तस्बिरको ‘जग’मा सम्पदा पुनर्निर्माण- उपत्यका - कान्तिपुर समाचार

तस्बिरको ‘जग’मा सम्पदा पुनर्निर्माण

वास्तुकलाविद् भन्छन्– ‘पुरानो तस्बिर भेटियो, यही हेर्दै बनाउँछु भनेर मात्र हुँदैन भेनिस चार्टर गाइडलाइन पनि पालना गर्नुपर्छ’
पुरानो तस्बिर वा स्केचका आधारमा सम्पदालाई पुरानै शैलीमा लैजाने अभ्यास रानीपोखरीबाट सुरू भएको हो।
दामोदर न्यौपाने

काठमाडौँ — हनुमानढोका दरबार क्षेत्रको विष्णु मन्दिर जगैसम्म भत्काएर पुनर्निर्माण भइरहेको छ । यो मन्दिर निर्माण गर्दा जुन शैलीमा भएको थियो, त्यही शैलीमा पुरातत्त्व विभागले पुनर्निर्माण गरिरहेको हो । १९९० सालको भूकम्पअघि खिचिएको तस्बिरका आधारमा पुनर्निर्माण हुन लागेको हनुमानढोका दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालले बताए । 

पुरानो तस्बिरमा मन्दिर शिखर शैलीको देखिन्छ । पाटनको कृष्ण मन्दिर जस्तै देखिने यो विष्णु मन्दिर ढुंगैढुंगाले बनेको छ । इतिहासकार गौतमबज्र बज्राचार्यले ‘हनुमानढोका राजदरबार’ मा उल्लेख गरेअनुसार १९९० सालको भूकम्पले भत्काएपछि यो मन्दिरको स्वरूप बिगारेर बनाइयो । ‘पहिला निकै सुन्दर देवल थियो,’ उनले लेखेका छन्, ‘अहिलेको मन्दिरको स्वरूप भने भद्दा छ ।’ २०६८ को भूकम्पका क्षतिग्रस्त बनेको यो मन्दिर २०७२ को भूकम्पबाट जोगियो । त्यही बेलादेखि मन्दिरमा टेको लगाएर राखिएको थियो ।

तस्बिरअनुसार ढुंगाको सिँढी चढेर माथि पुगेपछि मन्दिरको पहिलो तला सुरु हुन्छ । पछि बनाइएको मन्दिरमा पनि सिँढी चढेरै पहिलो तला सुरु भएको छ । तर पहिलो तला र दोस्रो तला पूरै बिगारिएको छ । मन्दिरको गजुर राख्ने भाग भने पछिल्लो मन्दिरको पनि शिखर शैलीजस्तै बनाइएको थियो । पछिल्लो मन्दिरमा माथि कौशी जस्तो बनाइएको छ । पुरानोमा यस्तो थिएन । पुरानो मन्दिरमा लहरै ससाना शाखा मन्दिर बनाएका ठाउँमा पछि कौशी बनाइएको थियो । ‘अब यो मन्दिर घुम्दा पाटन कृष्ण मन्दिरकै झल्को आउनेछ,’ खनालले भने, ‘हुनमानढोकामा ढुंगाको मन्दिर यही एउटा हुनेछ । स्वरूप र शैली सबै हिसाबले अब राम्रो हुन्छ ।’ ललितपुर र भक्तपुरमा भने ढुंगाका मन्दिर छन् ।

पुरानो तस्बिर वा स्केचका आधारमा सम्पदालाई पुरानै शैलीमा लैजाने अभ्यास रानीपोखरीबाट सुरु भएको हो । २०७२ को भूकम्पपछि पहिलोपल्ट पुरानो चित्रका आधारमा रानीपोखरीबीचको बालगोपाल मन्दिर पुनर्निर्माण गरिएको थियो । प्रताप मल्लले १७२७ सालमा बनाएको रानीपोखरीको यो मन्दिर समयक्रममा पुनर्निर्माण हुँदै आएको थियो । प्रताप मल्लले बनाएको मन्दिर भत्किएपछि जंगबहादुर राणाले सन् १८५१ मा भत्काएर प्राचीन स्वरूप बिगारेर अर्कै शैलीको बनाए । रानीपोखरी अध्ययन समितिले तयार पारेको प्रतिवेदनअनुसार जंगबहादुरले शिखरशैलीको मन्दिरलाई गुम्बज शैलीको बनाए ।

जंगबहादुरले बनाएको मन्दिर पनि १९९० सालको भूकम्पले क्षति पुर्‍यायो । राणा प्रधानमन्त्री जुद्धशमशेरले यसको पुनर्निर्माण गर्दै गुम्बज शैलीकै बनाए तर जंगबहादुरले बनाएको भन्दा फरक शैलीमा । जंगबहादुरले छाने शैलीको गुम्बज शैली बनाएकामा जुद्धशमशेरले प्याज आकारको बनाएको प्रतिवेदनमा उल्लेख छ । जुद्धशमशेरले पुनर्निर्माण गरेको मन्दिर २०७२ को भूकम्पमा क्षतिग्रस्त बन्यो । हाल यसलाई प्रताप मल्लकै पालाको ग्रन्थकुट (शिखर) शैलीबाट पुनर्निर्माण गरिएको छ । ग्रन्थकुट शैलीमा फर्काउने काम चित्रलाई आधार बनाएर गरिएको हो । सन् १८४५ मा तत्कालीन पर्सियाका राजकुमार बाल्डमार नेपाल घुम्न आउँदा साथमै आएका कलाकारले चित्र बनाएका थिए । त्यही चित्र कान्तिपुरमा प्रकाशित भएपति बहस सुरु भएको थियो । पछि अध्ययन टोलीले त्यही चित्रलाई आधार मानेर ग्रन्थकुट शैलीमै बनाउन सिफारिस गर्‍यो । समितिको सुझावअनुसार राष्ट्रिय पुनिर्निर्माण प्राधिकरणले दुई वर्षअघि रानीपोखरी पुनिर्निर्माण गरिसकेको छ ।

झन्डै आधा शताब्दी नामेट भएको ललितपुर पुल्चोकको समय फल्चाले पनि तस्बिरकै कारण नवजीवन पाएको छ । भत्किएको ४९ वर्षपछि ललितपुर महानगरपालिकाले फाल्चा पुनर्निर्माण गर्‍यो । गएको चैतमा मेयर चिरीबाबु महर्जनलेले फाल्चा उद्घाटन गरेका हुन् । त्यसक्रममा उनले भनेका थिए, ‘तस्बिर थिएन भने यो फाल्चा फर्काउन सकिने थिएन ।’ महानगरपालिका कार्यालय अगाडिको अशोक चैत्य छेउमै छ फाल्चा । इन्द्रजात्राको अवसरमा यहीं बसेर समय बजी वितरण गर्ने चलन छ । जात्रापर्वमा सांस्कृतिक गतिविधि गर्न र बटुवालाई बस्न बनाइएको फल्चा भत्किएपछि यो क्षेत्र हडपिएको थियो । २०२३ सालमा खिचिएको तस्बिर बोकेर प्रधानमन्त्री कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म धाएको महर्जनले बताए ।

तस्बिरका आधारमा सम्पदालाई पुरानै अवस्थामा फर्काउन सक्नु सकारात्मक भएको सम्पदाविज्ञ बताउँछन् । ‘फोटोबाट प्राचीन स्वरुपमा फर्काउनु सकारात्मक छ,’ वास्तुकलाविद् ज्ञानेश्वर देवकोटाले भने, ‘इतिहासमा प्रमाणित सबैभन्दा पुरानो फोटोअनुसार बनाउन सकिन्छ ।’ तर फोटोका आधारमा मात्र बनाउँदा पूरै प्राचीन शैलीमा जान नसक्ने देवकोटाले बनाए । ‘मुख्य कुरा यसको नापजाँच थाहा हुँदैन । कति अग्लो, कति होचो भन्ने थाहा हुँदैन,’ उनले भने, ‘फोटोअनुसार बनाउँदा पनि सम्पदाको प्रमाणित नाप नक्सा खोज्नुपर्छ । त्यहीअनुसार बनाउनुपर्छ ।’

भेनिस चार्टरअनुसार बनाउनुपर्ने उनको सुझाव छ । यो चार्टअनुसार स्वरूप मात्र नभई निर्माण सामग्री, प्रविधि र शैली पहिला जस्तो थियो त्यस्तै हुनुपर्छ । भेनिस चार्टर भनेको सम्पदा संरक्षणका लागि अन्तर्राष्ट्रिय गाइडलाइन हो । सन् १९६४ मा पारित इन्टरनेशनल भेनिस चार्टरको गाइडलाइन विश्वभर अवलम्बन गर्नुपर्छ । ‘रानीपोखरीको बालगोपाल पनि स्केचका आधारमा बनाइयो । तर यसको उचाइ पहिलाको जस्तो छैन,’ देवकोटाले भने, ‘त्यसको स्वरूप मात्र बनाउने भन्दा पनि निर्माण सामग्री र प्रविधि परम्परागत हुनुपर्छ । तस्बिरले मात्र कुन निर्माण सामग्री प्रयोग भएको हो थाहा नहुन सक्छ ।’

सम्पदा पुनर्निर्माण गर्दा बनाउने स्थानको पनि यकिन हुनुपर्ने देवकोटा बताउँछन् । ‘स्थान थोरै दायाँबायाँ परेमा इतिहासै फरक पर्न सक्छ । जग फरक पर्‍यो भने यसको प्राचीनता मेटिन सक्छ । यसको पुरानो भुइँतह तलमाथि पार्नुहुँदैन,’ उनले भने, ‘इतिहासमा सम्पदा बन्ने भत्किने भइरहने हुँदा जमिनबाट कति माथि वा कति तल भन्ने कुराले धेरै कुराको अन्वेषण गर्न सहयोग पुग्छ ।’

प्रकाशित : श्रावण १८, २०७९ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्

इन्द्रचोकमा नौ दशकपछि डबली

इन्द्रचोक (वंघः चुकः) मा रहेको ऐतिहासिक डबली राणा प्रधानमन्त्री जुद्धशमशेरले नयाँ सडक बनाउने क्रममा मासिएको थियो
दामोदर न्यौपाने

काठमाडौँ — इन्द्रचोक (वंघः चुकः) मा रहेको ऐतिहासिक डबली (वंघः दवू) मासिएको झन्डै नौ दशकपछि पुनः सोही ठाउँमा निर्माण भएको छ । इन्द्रजात्रामा निकालिने देवी नाच र १२ वर्षमा श्वेतकाली नाच नचाइने यो डबली प्रदेश सरकारको बजेटबाट बनाइएको हो ।

इन्द्रचोकको आकाश भैरवअगाडिको यो डबली राणा प्रधानमन्त्री जुद्धशमशेरले नयाँ सडक बनाउने बेला मासिएको स्थानीय बासिन्दा बताउँछन् । १९९० को भुइँचालोअघि खिचिएको एक तस्बिरमा यो डबलीमा नाच देखाइएको दृश्य छ । ‘त्यही फोटोलाई समेत आधार मानेर डबली बनाउन सजिलो भयो,’ सम्पदा संरक्षण अभियानकर्मी गणपतिलाल श्रेष्ठले भने, ‘ऐतिहासिक डबली पुरानै अवस्थामा फिर्ता ल्यायौं ।’

फोटोमा डबली अलि माथि उठेको देखिन्छ । ‘पुरानो फोटोमा दुई इन्च अग्लो ढुंगाको डबली देखिएको छ,’ डबली डिजाइन गरेका इन्जिनियर अमित बज्राचार्यले भने, ‘सामान्यतया डबली अलि अग्लो नै हुन्छ तर यो दैनिक सवारीसाधन गुड्ने सडकमै भएकाले सडक सतहभन्दा माथि उठाइएको छैन । डबलीको स्वरूप भने दिइएको छ । डबलीमा चाहिने सामान प्रयोग गरिएको छ ।’ लम्बाइ २२ र चौडाइ १८ फिट छ ।

डबली फिर्ता ल्याउने अभियानको नेतृत्व इन्द्रचोक पुनर्निर्माण समितिले लिएको थियो । व्यस्त सडकमा डबली बनाउन सजिलो थिएन । झन्डै एक महिनासम्म वरपरका पसलसमेत बन्द गर्नुपरेको थियो । ‘सबैको सहयोगले डबली फिर्ता ल्याउन सकियो, यो एउटा उदाहरण पनि भयो,’ समिति संयोजक केयुरमान सिंहले भने ।

डबली बनाएको ठाउँ मखन, यट्खाटोल, वसन्तपुर दरबार क्षेत्र, असन, भेडासिंह र जनबहालतर्फ जाने ६ वटा सडकको केन्द्रमा पर्छ । इन्द्रचोकमा किराती राजा यलम्बरको टाउको मानेर पुज्ने परम्परा रहेको आकाश भैरवको मूर्तिसमेत छ । पद्म श्रेष्ठको पुस्तक नेपाल मण्डलका सम्पदामा उल्लेख भएअनुसार किरातीहरूले तीनतले घरशैलीको मन्दिर निर्माण गरेका थिए । तीनतले मन्दिर निर्माण गरेर यलम्बरको टाउकोसमेत प्रतिस्थापित गरेको श्रेष्ठले उल्लेख गरेका छन् । यो ऐतिहासिक चोकलाई समेत पुरानै स्वरूपमा फर्काइएको छ । यही चोक हुँदै सेतो मत्स्येन्द्रनाथको रथ तान्ने बाटो पनि प्राचीन शैलीमै पुनर्निर्माण गरिएको छ ।

चोकको डबलीमा १२ वर्षमा हुने श्वेतकाली नृत्यका क्रममा देवगण नाच्ने गर्थे । डबली नहुँदा सडकको बीचमै नाच्दै आएका थिए । श्वेतकाली नृत्यलाई स्थानीय भाषामा न्यतमरु अजिमा नृत्य भनिन्छ, जसका बारेमा कल्पना श्रेष्ठले आफ्नो कृति ‘काठमाडौं उपत्यकाको सांस्कृतिक परम्परा’ मा उल्लेख गरेकी छन् । ‘अजिमा भनेकै वरिष्ठ देवी हो,’ नरदेवी गुठीका गुठीयार मच्चाराजा डंगोलले भने, ‘डबलीमै नाच्नुपर्ने चलन छ १२ वर्षे नाचको । तर डबली मासिएपछि सडकमा नाच्नुपरेको थियो ।’

श्वेतकाली यात्रा प्रत्येक वर्ष मनाइने र १२ वर्षमा मनाइने गरी दुई किसिमका छन् । वर्ष दिनमा मनाइने श्वेतकाली पिचास चतुर्दशीको दिन नरदेवीबाट प्रारम्भ हुन्छ । त्यहाँको श्वेतकाली मन्दिरको दक्षिणपूर्व कुनामा रहेको डबलीमा नृत्य प्रदर्शन गरिन्छ । प्रत्येक वर्ष नाचिने र १२ वर्षमा नाचिने नाचमा केही भिन्नता रहेको श्रेष्ठले बताइन् । वार्षिक नाचमा मनमैंजु (इन्द्रायणी), श्वेतकाली, कुमारी, नारायणी, रुद्रायणी, ब्रह्मायणी, महालक्ष्मी, गणेश, भैरव, बाराही, सिंहिनी र ब्याघिनीसमेत गरी १२ जना देवगण सहभागी हुन्छन् । १२ वर्षे नृत्यमा भने प्रत्येक वर्ष नचाइने देवताबाहेक महादेव, चण्डाशुर, दैत्य, कुमार, सुलमाजु, स्याल, कुकुरसमेत गरी १८ जनाको देवगण हुने श्रेष्ठले बताइन् । १२ वर्षे नृत्य नरदेवीबाट सुरु भएर ललितपुर, कीर्तिपुर, भक्तपुर र बनेपा समेत लगेर नचाइन्छ । देवमाला वंशावलीअनुसार श्वेतकाली नृत्य सूर्यवंशी राजा गुणकामदेवले चलाएका हुन् । वंशावलीअनुसार १९९० को भुइँचालोले श्वेतकालीको देवल केही भएन तर घर भत्किए । भत्किएका घर १९९५ मा पुनर्निर्माण गरिएको थियो ।



प्रकाशित : श्रावण १६, २०७९ १०:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×