‘देवता जगाउने’ ठेचोको १२ वर्षे जात्रा

कान्तिपुर संवाददाता

ललितपुर — ललितपुर गोदावरी नगरपालिका–१२ ठेचोका ७७ वर्षीय रामगोविन्द मालीलाई बुढ्यौलीले छोपिसक्यो । तैपनि उनी गुठीको काममा भने दैनिक खटिरहेकै हुन्छन् । उनीजस्तै हेराबहादुर माली, भाइराम माली, बेखाबहादुर मालीलगायत ३४ जना ठेचो नवदुर्गा गुठीयार अरु कामै छाडेर गुठीको काममा जुटिरहेका छन् ।

‘देवता जगाउने’ ठेचोको १२ वर्षे जात्रा

साउन १० गतेयता ठेचो नवदुर्गा भवानी नाचको १२ वर्षे जात्रा चलिरहेको छ । वर्ष दिन चल्ने जात्रामा विभिन्न २८ वटा पर्वपूजा चलाउनुपर्छ । तीमध्ये अहिले नवदुर्गाको मूल डबलीमा वृन्दावनको रूपमा ‘बलः’ (छाप्रो) बनाउने काम भइरहेको छ । जुन जात्राको मुख्य पाटोमध्ये एक हो ।

गुठीका देवगण रामगोविन्द माली भन्छन्, ‘प्रायःले वृन्दावन भन्नेबित्तिकै नवदुर्गा नाचलाई द्वापर युगका भगवान् श्रीकृष्णको कथासँग जोडेर हेर्ने गर्छन् । तर, नाच र श्रीकृष्णबीच सम्बन्ध छैन । ‘बलः’ को अर्थ घरबारविहीनहरूले बनाउने छाप्रो पनि होइन ।’ उनका अनुसार ठेचोमा १२ वर्षे जात्राका क्रममा एकपटक देवगणहरूको नयाँ मुकुट, कलेवर पोसाक, गरगहना बनाइन्छ । नयाँ बनाइएका सरसमानमा साधना गरी देवता प्रतिस्थापन गर्ने चलन छ । ‘नवदुर्गा देवगणको उत्पत्ति वृन्दावनमा भएको मानिने भएकाले त्यसको स्वरूपमा ‘बलः’ बनाइएको हो,’ उनले भने, ‘जहाँ नाथ गुरु र नवदुर्गा प्रतिस्थापन गरिन्छ ।’

साउन १० गते घण्टाकर्ण चतुदर्शीमा मन्दिरमा ताल्चा लगाएपछि जात्रा सुरु भएको हो । जात्रा सुरु भएसँगै ठेचो बस्तीमा भोजभतेर, विवाह तथा व्रतबन्धका कार्यक्रम निषेध गरिएको छ । पाटी वा अन्य ठाउँमा बस्दा खुट्टा भुन्ड्याएर बस्न, परदेशीलाई बास बसाल्ने गरी पाहुना सत्कार गर्न, राति हिँडडुल, सिट्टी, ताली, घण्ट बजाउन पाइँदैन । नवदुर्गा गुठीको बाहेक अन्य बाजागाजा बजाउन मिल्दैन । पर्वपूजामा भने नवदुर्गा गुठीबाहेकका बाजा पनि बजाउन मिल्ने चलन छ । यो बन्देज नवदुर्गा गुठीको धुःखः नामक नाच सम्पन्न नभएसम्म लागू हुन्छ । धुःखः नामक नाच फागुन/चैतमा हुने गर्दछ । गुठीमा आवद्ध भइसकेपछि नाचलाई असर पर्ने गरि ठेचो बस्ती छोडेर जान पनि रोक लगाइएको छ ।

भाद्र ९ गते जुग चह्रे तिथिमा पूजाआजा गरी घण्टार्कण चतुदर्शीमा मन्दिरमा लगाइएको ताल्चा खोलिन्छ । त्यसपछि नवदुर्गा गुठीयारका तर्फबाट राष्ट्रप्रमुखलाई सुपारी चढाइन्छ । अनि क्रमशः अन्य पर्वपूजाहरू सुरु हुन्छन् । ‘जुग चह्रेको दिन मन्दिरमा हुने पूजाको प्रसाद चढाउन पर्ने भएकाले भाद्र १० मा सुपारी चढाउन समय मिलाउन अनुरोध गरिसकेका छौं,’ नवदुर्गा गुठीका देवगण बाबुराज मालीले भने । उनका अनुसार राष्ट्रप्रमुखलाई सुपारी चढाउन गुठी संस्थान तःबहाल कार्यालयमा निवदेन दर्ता भइसकेको छ । गुठी संस्थानका प्रशासक किरण शाक्यले यस विषयमा राष्ट्रपति कार्यालयमा पत्राचार गरिसकेको बताए ।

जात्रा अवधिभर पाटन दरबार क्षेत्र, सुनाकोठी, ठेचो, चापागाउँ, बुङ्मतीमा नृत्य प्रस्तुत गराइन्छ । दे भ्वए (देश भोज) भनी ठेचो र सुनाकोठीवासीलाई भोज खुवाउने, श्वेतभैरवको नृत्य गराउनेलगायतका चलन छन् । नवदुर्गा नाचमा भैरव, काली, बाराही, कुमारी, गणेशलगायत गरेर १३ देवगण छन् । परम्पराअनुसार गणेश हुने देवगणले तन्त्र साधना गरिएको तिलक लगाइदिएपछि सबै देवगणमा देवता चढेको विश्वास छ । देवगणहरूको तान्त्रिक र यान्त्रिक तवरबाट छुट्टाछुट्टै नृत्य गर्ने गर्छ । नवदुर्गा गुठीका अनुसार वर्षभरि गरिने पूजापाठका लागि ७६ लाख रुपैयाँ आवश्यक पर्छ । गोदावरी नगरबाट ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

बजेट विनियोजनबारे कतिपयले आलोचना गरेपछि नवदुर्गा गुठीका नाइके भक्तलाल मालीले संस्कृति र परम्परा जोगाउन नगरले बजेट दिएको बताए । ‘जात्राका क्रममा के कस्ता कर्म पूजा गर्नुपर्छ र त्यसका लागि कति खर्च हुन्छ भन्ने कुरा बजेट विनियोजनको आलोचना गर्ने व्यक्तिलाई के थाहा ?,’ उनको प्रश्न छ, ‘सारा काम छाडेर संस्कृति जोगाउने गुठीयारको दुःख कसले बुझ्ने ?’

गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनले संस्कृति सम्पदा संरक्षण प्रवर्द्धन गर्ने दायित्व स्थानीय सरकारको भएको बताए । ‘नेपालकै गौरवको रूपमा रहेको यो १२ वर्षे जात्रा ठेचोवासीको मात्र नभई सम्पूर्ण गोदावरीवासीको जात्रा हो,’ जात्रा अवधिभर हुने सांस्कृतिक गतिविधिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कला संस्कृतिलाई पर्यटनसँग जोडेर लैजान सक्नुपर्छ ।’ १२ वर्षे नवदुर्गा नाचको पाटन दरबार क्षेत्रका लिच्छवि राजा मानदेवका इष्टदेवता मनमानेश्वरी देवी (पायो जात्रा) सँग प्रत्यक्ष सम्बन्ध रहेको छ । किराती वंशलाई लिच्छविहरूले हराएको इतिहाससँग पनि जोडिएको छ ।

प्रकाशित : श्रावण २७, २०७९ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?