विदेश पठाइदिने लोभ देखाएर २२ लाख ठगी, दुई पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — बेलायत र दुबई पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिले २२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ । प्रहरीले दुई छुट्टाछुट्टै ठगी अपराधमा संलग्न रहेको आरोपमा आइतबार दुई जनालाई पक्राउ गरेको छ । 

बेलायत पठाइदिने लोभ देखाएर १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२९ सामाखुसी बस्ने इलामका ३७ वर्षीय प्रकाश राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले पाँच जनालाई सिजनल भिसामा बेलायत जानका लागि प्रतिव्यक्ति नौ लाख रुपैयाँ लाग्ने र त्यहाँको कम्पनीमा चार लाख रुपैयाँ तलब हुन्छ भनी लोभ देखाएर पाँच जनाबाट प्रतिव्यक्ति तीन लाख रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।

त्यसपछि फरार रहेका उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको छ ।

यस्तै दुबई पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौंको टोखा बस्ने सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–७ खाडीचौरका २७ वर्षीय अविनाश कार्कीलाई पनि आजै प्रहरीले पक्राउ गरेको छ । वर्किङ भिसामा दुबई जानका लागि सात लाख ५० हजार लाग्ने र त्यहाँ मासिक रु एक लाखसम्म तलब हुने भनी सात लाख ५० हजार रुपैयाँ लिई उनी फरार भएका थिए । उनलाई पनि सोही कार्यालयबाट खटिएको प्रहरीले आज गोगंबुबाट पक्राउ गरी थप कारबाहीका लागि विभागमा पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण २९, २०७९ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?