रातभर ऐतिहासिक नाच

झन्डै चार दशक बन्द भएको भैल प्याखः लाई मध्यपुरवासीले २०७२ सालमा ब्युँताएका थिए
कान्तिपुर संवाददाता

भक्तपुर — मध्यपुर थिमिमा भैल प्याखः (भैरव नाच), महाकाली, नीलवाराही, इन्द्रअप्सरा, भस्मासुर र अष्टमातृका देवगण नाच प्रदर्शन सुरु भएको छ । झन्डै चार दशक बन्द हुन पुगेको यी नाचलाई मध्यपुरवासीले २०७२ सालमा ब्युँताएका थिए । थिमिको लायकु (दरबार) बाट निस्किने भैल प्याखः को अवलोकन गर्न शनिबार राति उपराष्ट्रपति नन्दबहादुर पुनसमेत पुगेका थिए । 

रातभर ऐतिहासिक नाच

नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठका अनुसार करिब चार दशकसम्म सञ्चालन हुन नसकेको भैल प्याखः स्थानीयको पहलमा ०७२ सुरु भए पनि अघिल्ला दुई वर्ष कोभिड महामारीका कारण सञ्चालनमा आउन सकेको थिएन ।

तान्त्रिक विधिअनुसार नचाइने भैल प्याखः चार दिनसम्म प्रत्येक साँझदेखि रातभर विभिन्न टोलमा प्रस्तुत गर्ने चलन छ । यस नाचमा दुई जना भैलः, दाःगिं (कुमारी) दुई जना र ज्यापुगः एक गरी पाँच देवगण सहभागी हुने गर्छ । यस वर्ष ज्यापुगः मा रिसल श्रेष्ठ, न्हापा भैलमा उज्वल श्रेष्ठ, लिपा भैलमा रोमन श्रेष्ठ, न्हापा दाःगिंमा सुजल श्रेष्ठ तथा लिपा दागिंमा श्रयण श्रेष्ठले नाचिरहेका छन् ।

भैलले खड्ग, कुमारीले डमरु र ज्यापुगःले कपासको यिबाँ, अक्षता र चामल भुटेर तयार गरिएको ताय् भएको भाँडो हातमा लिएर बाजाको तालमा हाउभाउ प्रस्तुत गर्दै नाच्ने गर्छन् । नाचका क्रममा भैल र दागिंले क्रोधित मुद्रा प्रस्तुत गर्ने गर्छन् । त्यसपछि ज्यापुगःले ताय्ले हानेपछि उनीहरू शान्त हुन्छन् ।

भैल (भैरव) अत्यन्तै शक्तिशाली देवता मानिन्छ । नेपालभाषी बसोबास गर्ने टोलटोलमा भैलको पूजा हुन्छ । नृत्य हुन्छ । तर, ती सबै प्रचलन बिस्तारै लोप हुँदै गएको लाय्कु भैल प्याखः (भैरव जात्रा) सञ्चालन समितिका संयोजक एंव नाच प्रशिक्षक अर्जुन श्रेष्ठ बताउँछन् । थिमिमा देखाइने लाय्कु भैल प्याखः का गुठियारको जग्गा रैतानी गरिएपछि गुठी जग्गा मासिन पुगेको थियो । पःमा (प्रधान नाइके) लगायतको आयस्ता नै खोसिएपछि जात्रा सञ्चालन कठिन भएको स्थानीयको भनाइ छ ।

लाय्कू भैल प्याखःका साथै दिगुटोलमा महाँकाली, बोडेमा नीलवाराही, इन्द्रअप्सरा, भष्मासुर र अष्टमातृका देव गण नाच सुरु भएको छ । ऐतिहासिक नाच प्रदर्शनबाट आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न मध्यपुर पर्यटन विकास र प्रवर्द्धन फोरमसमेत गठन गरेको उपप्रमुख श्रेष्ठले बताए । नेपाल संवत् ६३३ मा भक्तपुरमा अनिकाल पर्दा राजा सुवर्ण मल्लले नवदुर्गा गण नाच, लाय्कु भैल र महाकाली नाच सुरु गरेका थिए । किंवदन्तीअनुसार थिमिमा भूतप्रेत, दैत्य दानवले दुःख दिन थालेपछि आराध्यदेवी बालकुमारीको पूजा आराधाना गरी देवीकै आज्ञाबमोजिम नाच सुरु गरेको भैल प्याखका प्रशिक्षक निरन्जन श्रेष्ठ बताउँछन् ।

प्रकाशित : श्रावण ३०, २०७९ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?