२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कोही किन सडकमा आओस्

सामान बेच्दै र माग्दै हिँड्ने बालबालिकामध्ये धेरैलाई ‘रोजगारी दिने’ प्रलोभनमा गिरोहले ल्याएका हुन्छन्
मधु शाही

काठमाडौँ — आमाका अघिपछि गर्दै गाउँ डुल्न, साथीभाइ बटुलेर खेतमा माछा मार्न र किताबकापी च्यापेर स्कुल जान उनलाई निकै मन पर्छ । तीन भाइ पछिका कान्छा भएकाले उनी आमाका पनि प्यारा हुन् । बेलुका आमाकै काखमा लुटपुटिएर निदाउन पाउँदाको खुसी उनलाई मात्रै थाहा छ । गरिबीका कारण रौतहटका १० वर्षे बालक प्रदीप माझीको यी बाल सुलभता सबै खोसिएको छ । दुई वर्षअघि उनी आमाबाबुको काख छाडेर कमाउन काठमाडौं सहर पसेका हुन् । 

कोही किन सडकमा आओस्

सहर पस्नु उनको रहर भने थिएन । सहर बस्ने एक चिनेजानेकै युवकले उनकी आमालाई ‘छोरो बरालिँदै हिँडेको छ, कमाउन सहर पठाइदिनू’ भन्दै सुझाव दिन थाले । दालचामल नभई खोले खाएर पेट भरेका प्रदीपका बाबुआमालाई पैसाले मन नलोभ्याउने कुरै थिएन । प्रदीपका अनुसार दुई वर्षअघि ‘कमाइ गर्न जाऊ’ भन्दै गाला मुसारेर साहुको जिम्मा लगाएको सम्झन्छन् । चितवनका साहुको नाम उनलाई ठ्याक्कै थाहा छैन ।

दुई वर्ष तिनैले बन्दोबस्त गरेको कोठामा क्यान्डी (मिठाई) बनाउने र बजार डुल्दै बेच्ने काम गरे । आफूसँगै गाउँका अरू तीन बालक पनि रहेको उनी बताउँछन् । ५ हजार रुपैयाँमा महिनाभरि व्यापार गर्नुपर्ने उनको दैनिकी थियो । पछि त्यही साहुले रौतहटकै चिनेजानेको आफ्नो साथीलाई प्रदीपको हात थमाइदिए । उनले पाइरहेको ५ हजार तलबमा एक हजार थपेर काठमाडौं ल्याउन तयार भएका थिए प्रदीपका नयाँ साहु, चन्दन यादव । रौतहट गौरका चन्दन २० वर्षदेखि काठमाडौंको नरदेवीको एउटा गुठी मन्दिरमा भाडा लिएर क्यान्डी बनाउने–बेच्ने व्यापार गर्दै आएका छन् । उनका अनुसार क्यान्डीको व्यापार बालबालिकाबाट धेरै प्रभावकारी हुन्छ । त्यसैले गाउँमा यत्तिकै बसेका, स्कुल नगएका, गरिब परिवारका केटा बटुलेर व्यापार गर्न काठमाडौं ल्याउने गरेको उनी बताउँछन् । उनको व्यवसायमा हाल ११ जना कामदार छन् । जसमा ६ जना १० देखि १५ वर्ष उमेरका बालक छन् । उनीहरू क्यान्डी बनाउने र बजारमा बेच्न डुल्छन् । बारा, सर्लाही र रौतहटका बालबालिका व्यवसायमा संलग्न गराइएको यादवले बताए ।

‘गाउँमा गुच्चा खेलेर, चोरीचकारी गरेर बसेका केटाकेटी हुन्, यहाँ ल्याएर रोजगारी दिएको छु,’ उनी भन्छन्, ‘खानबस्न पाएका छन्, अरू के चाहिन्छ यिनीहरूलाई ?’ दैनिक १ हजारदेखि १५ सय रुपैयाँ एक जना बालकले क्यान्डी बेचेर साहुलाई बुझाउँछ । यस हिसाबले ६ जनाले व्यापार गर्दा मात्रै महिनाको कम्तीमा पनि डेढ लाख रुपैयाँ कमाइ हुन्छ । श्रम गरिरहेका बालकले न शिक्षा पाएका छन्, न बिदा न त सुविधा । चार महिनामा एक दिन पनि बिदा नपाएका प्रदीप भन्छन् ‘खुट्टा दुखेर रातभरि सुत्न सक्दिनँ, रुँदै आमा सम्झन्छु ।’

प्रदीपको पारिश्रमिक आमाबाबुले बैंकमार्फत बुझ्छन् । महिनाको एक पटक घरमा फोनमा कुरा गराउँछन् साहुले । उनीसँगै सर्लाहीका १२ वर्षे विक्रम पासवान, रौतहटका १३ वर्षीय दिनेश राम, १५ वर्षे अमलेस साहलगायत बालक सडकमा क्यान्डी बेच्छन् । अमलेसलाई काठमाडौंसम्म पुर्‍याउन उनकै दाजुको जोड थियो । पढ्ने रहर हुँदाहुँदै १२ वर्षको उमेरमा दाजुले गाउँमा बच्चा खोज्दै आएका चन्दन यादवको जिम्मा लगाए । सुरुमा काठमाडौं जाने, व्यापार गर्ने, पैसा कमाएर धनी बन्ने सपना परिवारले देखाए । उनी त्यही आशा बोकेर काठमाडौं भित्रिएका थिए । मासिक ८ हजार रुपैयाँमा परिश्रम गरेका अमलेस तीन वर्षमा १२ हजार रुपैयाँ तलब पुगेको बताउँछन् । यद्यपि त्यो पैसा उनको परिवारले पाउँछ या दाजुले, उनी ढुक्कले भन्न सक्दैनन् । ‘साहुले घरमै दिन्छु भन्छ, घरकाले पायौं भन्छन् । म काम गरिरहेको छु,’ उनले बताए ।

क्यान्डी बेच्ने काममै १४ वर्षे दिलीप बैठा मासिक ७ हजारमा छन् । चन्द्रनिगाहपुर–६ का उनी तीन भाइबहिनीका दाजु हुन् । आमाबुबा अर्काको खेतमा मजदुरी गर्छन् । घरको जेठो सन्तान भएकाले कमाइ गर्नुपर्ने दबाबले उनी काठमाडौं आए । गाउँमा चिनजान दीपु बैठाका साथ उनी काम गर्न काठमाडौं आएको बताउँछन् । उनीजस्तै गाउँका अरू तीन जना बालबालिका छन् । कोठामा क्यान्डी बनाउँछन् र बजार डुलेर बेच्छन् । बेलुका सबै पैसा साहुलाई बुझाउँछन् । ‘कहिलेकाहीं व्यापारमा घाटा लाग्यो भने साहुको कुटाइ पनि खानुपर्छ,’ उनी भन्छन्, ‘जसरी पनि क्यान्डी धेरैभन्दा धेरै बेच्नुपर्छ ।’

सिन्धुपाल्चोककी १३ वर्षीया कविता नेपालीले स्कुल छाडेको तीन वर्ष भयो । परिवारमा खानलाउन नै गाह्रो थियो । मजदुरी गरेर पेटपालो गर्दै आएका बाबुआमाको सम्बन्ध बिग्रियो । कविता र उनकी ८ वर्षे बहिनी समिराको दैनिकी नर्क भएको थियो, बाबु परिवार छाडेर बेपत्ता भए । आमा एक्लैले दुई छोरी र आफ्नो पेट पाल्न मुस्किल भयो । त्यसपछि कविता सडकपेटीमा बसेर पैसा माग्न थालिन् । पैसा पाएका दिन दुई बहिनीले पेटभर खान पाउँछन् । वसन्तपुर, रत्नपार्कको पुलमुनि र जमल घण्टाघर छेउछाउ उनको दैनिकी बित्छ । खासगरी सोमबार, मंगलबार र शनिबारका दिन उनी मन्दिर छेउछाउ हुन्छिन् । बहिनीलाई बिरामी भएको अभिनय गराएर काखमा सुताउँछिन् अनि ‘उपचारका लागि पैसा दिनुस्न हजुर’ भन्दै माग्ने गर्छिन् ।

दिनभरि मागेर जे जति रुपैयाँ जम्मा हुन्छ, त्यो सबै आमालाई बुझाउँछिन् । लुगा सिलाइको पेसा गर्ने आमालाई पत्थरीको समस्या छ । अस्वस्थ आमाको सहारा बनेकी कविताले सुरुमा होटलमा भाँडा माझ्ने काम गरिन् । साहुले भनेको बेला तलब नदिने, गाली र कुटपिट गर्ने गरेपछि सडकमै आउन बाध्य भएको कविताको भनाइ छ । ‘काम गर्‍यो साहुले तलबै दिँदैन थियो,’ उनी भन्छिन्, ‘बहिनी पनि हेर्नुपर्ने, उपाय नलागेर माग्न थालें ।’ दिनभरिमा कम्तीमा ५ सय रुपैयाँ जम्मा गर्नैपर्छ । नभए तीन जनालाई खान पुग्दैन । कविताले बहिनी समिरालाई पनि माग्न सिकाउँदै छिन् । भन्छिन्, ‘बहिनीले बिरामीको नाटक गर्छे, दयाले पैसा दिन्छन् ।’

सिन्धुपाल्चोकका १० वर्षे समीर नेपाली दुई वर्षअघि आमाबुबासँगै काठमाडौं आएका थिए । सहर पसेपछि बुबाले रक्सी खाएर आमालाई कुटपिट गर्न थाले । आमा हिंसा सहन नसकी भागेर बेपत्ता भइन् । आमाले छाडेपछि समीर धेरै दिन भोकै पनि सुते । सडकमा पुग्नुको अरू विकल्प थिएन । बुबाले एक वर्षपछि सानीआमा भित्र्याए । उनको कुटपिटले समीर घरै बस्न नसक्ने अवस्थामा पुगे । कहिले वसन्तपुर डबली, कहिले रत्नपार्कको पुलतिर रातदिन बिताउन थाले । उनी भन्छन्, ‘भोक लाग्छ, मलाई पेटभर खान पाए पैसा चाहिँदैन ।’ परिस्थितिले मगन्ते बनाएको उनले बताए । युनिता र युनिक थापामगर दाजुबहिनी हुन् । त्रिशूली घर भएका उनीहरू आमासँगै वीर अस्पतालस्थित महांकाल मन्दिरमा माग्न बस्छन् । शनिबार उनीहरूका लागि विशेष दिन हो । चामल, पैसा र खानेकुरा पाइने भएकाले उत्साहित भएर बिहानैदेखि मन्दिर पेटीमा हुन्छन् । १० वर्षकी युनिता कक्षा ३ मा पढ्छिन् । तर, नाम मात्रको पढाइ छ । ‘नमागी खान पुग्दैन, पढ्ने कि पेट पाल्ने ?’ उनी भन्छिन् ।

दाजु युनिक सडकमा भौंतारिँदा भौंतारिँदै लागूऔषध दुर्व्यसनमा परेका छन् । चुरोट, रक्सी र नशालु पदार्थ सेवन गरेर आमा शिला विश्वकर्मालाई हैरान पारेका छन् । अन्तर्जातीय विवाह गरेकी शिला श्रीमान्को परिवारले सामाजिक रूपमा स्वीकार नगर्दा काठमाडौं आउनुपरेको बताउँछिन् । श्रीमान् कुलतमा फसेर सन्तानको जिम्मेवारीबाट विमुख छन् । छोराछोरी र आफूले मागेर आएको पैसामध्ये आधा श्रीमान्लाई नबुझाई नहुने शिला सुनाउँछिन् । ‘दिनभरि घामपानी नभनी माग्यो, आधा पैसा लोग्नेलाई बुझाउनैपर्छ । नभए छोराछोरी र मलाई कुट्न थाल्छ,’ उनले भनिन् ।

दोलखाका दाजुबहिनी सविना र राजन कार्की सरकारी स्कुलमा भर्ना भएका छन् । तर, उनीहरूको ध्यान पढाइभन्दा बढी पैसा जम्मा गर्नुमा छ । हनुमानढोकामा पानीका बोतल बिक्री गर्छन् । यदि कसैले पानी किनिदिएनन् भने मागेर पनि पैसा जम्मा गर्छन् । ‘पानी नबिक्दा पैसा माग्छौं,’ १० वर्षे राजनले भने, ‘जम्मा भएको पैसा घर बुबालाई दिन्छौं ।’ राजनकी आमा सानैमा बितिन् । बुबा मजदुरी गरेर जीविकोपार्जन गर्छन् । खर्च नपुगेपछि बाबुले नै पानी बेच्न पठाएको राजनले सुनाए । हप्तामा तीन/चार दिन स्कुल हाजिर भएर अरू दिन पैसा जम्मा गर्नमा उनीहरू व्यस्त हुन्छन् । शनिबार बिदा हुँदा दिनभरि हनुमानढोका र वसन्तपुरमा यी दाजुबहिनी पानी बेच्न थाल्छन् । पानी बेच्ने नभए पैसा माग्ने बालबालिका सडकमा थुप्रै छन् । वसन्तपुरमै १० देखि १५ जना बालबालिका स्कुलै जान छोडेर पैसा माग्ने गरिरहेका भेटिन्छन् ।

सिन्धुपाल्चोकका १२ वर्षीय अन्जन तामाङले सडकमा पैसा माग्ने काम गर्न थालेको एक वर्ष पनि भएको छैन । आमा वैदेशिक रोजगारीमा गइन्, बाबु मजदुरी गर्छन् । बाबु राति अबेर आउने, खाना खाएको नखाएको केही ध्यान नदिने गर्दा अन्जन एक्लो भए । विदेश गएकी आमाको सम्पर्कमा छैनन् । लुगा लगाउन र पेटभरि खानकै लागि आफू सडकमा आइपुगेको उनले बताए । ‘बुबा–आमालाई मेरो वास्तै छैन,’ उनी भन्छन्, ‘मिठो खान मन लाग्छ, राम्रो लाउन मन लाग्छ । त्यसैले माग्न हिँडे ।’ उनी कहिलेकाहीं पानी बेच्छन् । त्यो पनि भएन भने मागेरै पेट भर्छन् । उनका साथी जेनिश नेपालीसँग र्‍याप गीत गाउने र नाचेर देखाउने कला छ । त्यसैले उनलाई माग्न केही सजिलो छ । त्यसो त उनी पोस्टकार्ड पनि बेच्छन् । १० रुपैयाँमा पसलबाट पोस्टकार्ड किनेर ५० सम्ममा बेच्ने गरेको उनले बताए । उनी बिरामी हुँदा र्‍याप गाउन सक्दैनन् । त्यस्तो बेलामा अवस्था देखाउँदै पैसा माग्छन् । उनी भन्छन्, ‘सन्चो नहुँदा मागेर खान्छु, नभए र्‍याप सुनाउँछु ।’

काठमाडौं उपत्यकाको सडकमा माग्ने बालबालिका छरिएर घुमिरहेका भेटिन्छन् । सवारी जामका समयमा फुत्त निस्केर मागिरहेका भेटिन्छन् । यस्ता बालबालिका कतिपय अभिभावकको बेमेलका कारण घर छाडेर आएका छन् भने कतिपय भारतबाट अभिभावकले नै अघि लगाएर ल्याएका छन् । दरबारमार्ग, पशुपति क्षेत्र, हनुमान ढोका, महांकाल, स्वयम्भू, बंगलामुखी, पाटन दरबार, कृष्णमन्दिर लगायतमा सडक बालबालिका पैसा माग्दै गरेको अवस्थामा देख्न सकिन्छ । काखे बच्चादेखि १५ वर्षसम्मका बालबालिकालाई अभिभावकले मागिखाने साधन बनाएका छन् । यद्यपि अभिभावक बच्चा पाल्नकै लागि माग्ने भएको दुखेसो सुनाउन पछि पर्दैनन् ।

बिहारको बैरगनियाबाट आएकी १० वर्षे साजन खातुन आमासँगै सडकमा माग्छिन् । डेढ वर्षकी बहिनीलाई काखीमा च्यापेर उनी बीच सडकमा माग्न बस्छिन् । आमाले जहाँ माग्न भनिएको हो त्यही ठाउँमा छाडेर जान्छिन्, साँझ परेपछि लिन आउँछिन् । ‘अम्मी छोडके जाति है,’ उनी भन्छिन्, ‘पैसा उन्ही को देते हैं । एक वर्षअघि भारतको गान्धीनगरबाट पाँच जनाको परिवारसहित नेपाल आएका कैनी हरिजन यतै मागेर बस्न थालेकी छन् । नेपाली धार्मिक प्रवृत्तिका छन् । दयालु हुन्छन् भन्ने थाहा पाएरै नेपाल आएको उनी बताउँछिन् । कैनीका तीन छोरी र एक छोरा छन् । तीन छोरीहरूलाई उनी माग्न पठाउँछिन् । पाटनको बंगलामुखी मन्दिरमा बिहीबार उनी प्रायः छोराछोरी बोकेरै माग्न बस्छिन् । ११ वर्षे नैनी हरिजन उनकी जेठी छोरी हुन् । स्कुल देख्न नपाएकी उनले भारतदेखि नेपालमा मागेर खानकै लागि आमाबुबाको साथ आएको बताइन् । ‘दिनभरि मन्दिर वरिपरि डुल्छु, जति पैसा जम्मा हुन्छ सबै आमालाई दिन्छु,’ उनी भन्छिन् । नैनीका अनुसार उनको गाउँमा झुप्रो घर छ, पानी पर्दा छानो चुहिन्छ । सबै परिवार मिलेर मागेको पैसाले घरमा टिन छाउने सपना छ ।

भारतको कान्जीनगरबाट आएको बताउने हसिना बेगम माग्नका लागि १० वर्षकी छोरी साथ राख्छिन् । न्युरोडमा कचौरा लिएर दुई छोरीसँगै माग्न बस्छिन् । कहिलेकाहीं छोरीहरूलाई मात्रै माग्न लगाउँछिन् । नेपालका सीमावर्ती सहर हुँदै उपत्यकासम्म माग्न आउनेको लर्को बर्सेनि चल्छ । लखनउबाट नेपालगन्जको रुपैडिया बोर्डर हुँदै पस्ने धेरै हुन्छन् । अधिकांश बालबच्चा बोकेरै आउँछन् । धेरै ठाउँ उनीहरू नेपालीका करुणाको जाँच गर्न बच्चाहरूलाई माग्न बसाल्छन्, पर बसेर निगरानी गर्छन् । बाल सरोकार केन्द्र (सिविन) का नेपालगन्ज संयोजक सिद्धराज पनेरुका अनुसार अभिभावकले माग्नका लागि छाडेर गएका बालबालिकामध्ये ४ जनालाई उद्धार गरिएको छ । रुपैडियाबाट नजिकै पर्ने नैनपारा, बाबागन्ज र बहराइचबाट आएका उनीहरूलाई आवधिक गृहमा राखेर सोधपुछ गरेपछि घर पठाएको उनले बताए । ‘आमाबुबाले नै योजना बनाएर छोराछोरी माग्न नेपाल छाडिदिएको पनि पाइयो,’ उनले भने । केही नेपाली बालबालिका पनि अभिभावकसँगै बस्ने तर सजिलोसँग पैसा हात पार्न माग्न अघि सरेको सडकमा देखिएको छ ।

सरकारले आव २०७८/७९ भित्र सडक बालबालिकामुक्त राष्ट्र घोषणाका लागि आधार खडा गरिने लक्ष्य लिएको छ । सरकारले आव २०७३/७३ देखि सडक बालबालिकाको उद्धार र व्यवस्थापन कार्य सुरु गरेको थियो । २०७८ असारसम्म १ हजार ७ सय ८८ जना बालबालिकाको उद्धार एवं व्यवस्थापन गरिएको तथ्यांक छ ।

प्रकाशित : श्रावण १९, २०७९ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?