२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

बाढीले मनोहराछेउका बस्तीमा बिजोग

बाढीले स्थानीयका टहरा बगायो, प्रहरी कार्यालय भवन नै डुबानमा
लिला श्रेष्ठ

काठमाडौँ — मधु राईको परिवार काठमाडौं काँडाघारीस्थित मनोहरा खोला किनाराको सुकुम्बासी बस्तीमा बस्न थालेको दुई दशक भयो । पहिले अस्थायी टहरामा बसोबास गर्ने उनको ९ जनाको परिवार ४ वर्षयता सोही स्थानमा प्यानलको घर बनाएर बस्न थालेको हो ।

बाढीले मनोहराछेउका बस्तीमा बिजोग

मंगलबार मध्यरातको वर्षासँगै मनोहरा खोलामा बाढी आउँदा सबै जना निदाइसकेका थिए । ‘१२ बजेको थियो, भूकम्पले जस्तै हल्लायो, जुरुक्क उठें, घरको आधा भाग भत्किसकेको थियो,’ मधुले भनिन्, ‘श्रीमान्, छोरा/बुहारी, नाति/नातिना सबैलाई उठाएँ र बाँचें नत्र परिवार नै सकिने रैछ ।’ उनको घरको आधा भाग मनोहरा खोलाले बगायो, आधा भने खोलामा झुन्डिएको छ ।

मधुको परिवार सुकुम्बासी बस्तीमा बसेर भाडामा जग्गा लिएर तरकारी खेती गरेर गुजारा गरिरहेका छन् । मनोहरा खोलामा आएको बाढीले मधुको घरको आधा भाग बगाएको छ । सोही स्थान बस्ने निमा राई, शर्मिला राई, विमला राईको टहरा बाढीले बगायो । मध्यराति नै टहरा छोडेर भागेको शर्मिला राईले बताइन् ।

त्यस्तै, मंगलबारकै बाढीले प्रहरी प्रभाग काँडाघारीको कार्यालय भवनको तल्लो तला डुब्यो । कार्यालयको प्रशासन, प्रहरी परिचालन कक्ष, ब्यारेक डुबेको प्रहरी प्रभाग काँडाघारी प्रमुख प्रहरी निरीक्षक सुजन पाठकले बताए । प्रहरीको मेसको आधा भाग बगाएको छ । मेसभित्रको ग्यास, खाद्यान्न, भाँडाकुँडा लगायतको सामान बगाएको छ । कार्यालयको पछाडिको भागमा रहेको ३ वटा मोटरसाइकल बगाएको प्रहरी निरीक्षक पाठकले जनाए ।

मनोहरामा आएको बाढीले भक्तपुरको चाँगुनारायण–४ नीलोपुलको हरि राईको फार्मबाट ४ वटा बंगुर बगाएको छ । चाँगुनारायण–१ दुवाकोट बेंसीमा २० घरटहरा डुबेका र ४ जनाको उद्धार गरिएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी राजु पाण्डेले बताए । त्यस्तै बाढीले मध्यपुर थिमि–२ दिव्यश्वरी प्लानिङस्थित अमर लामाको बंगुर फार्म डुबाएको छ । मध्यपुर थिमि–१ जडीबुटीस्थित सुकुम्बासी बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खोलामा खस्दा खोलाको धार परिवर्तन भई ६० वटा घरटहरा डुबेका छन् । मध्यपुर थिमि–२ सानोठिमीस्थित दिव्यश्वरी प्लानिङको ७० वर्षीय पेमा तामाङको टहरा बगेको छ ।

बाढीका कारण पेप्सीकोला काँडाघारी क्षेत्र, मानटार क्षेत्र, गाई फार्म, उज्ज्वल नगर, हरहर महादेव, विष्टगाउँ, गणेशस्थान, वीरेन्द्र चोक सिमेन्ट गोदाम डुबानमा परेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । प्रहरीले डुबान क्षेत्रबाट २७ जनाको उद्धार गरेको मैनालीले जनाए । स्थानीयका अनुसार मनोहरा करिडोरको पर्खाल भत्काएपछि बस्तीमा बाढी पसेको र खोला किनाराका घरटहरा बगाएको हो ।

प्रकाशित : श्रावण २६, २०७९ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?