२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

१५५४ वर्ष पुरानो मूर्ति ढलमा

तिथिमितिसहित अभिलेख भएको नेपालकै पहिलो मूर्ति जीर्ण बन्दा पनि संरक्षणमा कोषको बेवास्ता 
हरेक वर्ष कोषले संरक्षणको आश्वासन दिने गरे पनि काम नहुने सम्पदा संरक्षणकर्मीको गुनासो
दामोदर न्यौपाने

काठमाडौँ — पशुपात क्षेत्रकै प्राचीन वामनदेव (विष्णुविक्रान्त) मूर्ति ढलमा डुबेको छ । तिलगंगामा रहेको वामनदेवको मूर्ति रहेको स्थानमा ढल भरिएर पोखरी नै बनेको छ । खुला ठाउँमा रहेको यो स्थान फोहोर फाल्ने थलो बनाइएको छ ।

१५५४ वर्ष पुरानो मूर्ति ढलमा

संस्कृतिविद् गोविन्द टण्डनको पुस्तक ‘पशुपति क्षेत्रको सांस्कृतिक अध्ययन’ मा उल्लेख भएअनुसार तिथिमितिसहित अभिलेख भएको यो नेपालकै पहिलो मूर्ति हो । तर, स्थानीय र पशुपति क्षेत्र विकास कोषले संरक्षणमा चासो नदिँदा यो क्षेत्र कुरूप बनेको हो ।

विसं ५२५ मा लिच्छवि राजा मानदेव प्रथमको पालामा बनेको यो मूर्तिलाई पाशुपत क्षेत्रमा रहेका विष्णुका मूर्तिमध्ये मुख्य मानिन्छ । मानदेवले आमा राज्यवतीका नाममा यो मूर्तिर् स्थापना गराएका टण्डनले बताए । तर, यति पुरानो मूर्तिको महत्त्व कोषले नबुझेको बताउँछन्, सम्पदा संरक्षणकर्मी र संस्कृतिविद्हरू । ‘के गरेको यस्तो बिजोग ? हामीले सूर्यघाटस्थित विजयवतीले स्थापना गरेको शिवलिङ्ग र यस मूर्तिलाई पुनःस्थापना गरेर मन्दिर बनाउन कोषमा कुरा उठाएका थियौं,’ संस्कृतिविद् प्राध्यापक वीणा पौडेलले भनिन्, ‘त्यसबेला हुन्छ, यो कुनै ठूलो कुरा हैन भनियो । वर्षौं बिते तर खोइ मन्दिर बनेको ?’

यो मूर्ति विद्युतीय शवदाह गृहको ठीक पारिपट्टि छ । टण्डनका अनुसार यो ठाउँमा पहिला खेत थियो । खेतैमा स्थापना गरिएको थियो विष्णुविक्रान्त मूर्ति । अहिले यस आसपासमा बस्ती छ । ‘यसको ऐतिहासिक र प्राचीन महत्त्वबारे स्थानीयवासी पनि जानकार छैनन्,’ पशुपति क्षेत्रका सम्पदा संरक्षण अभियानकर्मी अर्जुन लामिछानेले भने, ‘यो ठाउँमा मन्दिरै बनाउन त प्राचीन स्मारक संरक्षण ऐनले नमिल्न सक्छ तर यसलाई खोपैमा राखेर भने पनि व्यवस्थित गर्न सकिन्छ । यहाँसम्म जाने बाटो बनाउन सकिन्छ । यसको महत्त्व बुझाउने बोर्ड राख्न सकिन्छ । ढल कटाएर यसलाई सफा बनाउन सकिन्छ । यति पनि गरेको छैन कोषले ।’

हरेक वर्ष बर्खामा यो मूर्ति ढलमा डुब्छ । संरक्षणकर्मी संरक्षणको माग गर्दै कोषको कार्यालय धाउँछन् । कोषले संरक्षण गर्ने आश्वासन दिन्छ तर काम हुँदैन । गत वर्ष सरोकारवालालाई कोष सञ्चालक परिषद्का सदस्य देवी बरालले मूर्तिको संरक्षण गर्ने प्रतिबद्धता जनाएका दिए । ‘मैले योजनाका मान्छे पनि लिएर गएँ,’ बरालले भने, ‘तर आसपासको बस्तीका कारण ढल व्यवस्थापन गर्न सकिएन ।’ कोषले यो क्षेत्र अधिग्रहण गरेर बस्ती अन्यत्र सार्ने भएको छ । केही स्थानीयलाई मुआब्जासमेत दिएको र केहीको बाँकी रहेको बरालले जानकारी दिए । उनले यो वर्ष मूर्तिको पूर्ण व्यवस्थापन गर्न पहल गर्ने बताए । ‘साउनमा आन्तरिक बजेट बनाउने बेला पनि हो,’ उनले भने, ‘भोलि नै गएर मूर्तिको अवस्था हेर्छु । संरक्षण गर्न पहल गर्छु ।’

संरक्षण अभावमा मूर्ति जीर्ण भएको छ । मूर्तिको बाहिरी पत्र उप्किएर मुखाकृति नै नचिनिने भएको छ । मूर्तिमा विष्णु र वामनको आकृति छ । तर, वामनको स्वरूप फुटेको छ । संस्कृतिविद् टण्डन विष्णुविक्रान्त कथामा आधारित रहेर बनाइएकाले मूर्तिको महत्त्व धेरै रहेको बताउँछन् । यसको सांस्कृतिक महत्त्व बलिराजासँग पनि जोडिएको छ । ‘बलिसँग छलपूर्वक दान लिउन्जेल वामन र दान लिइसकेपछि तीनै लोक ढाक्ने गरी विष्णुले धारण गरेको स्वरूपलाई क्रिवित्रम भन्छन्,’ उनले भने, ‘क्रिवित्रमको महत्त्व वेदमा पनि अर्थ्याएको पाइन्छ । जसअनुसार दानी राजा बलिको प्रभाव रोक्न देवताहरूले विष्णुलाई अनुनय गरे । वामनको रूप धारण गरेका विष्णुले तीन पाइला जमिन बलिसँग मागे । वामनले बलिलाई मर्त्यलोक पठाएको कथामा आधारित बनाएर यो मूर्ति बनाइएको हो ।’

मूर्तिमा बलिराजाले विष्णुलाई तीन पाइला जमिन दिने संकल्प गरेको देखाइएको छ । बलिले झारीले पानी झार्दै वामनको हातमा खसालेका छन् । बलिको पछाडि उनकी रानी छिन् । उनको फछाडि गुरु शुक्राचार्य छन् । शुत्राचार्यले घुँडा टेकेर बसेका छन् । देब्रे हातमा तरबार लिएका छन् । दाहिने हात उठाएका छन् । संस्कृतिविद् टण्डनका अनुसार उनी हात उठाएर जमिन दान दिने बलिको प्रयासलाई निषेध गर्ने प्रयासमा छन् ।

क्रिवित्रमका ८ वटा हात छन् । दाहिनेतर्फ माथिल्ला तीन हातका अग्र भाग खण्डित भएका छन् । तल्लो हातचाहिँ वरदमुद्रामा रहेको टण्डनले बताए । चौथो हातमा शंख छ । क्रिवित्रमको शरीरको माथिल्लो भागमा वस्त्र छैन भने तल पारदर्शी धोती पहिरिएको देखिन्छ । ‘धोती बाँध्न कटिबन्धका रूपमा प्रयोग गरिएको डोरो अरू मूर्तिमा भन्दा फरक छ,’ टण्डनले भने, ‘पाखुराका केयुरहरू बुट्टे र आकर्षक छन् । कानको माथिल्लो भागमा दायाँ–बायाँ ठाडा भएर निस्केका बुट्टा अनौठो प्रकारका छन्, जुन अरू मूर्तिमा देख्न पाइँदैन ।’

प्रस्तरको यो मूर्ति ज्यादै उन्नतस्तरको रहेको टण्डनले दाबी गरे । ‘मूर्तिमा पालिस लगाएजस्तो टलक छ । मूर्ति बनाउन कलाकारले जुन कुशलता देखाएका छन्, त्यो ज्यादै कलापूर्ण र सजीव छ,’ टण्डनले भने, ‘यो मूर्तिले विक्रमको छैटौं शताब्दीसम्मै नेपालको प्रस्तर मूर्तिकला उन्नतस्तरमा पुगेको संकेत दिन्छ ।’

‘कोषले पशुपतिनाथको मुख्य मन्दिरलाई जति ध्यान दिएको छ, अरू सम्पदामा ध्यानै दिएको छैन,’ अभियानकर्मी लामिछानेले भने, ‘यस्ता थुप्रै प्राचीन सम्पदा बेहाल बनेका छन् ।’

प्रकाशित : श्रावण ३, २०७९ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?