पाटन दरबार क्षेत्रमा पस्यो ढल- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाटन दरबार क्षेत्रमा पस्यो ढल

भल आएको मौकामा स्थानीयले ढल खोलिदिएको आरोप
दामोदर न्यौपाने

ललितपुर — विश्व सम्पदा क्षेत्रमा सूचीकृत पाटन दरबार क्षेत्रमा ढल पसेर दुर्गन्धित भएको छ । वर्षा हुनासाथ बस्तीपरिपरिको ढल मिसिएको भल आएर दरबार क्षेत्रमै जम्मा हुने गरेको छ । 

ढल पसेपछि पाटन दरबार क्षेत्र । तस्बिर सौजन्य: सुदर्शन महर्जन


दरबारबाहिर मात्र नभई भित्री चोकमा समेत ढल जम्ने गरेको स्थानीयको भनाइ छ । लगनखेलदेखि पुल्चोकसम्मको भल यहीं जम्मा हुने गरेको छ । ‘दरबार क्षेत्र होचो भएकाले भल यहीं जम्मा हुन्छ,’ पाटन दरबार हेरचाह कार्यालयकी निमित्त प्रमुख शारदा शिवाकोटीले भनिन्, ‘भल आएको मौकामा ढल पनि खोलिदिँदा रहेछन् । त्यही भएर दुर्गन्धित पानी यहीं जम्मा हुन्छ ।’

ठूलो पानी परेको बेलामा दरबार क्षेत्र दुर्गन्धित हुने सम्पदा संरक्षण अभियानकर्मी सुदर्शन महर्जनले बताए । ‘विश्वभरिका पर्यटक आउने ठाउँ हो यो,’ महर्जनले भने, ‘हजार रुपैयाँ तिरेर घुम्न आउँछन् पर्यटक । तर ठाउँ भने यस्तो विरूप छ । यसले पर्यटकलाई कस्तो असर गर्ला ?’

पाटन दरबार क्षेत्रमा हरेक वर्ष वर्षायाममा यस्तो समस्या हुँदै आएको छ । दरबार क्षेत्रमा २०५२ सालमा सानो पाइपको ढल हाले पनि त्यसले राम्रोसँग काम गरेको छैन । त्यस वर्ष त दरबारभित्रको केशवनारायण चोक पनि ढलको पानीले भरिएको थियो । चोकको उत्तरपूर्वतिर पानी निकास गर्न बनाइएको ठाउँबाटै ढल आएको थियो । केशवनारायण चोक पाटन म्युजिम प्रवेश गर्ने मुख्य चोक हो । पाटन दरबार क्षेत्रका चोकमध्ये सुन्दरीचोक र केशवनारायण चोकलाई मुख्य मानिन्छ । चोकमा ढल पस्ने समस्या भने समाधान भएको शिवकोटीले बताइन् । ‘ढल निकास गर्ने ठाउँमा प्लास्टिक अड्किएछ,’ शिवाकोटीले भनिन्, ‘ढल जमेपछि इन्जिनियरले आएर निरीक्षण गरे । प्लास्टिक निकालेपछि यो समस्या समाधान भयो ।’

भित्रको समस्या समाधान भए पनि बाहिर जस्ताको तस्तै छ । यसको दीर्घकालीन समस्याका लागि भने काम भइरहेको शिवाकोटीले बताइन् । ‘लगनखेलदेखि शंखमूलसम्म ढल विस्तारको काम भइरहेको छ । त्यसको निर्माण सकिनासाथ यहाँको समस्या समाधान हुन्छ,’ शिवाकोटीले भनिन्, ‘यो वर्ष भने यहाँको समस्या यस्तै रहन्छ । ढल निर्माण आयोजना सम्पन्न भएपछि समस्या समाधान हुन्छ ।’

विश्व सम्पदा क्षेत्रको यस्तो बिजोग हुँदा पर्यटकमा गलत सन्देश गइरहेको महर्जनले बताए । ‘ललितकलाका अनुपम उदाहरणले भरिपूर्ण यो सहर ढलले कुरूप बनाएको छ,’ महर्जनले भने, ‘विश्वसम्पदा क्षेत्रमा ढलको पोखरी कहिलेसम्म ?’ २०३६ सालमा विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रलाई मध्यकालका कवि कानुन शर्माले ‘स्वर्गको टुक्रा’ भनेका थिए । त्यसैगरी हार्वर्ड विश्वविद्यालयका प्राध्यापक एडवर्ड सेकलरले पाटन दरबार क्षेत्रलाई भेनिसको विश्व प्रसिद्ध सानमार्को चोकसँग तुलना गरेका थिए । फ्रेन्च पूर्वीय संस्कृतिका विद्वान् सिल्मान लेभीले पाटन सहरलाई ‘शब्दले वर्णन गर्न नसकिने एउटा आश्चर्य’ भनेका थिए ।

पाटन दरबार क्षेत्र विश्व सम्पदा क्षेत्र मात्र नभई सरकारले घोषणा गरेको संरक्षित क्षेत्रमा समेत पर्छ । इतिहासकार साफल्य अमात्यको पुस्तक ‘विश्व सम्पदा काठमाडौं उपत्यका’ मा उल्लेख भएअनुसार पाटन दरबार क्षेत्रभित्र किसी चोक, केशवनारायण चोक, नासल चोक, मूलचोक, सुन्दरी चोक, द्विमाजु चोक मुख्य चोक हुन् । ढल जमेको ठाउँ वरिपरि थुप्रै मन्दिर छन् । कुनै शिखरशैलीका र कुनै छाने शैलीका मन्दिर छन् । त्यसका पेटीमा बसेर पर्यटकले थकाइ मारिराखेका हुन्छन् । दरबार र ती मन्दिर आउजाउ गर्ने बाटो पोखरी बनेको हुन्छ ।

दरबारको अगाडि कृष्ण मन्दिर, हरिशंकर मन्दिर, नारायण मन्दिर, इखलखु गणेश, मन्दिर, हखा गणेश मन्दिर, शिव मन्दिर, क्वालखु गणेश मन्दिर, विश्वनाथ मन्दिर, चार नारायण मन्दिर, हरिशंकर मन्दिर, अर्ध नारीश्वर, भाइ देवल, देगु तलेजु, वामन अवतार मन्दिर, जगन्नाथ लगायत मुख्य सम्पदा छन् । यी ठाउँमा ढल राखेर सधैंका लागि व्यवस्थित गर्ने प्रयास भएको शिवकोटीले बताइन् । ‘भीमसेन मन्दिरछेउमा ठूलो मंगल बनाएर पानी पास हुने व्यवस्था गर्छौं,’ शिवाकोटीले भनिन्, ‘अनि दीर्घकालीन रूपमा पानी जम्ने समस्या समाधान हुन्छ ।’

प्रकाशित : श्रावण २०, २०७९ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्

गाँजा गिरोह सक्रिय

एम्बुलेन्स, मिनी ट्रक, मोटरसाइकल र यात्रुवाहक गाडी प्रयोग
विनोद भण्डारी, रमेशचन्द्र अधिकारी

विराटनगर,धनकुटा — यतिबेला प्रतिबन्धित गाँजा पक्राउ गर्नु प्रहरीको दैनिकी जस्तै छ । तर, यसको उत्पादन र ओसारपसार रोकिएको भने छैन । गाँजाका लागि पूर्वका पहाडी जिल्ला उदयपुर, भोजपुर र धनकुटा उर्वर मानिन्छन् । यहाँबाट भारत निकासी गर्न तस्करले अनेक उपाय अपनाउँछन् । उत्पादित क्षेत्रमा किलोको २५ सय पर्ने गाँजा भारत पुर्‍याउँदा ४० हजार रुपैयाँसम्ममा बेचिने गरेको छ । ठूलो मूल्य अन्तरका कारण तस्करले अनेक तरिका अपनाएर भारत पुर्‍याउँदै आएका छन् । तस्करले पहाडबाट सीमासम्म पुर्‍याउन छुट्टाछुट्टै समूह परिचालन गर्दै आएको प्रहरीले जनाएको छ ।

धनकुटा प्रहरीले बरामद गरेको गाँजा नष्ट गरिँदै। तस्बिर : कान्तिपुर

पछिल्लो समय भारत तस्करी गर्न मोरङ र सुनसरी ट्रान्जिट प्वाइन्ट हुन् । मोरङ प्रहरीले पछिल्ला तीन दिनमा २५३ किलोग्राम गाँजासहित दुई युवकलाई र सुनसरी प्रहरीले एक सातामा १४८ किलोग्रामसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । धनकुटाको सिधुवा बजारबाट बन्दाकोभी बोकेर भारत निकासीका लागि विराटनगर आइपुगेको मिनी ट्रकलाई प्रहरीले गत शनिबार जोगबनीको दुई नम्बर ढाटमा जाँच गर्दा १५६ किलो बराबर ६ बोरा गाँजा बरामद भयो । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार सिधुवाबाट हिँडेको उक्त ट्रकमा भेडेटार र धरानबीचको जंगलमा रोकेर तरकारीको बोरामुनि उक्त अवैध पदार्थ राखेको पुष्टि भएको छ । गाँजाको गन्ध आउन नदिन तस्करले कुहिएको सागसब्जीको बोराले छोपेर बोक्ने गरेको पाइएको कोइरालाको बुझाइ छ ।

प्रहरीले जोगबनी नाकाबाट ठूलो परिमाणमा गाँजा नियन्त्रणमा लिएपछि तस्करले जोगबनीपूर्वको जहदा–२ को हरिनगरा नाका प्रयोग गरे । यो नाकाबाट ३६ किलो गाँजा बोकेर भारत जाँदै गरेका स्थानीय २५ वर्षीय मुकेश गुरुङलाई प्रहरीले मंगलबार पक्राउ गर्‍यो । लगत्तै बुधबार बिहान विराटनगर–१४ कोसी कोभिड अस्पतालनजिक पनि प्रहरीले सिटी रिक्सामा ६१ किलो गाँजा बरामद गरेको छ । चालक गाँजा छाडेर भागेको मोरङ प्रहरीका डीएसपी दीपक श्रेष्ठले बताए । यसअघि सशस्त्र प्रहरी बलले सुनसरीको झोक्राह नरसिंह क्षेत्रबाट १ सय ५८ किलो उक्त पदार्थसहित ३ जनालाई पक्राउ गरेको थियो । प्रदेश १ प्रहरी कार्यालयले आव ०७७/७८ मा १७८९ किलो र ०७८/८९ मा २०२१ किलो गाँजा प्रहरीले बरामद गरेको जनाएको छ ।

धनकुटामा दुई साताको अवधिमा गाँजा ओसारपसारका ५ घटनामा ३१ किलो गाँजासहित ६ जना पक्राउ परे । २०७६ देखि २०७८ सम्म ८ घटनामा ११ जना पक्राउ परेका थिए । ०७७/०७८ मा एकैपटक ३ सय केजी गाँजा बरामद भएको थियो । धनकुटा–४ देब्रेबासमा गत वर्ष एम्बुलेन्सबाटै गाँजा बरामद भयो । विराटनगर सिटी प्रालि अस्पतालको को१च ४६१५ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेपछि त्यसभित्र गाँजा र घरेलु मदिरा फेला परेको थियो । अघिल्लो महिना यात्रुवाहक बसभित्रै १८ किलो र यस्तै एक महिनाको अवधिमा धनकुटाको हिलेबाट सहिदभूमिको छिन्ताङमा सञ्चालन हुने दुई गाडीमा १४ किलो गाँजा बरामद भएको थियो ।

एम्बुलेन्स, यात्रुवाहक बस, तरकारी बोक्ने गाडी जस्ता सवारीसाधन लागूपदार्थ ओसार्न प्रयोग गरिएको पाइन्छ । साउन १७ को मध्याह्न साँगुरीगढी–६ फेदीमा मोटरसाइकलमा लैजाँदै गरिएको अवस्थामा ५ किलो गाँजासहित १७ वर्षीय युवक पक्राउ परेपछि ओसारपसारमा सबै उमेर समूहका प्रयोग भएको सई मानप्रसाद श्रेष्ठको भनाइ छ ।

धनकुटाको छिन्ताङ क्षेत्रबाट मात्र बर्सेनि औसत ३० जनाभन्दा बढी गाँजाको ओसारपसारमा पक्राउ पर्ने प्रहरीको तथ्यांक छ । केही दिन पहिले धनकुटा बजारको मुख्य स्थल मदन चोकमा ‘गाँजावादी एक हौं’ भन्दै गाँजालाई वैधता दिनुपर्ने माग गर्दै हस्ताक्षर अभियान गरिएको थियो ।

लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार गाँजा सेवन गरिएको पाइए १ महिना कैद वा २ हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । खेती गरिएको हकमा २५ बोटसम्म ३ महिना कैद वा ३ हजार जरिवाना छ । २५ बोट बढी भए ३ वर्ष कैद वा ५ देखि २५ हजार रुपैयाँ जरिवाना सजाय उल्लेख छ । उत्पादन, तयारी, खरिद, बिक्री, वितरण निकासी वा पैठारी, ओसारपसार तथा सञ्चय गर्नेलाई परिमाणअनुसार ३ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गरिने भनिएको छ । अवैध वस्तु ओसारपसार नियन्त्रण तथा चेकजाँचका लागि धनकुटाको हिलेदेखि भेडेटारसम्म चार नाकामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका पोस्ट छन् । हिले बजार, धनकुटा बजार, मूलघाट र भेडेटारमा रहेका प्रहरी चेकपोस्टबाट उम्किएर पनि दैनिकजसो विभिन्न जिल्लामा गाँजा कारोबारी पक्राउ गरिने क्रम तीव्र छ ।

प्रकाशित : श्रावण २०, २०७९ ०८:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×