कै लाग्छ,’ उनले भनेका छन्, ‘सिसडोलको वैज्ञानिक व्यवस्थापन र बन्चरेको दिगो उपयोगिताका लागि महानगर संवेदनशील छ । हामी आफूले गरेका सहमतिको पालना गर्नेछौं । सबै पक्षबाट त्यही किसिमको संवेदनशीलता र इमानदारिताको अपेक्षा राख्दछौं ।’

प्रकाशित : श्रावण ३१, २०७९ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?