१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

फोहोरको रास लगाएर कुहिएको राजनीतिक खेल नखेलौं : बालेन्द्र शाह

धुनिबेंसी वडा नम्बर १ का कांग्रेस, माओवादी र नेकपा एसका वडा समितिद्वारा सदाका लागि फोहोर विसर्जन बन्द गर्न माग
कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ दल आबद्ध नेताहरूले फोहोरमैला व्यवस्थापन अवरुद्ध गर्ने चेतावनी दिएपछि 'कुहिएको राजनीतिक खेल नखेल्‍न' भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आग्रह गरेका छन् ।

फोहोरको रास लगाएर कुहिएको राजनीतिक खेल नखेलौं : बालेन्द्र शाह

आइतबार कांग्रेस, माओवादी र नेकपा एसका धुनिबेंसी-१ वडा समितिले पार्टी नगरसमितिलाई संयुक्तरुपमा पत्र लेख्दै बन्चरेडाँडामा फोहोर मैला दीर्घकालीनरुपमा बन्द गर्न आग्रह गरेका हुन् । उनीहरुले ती पार्टीको नगर कार्यसमितिलाई पत्र लेख्दै फोहोर मैला विसर्जन सदाका लागि बन्द गराउन पहल गर्न आग्रह गरेका थिए ।

ती पार्टीका वडा समितिले पत्र लेखेपछि मेयर शाहले 'फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिन' आग्रह गरेका हुन् । उनले भनेका छन्, 'राजनीति त्यस्तो हुँदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन । यसमा हेक्का राखौँ ।'

शाहले संविधानले परिकल्पना गरेको राज्य प्रणालीविपरीत एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्ने काम पनि भएको बताएका छन् । सामाजिक सञ्जालमा शाहले लेखेका छन्, 'हामीले र हाम्रो संविधानले जुन राज्य प्रणालीको परिकल्पना गरेको छ, त्यसमा एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापको नै कल्पना गरिएको छ । यसका विपरीत एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नु पर्ने, असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौं ? '

उनले आइतबार फोहोर विसर्जन गर्नका लागि भएका दुई वटा अवरोधको समाना गरिएपछि नयाँ अवरोधको कसरत भइरहेको पनि बताएका छन् । उनले फोहोर विसर्जन कार्यलाई अवरोध गर्ने कोसिस बिडम्बनापूर्ण भएको बताए ।

फोहोर व्यवस्थापनका लागि संरचना बनिसकेको मुअब्जालगायतका काममा ५ अर्ब खर्च भइसकेको पनि उनले बताए । सबै सम्झौताहरु वैधानिकरुपमा गरिएको र कसैले पनि नझुक्याएको उनको भनाइ थियो ।

प्रकाशित : श्रावण २९, २०७९ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?