सर्वोच्च अदालत शुक्रबार पनि पूरै समय


काठमाडौँ — साउन २० देखि शुक्रबारसमेत सर्वोच्च अदालतको इजलास पूरै समय चल्ने भएको छ । पुराना मुद्दा फर्स्योटलाई बढाउन शुक्रबार पनि अन्य बारसरह अदालत सञ्चालन हुने सर्वोच्च अदालतले विज्ञप्तिमार्फत जनाएको छ ।

अहिलेसम्म शुक्रबार आधा दिनमात्रै सर्वोच्च अदालतको इजलास सञ्चालन हुँदै आएको छ । असार २२ को सर्वोच्च अदालतको पूर्ण बैठकले शुक्रबार पनि पूरै दिन अदालत सञ्चालन गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतमा बिहीबार (आज) सम्म २९ हजार ५७० मुद्दा विचाराधीन रहेका छन् । त्यसमध्ये दुई वर्ष नाघेका पुराना मुद्दा १७ हजार ३१२ छन् भने पाँच वर्ष नाघेका मुद्दाको संख्या पनि चार हजार ८०० वटा रहेका छन् ।
