२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

ढलमुक्त भयो १५५४ वर्ष पुरानो मूर्ति

दामोदर न्यौपाने

काठमाडौँ — पशुपति क्षेत्रको प्राचीन विष्णुविक्रान्त मूर्ति बुधबार ढलमुक्त भएको छ । तिलगंगामा रहेको यो मूर्ति गौरीघाटको नवजागरुक युवा क्लब, तिलगंगा महिला समूह र चाबहिल सामुदायिक प्रहरीले ढलमुक्त गराएका हुन् । 

ढलमुक्त भयो १५५४ वर्ष पुरानो मूर्ति

मूर्ति ढलमा डुबेको समाचार सार्वजनिक भएपछि पशुपति विकास कोषको आलोचना भएको थियो । लगत्तै कोषका पदाधिकारी र काठमाडौं महानगरपालिका–८ का वडाध्यक्ष आशमान संगतलगायत मूर्ति भएको क्षेत्रमा पुगेका थिए । नवजागरुक क्लबका अध्यक्ष अमृतजंग थापाले मूर्ति ढलमा परेको समाचार आएपछि सफाइ गरिएको बताए । ‘यति पुरानो मूर्ति पनि बिजोग बनाएर राखिएको छ । यसको महत्त्व पनि बुझाइएको थिएन,’ तिलगंगा महिला समूहकी सदस्य देवी शिवाकोटीले भनिन्, ‘बल्लबल्ल सफा गरियो ।’

प्रस्तरको यो मूर्ति विसं ५२५ मा लिच्छवि राजा मानदेव प्रथमको पालामा बनेको त्यसको पिँधमा रहेको अभिलेखमा उल्लेख छ । संस्कृतिविद् गोविन्द टण्डनका अनुसार अभिलेख भएको यो पहिलो मूर्ति हो । मूर्तिलाई भित्तामा खोपा जस्तो बनाएर राखिएको छ । यसको प्रांगणबाट पानी जाने निकास थुनिएर मूर्ति डुबेको हो । संरक्षण अभावमा मूर्ति जीर्ण र मुखाकृति नै नचिनिने भएको छ ।

१५५४ वर्ष पुरानो मूर्ति ढलमा

मूर्तिमा विष्णु र विष्णुको जाँघमुनि वामन बनाइएको छ । वामन पनि फुटेको छ । मूर्तिको दक्षिणतिरबाट फोहोर पानी बगेर आउने गरेको छ । स्थानीयले पनि फोहोर फालेका थिए । ‘दक्षिणतिरको भाग अग्लो बनाएपछि मूर्ति भएको ठाउँ होचो हुन गयो,’ पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य देवी बरालले भने, ‘प्राविधिकबाट नापजाँच गरेर समस्या समाधान गर्छौं ।’

पाशुपत क्षेत्रस्थित तिलगंगामा ढलमा डुबेको वामन देवको मूर्ति ।

सफाइ अभियानमा सहभागी वास्तुकलाविद् ज्ञानेन्द देवकोटाले भने मूर्तिलाई जोगाउन ठूलो योजना बनाइराख्नै नपर्ने बताए । ‘यति त कोषका सफाइ कर्मचारीले नै गर्न सक्थे,’ देवकोटाले भने, ‘५ हजार लागतमै यसको ढल निकास गर्न सकिन्छ ।’ मूर्ति खुला ठाउँमा छ । तिलगंगाबाट आर्यघाटतिर जाने गेटबाट भित्र छिरेपछि मूर्ति भएको ठाउँमा पुग्न सकिन्छ । संस्कृतिविद् गोविन्द टण्डनका अनुसार पहिला यहाँ मन्दिर थियो । टण्डनले मन्दिरै बनाएर यसको संरक्षण गर्नुपर्ने बताए । ‘अभिलेखमै मन्दिर बनाउनु भनेर लेखिएको छ,’ टण्डनले भने, ‘प्राचीन स्मारक संरक्षण ऐनले बनाउन दिँदैन कि भन्ने कुरा पनि उठेको छ । तर पहिला पनि मन्दिर भएकाले यहाँ मन्दिर बनाउनुपर्छ, ऐनले रोक्दैन ।’

दीर्घकालीन रूपमा व्यवस्थित बनाउन परिषद्मा कुरा राखिने कोष सञ्चालक परिषद्का सदस्य आशा पाण्डेले बताइन् । मूर्तिबारे चर्चा भएकाले सुरक्षा चिन्ता बढेको बताउँदै सम्पदा संरक्षण अभियानकर्मी अर्जुन लामिछानेले सुरक्षा प्रबन्ध मिलाउन आग्रह गरे ।

प्रकाशित : श्रावण ५, २०७९ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?